Comments Add Comment

एनजीओको जागिर छाडेर पोखरेल बने ‘बाख्रा दाइ’

बाख्रापालन तालिम सञ्चालन गर्दै पोखरेल ।

२ मंसिर, गोरखा । गोरखा भीमसेन थापा गाउँपालिका ४ धावाका तारा पोखरेलको परिचय नै ‘बाख्रा दाइ’ बनेको छ । गैरसरकारी संस्थाको जागिरे छँदै गाउँमा बाख्रापालनको अभियान सुरु गरेका उनले अहिले २० वर्षको जागिरे यात्रा टुंग्याएर पूर्णकालीन बाख्रापालक बनेका छन् ।

उनको उद्देश्य बाख्रा पाल्ने मात्र होइन, बाख्रासँग जोडिएका विविधि क्षेत्रलाई एकमुष्ट आम्दानीको स्रोत बनाउने हो । ब्याड बोका बेच्ने, बाख्रापालन तालिम केन्द्र सञ्चालन गर्ने, फार्म स्टे (पर्यटकलाई बाख्रा फार्म घुमाएर बास पनि बसाउने), चिज उत्पादन, मासु बिक्रीलगायतका काम गर्ने उनको उद्देश्य छ ।

यसका लागि २२ लाख रुपैयाँ लगानी गरेर गोरखा नगरपालिका ११ सोह्रकिलोमा बाख्रा फार्म बनाएका छन् । २० रोपनी भाडाको जग्गामा बाख्रा फार्मसँगै तालिम केन्द्र, फार्म घुम्न आउनेका लागि सुत्ने बस्ने ठाउँ बनाएका छन् । फार्ममा १६ जनाका लागि आवासीय तालिम सञ्चालन गर्न सकिने पोखरेलले बताए ।

उनको फार्ममा सानन बोका, बोयर बोका र २३ वटा बाख्रा छन् । एक जना तलबी कर्मचारी राखेका छन् भने श्रीमान–श्रीमती काममा खटिन्छन् ।

‘अब बाख्रा प्रवर्द्धनमै लाग्ने भनेर उनको पनि जागिर छोडाएँ, मैले पनि विभिन्न एनजिओमा २० वर्षदेखि गर्दै आएको काम छाडेँ’ उनले भने ।

बाख्रापालन तालिम सञ्चालन गर्न उत्पादनमुखी बाख्रापालन तालिम केन्द्र तथा फर्म नामको सेवा उद्योग दर्ता गरेका छन् । जागिर नछाड्दैदेखि उनी गोरखाको धावामा बाख्रापालनमा संलग्न थिए । ‘त्यसै अनुभवको आधारमा बाख्राको सामाजिक आर्थिक पाटोको विषयमा आफैं तालिम दिन्छु, टेक्निकल कुराका लागि अनुभवी प्राविधिकबाट दिलाउँछु’ उनले भने ।

तालिममा सरकारी र निजी आधुनिक बाख्रा फार्म अवलोकन गराउने, बाख्रा फार्म दर्ता र सरकारी नीति नियम, कृषि अनुदान र बैंक ऋण लिने प्रक्रिया जानकारी गराइने उनले बताए । घाँसखेती, आहारा व्यवस्थापन, खोर निर्माण, बाख्रा छनोट, रोग पहिचान, नियन्त्रण र उपचारजस्ता विषयमा पनि जानकारी गराइने पोखरेल बताउँछन् ।

‘युवालाई गाउँमै रोक्न सकिन्छ’

युवा जनशक्तिलाई गाउँमा रोक्ने उपयुक्त उपाय बाख्रापालन नै भएको उनको भनाइ छ । ‘प्राकृतिक र मानवीय स्रोत व्यवस्थापन गर्दै गाउँ र शहरलाई जोड्ने पुल भनेकै बाख्रापालन हो, अहिले गाउँबाट शहरमा जनशक्ति मात्र निकासी भएको छ । युवा जनशक्तिलाई गाउँमै राख्ने उपयुक्त माध्यम बाख्रापालन नै हो । यसले मेहनतअनुसारको आम्दानी पनि दिन्छ’ पोखरेल भन्छन् ।

महिनामा ५ दिनसम्म तालिम सञ्चालन गर्ने र बाँकी २५ दिन तालिम केन्द्रका लागि बनाएको संरचनामै पर्यटकलाई फार्म स्टेमा राख्न सकिने उनको तयारी छ ।

३ वर्षमा लगानी उठाउने

गत वैशाखदेखि पोखरेलले भाडामा लिएको जग्गामा बाख्रा फार्म र तालिम केन्द्रका लागि संरचना बनाएका छन् । बाख्राको खोरका लागि २ लाख लगानी गरेका उनले तालिम केन्द्र र फार्म स्टेका लागिसमेत गरी २२ लाख लगानी गरेका हुन् । यो लगानी ३ वर्षमा उठाउनेमा उनी विश्वस्त छन् ।

‘३ वर्षसम्म नाफा हुँदैन, तर लगानी उठाउँछु’ उनले भने ‘ब्याड बाख्रा बिक्री, तालिम सञ्चालन र फार्म स्टेबाटै लगानी उठाउँछु ।’ आफ्नो फार्ममा विदेशी पर्यटक ल्याउन उनले प्रचार प्रसार पनि सुरु गरिसकेका छन् । एक पटकमा ७/८ जना पर्यटक बास बसाउन सक्ने उनले बताए ।

बाख्रा पालनको तालिम लिन विदेशमा भएका नेपाली र ग्रामीण क्षेत्रका मानिसहरु सम्पर्कमा आएका उनले बताए । ‘मंसिरमा धान थन्क्याएपछि तालिम सञ्चालन हुन्छ’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment