Comments Add Comment

अनुभवी कुकको सुझाव– अत्यावश्यक छैन नेपाली खानामा प्याज

३ मंसिर, काठमाडौं । भाउ आकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज खान छोडेको समाचार विश्वव्यापी ट्रेन्डिङमा छ । भारतले निर्यात प्रतिबन्ध लगाएपछि बंगलादेशमा प्याजको मूल्य झण्डै आठ सय प्रतिशतले बढेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

आयातीत प्याज महँगो मूल्यमा किनेर खानुभन्दा प्याजबिनाको तरकारी खाने निर्णय प्रधानमन्त्रीले लिएकी हुन् । उनको निर्णयले नेपालीहरूलाई पनि प्रभावित बनाएको छ, किनभने प्याजमा भारतीय प्रतिबन्धको असर नेपालमा पनि परेको छ । बंगलादेशमा जत्तिकै नभए पनि प्याजको मूल्य नेपालको बजारमा निकै बढेको बिक्रेता र क्रेताहरू बताउँछन् ।

नेपालमा प्याज खपत

नेपालीहरूले प्याज खपत कति गर्छन् भन्ने जान्न प्याज आयातको तथ्याङ्क नै काफी छ । गत वर्ष नेपालले १६ करोड ७९ लाख किलो प्याज आयात गरेको थियो । उक्त आयातका लागि ५ अर्ब २६ करोड ९६ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागका अनुसार, आयातीत प्याजको ९५ प्रतिशत हिस्सा भारतले नै ओगट्छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो ।

भारतको केन्द्र सरकारले गत असोज १२ गते प्याज निर्यातमा रोक लगाउने निर्णय गर्‍यो । त्यसयता नेपालमा प्याज आयात कम भए पनि ठप्प भएको छैन । योबीचमा भारतबाट १७ हजार किलोभन्दा धेरै प्याज भित्रिएको भन्सार विभागले जनाएको छ । विभागको असोज मसान्तसम्मको विवरण अनुसार भारतबाट ७ लाख ३९ हजार २५३ किलो सुकेको प्याज भित्रिएको छ ।

भारतको प्रतिबन्ध घोषणालगत्तै ४१ हजार किलो प्याज चीनबाट आयात भएको थियो । नेपाल वैकल्पिक बजारतिर लागेपछि भारतले प्रतिबन्ध अलि खुकुलो बनाइदियो । नेपालमा व्यवसायीहरूले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गोरखपुर र सिमलालगायतबाट प्याज आयात गर्छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, अहिले प्याजको नेपाली उत्पादन शून्यप्रायः छ । बजारमा अहिले उपलब्ध प्याज भारत र चीनबाट ल्याइएको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

अहिले काठमाडौंको थोक बजारमा सुकेको प्याजको मूल्य १६० रुपैयाँ र खुद्रामा औसत १८० रुपैयाँ छ । समितिका अनुसार अन्य बजारहरूमा प्याजको मूल्य अझै उच्च छ । भारतले प्रतिबन्ध लगाए पनि चोर बाटो भएर अहिले दैनिक ५० देखि ५५ टन प्याज दैनिक आयात भइरहेको छ । असोज १२ को भारतीय प्रतिबन्ध घोषणापछि चीनबाट साढे १२ टन प्याज आयात भएको छ ।

‘अपरिहार्य होइन प्याज’

प्राय नेपालीहरूको घर र होटलको भान्सामा प्याजको प्रयोग अनिवार्यजस्तै हुन्छ । तर, नेपाली खानेकुरामा प्याजको प्रयोग अनिवार्य नहुने एक पक्वान्न विज्ञ बताउँछन् ।

नेपाल सेफ एशोसिएसनका पूर्वअध्यक्ष रत्नबहादुर थापाले प्याजबिना पनि नेपाली खानेकुरा उत्तिकै स्वादिलो बन्न सक्ने दाबी गरे । ४३ वर्षसम्म ठूला होटलमा कुकको काम गरेका उनले देशमा उत्पादन नहुने वस्तु महँगोमा किनेर घर र राज्यलाई आर्थिक भार थोपर्नु नहुने तर्क गरेका छन् ।

उनी भन्छन्, ‘तरकारीमा मिसाउन र सलादको रूपमा अहिले हामीले प्याजको प्रयोग गर्ने गरेका छौं । तर प्याजले तरकारीको स्वादलाई उल्कै मिठो बनाउने होइन । प्याज प्रयोग गर्ने भारतीय शैली हो ।’

भारतीय परिकारमा तरकारीलाई लेदोे बनाउनका लागि प्याज प्रयोग गरिने थापा बताउँछन् ।

उनी थप्छन्, ‘हामीकहाँ प्याज फ्राई गरेर तरकारी वा मासु पकाउने चलन छ । धनियाँ, मरिच, अदुवासँगै लसुनको मात्रा अलिकति बढाउने हो भने प्याजको अभाव पूर्ति हुन्छ ।’
उनले सलादको रुपमा प्याजको प्रयोग आवश्यक नभएको बताए । नुन मसला र आफ्नै देशमा उपलब्ध अन्य वस्तुहरू मात्रा मिलाएर पकाउने हो भने आयातीत महँगो प्याजको आवश्यकता महसस नहुने थापाको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप–निर्देशक विनय श्रेष्ठ बिक्री गर्ने देशले नै रोकेपछि स्वभाविक रूपमा मूल्य बढ्ने बताउँछन् । प्याजको बजार मूल्य समितिको नियन्त्रणभन्दा बाहिर पुगेको भन्दै उनले आफ्नो उत्पादन बजार नआउँदासम्म प्याजको प्रयोग नै नगर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment