Comments Add Comment

समाज झक्झकाउने एउटा पैदल यात्रा

‘मन्दिरमा दलित केटी पसे बलात्कारको धम्की दिन्छन्’

३ मंसिर, काठमाडौं । नेपाली समाजको जातीय र सांस्कृतिक विविधता गर्व गर्नलायक छ । तर, यही विविधताभित्र यदाकदा सुनिने अन्यायपूर्ण र अमानवीय विभेदका घटनाले सचेत नागरिकलाई पिरोल्छन् । खासगरी जातीय विभेदको अवशेष नेपाली समाजबाट पूर्ण रुपमा उखेलिन नसक्दा कथित दलित समुदायले बारम्बार आहत हुनुपर्छ ।

राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पर्न नसके पनि जातीय उत्पीडनमा परेका जनताले बोल्न, लेख्न छाडेका छैनन् । परिवर्तनको शंखघोष गर्दै संसददेखि सिंहदरबारसम्मको ढोका घच्घचयाउन छाडेका छैनन् । त्यो स्वर सानो होला, तर शक्तिशाली छ ।

यस्तै खबरदारीको एउटा अभियान थियो– विभेदविरुद्ध मेचीदेखि महाकालीसम्मको पैदल यात्रा । गत चैत–बैशाखको टन्टलापुर घाममा अभियन्ता अशोक दर्नाल, होमराज आचार्य र रीता परियार ५४ दिन लगाएर महाकालीको चाँदनी दोधाराबाट मेची नगरपालिकाको काँकडभिट्टासम्म लगातार पैदल हिँडे । प्रहरी चौकी पुगे, प्रशासनका मुद्दा हेरे । बस्तीबस्ती पुगेर उनीहरुले भने– जातीय विभेदको व्यवहारिक अन्त्य गरौं ।

पत्रकारसमेत रहेका अशोक भन्छन्, ‘राजधानीमा समेत जातकै आधारमा डेरा नपाउने मुलुकमा म दलित हुँ भन्दै बस्ती–बस्ती पुग्नु कम चुनौतीपूर्ण भएन ।’

हो, नयाँ संविधान निर्माण भई गणतन्त्रको लिगमा मुलुक दौडिरहेको छ । संविधानले दलितको अधिकारलाई मौलिक हककै रुपमा स्वीकार गरेको छ । तर, जनस्तरमा चेनताको तह नबढेसम्म कुसंस्कारको डोब मेटिदोरहेनछ ।

‘संविधान निर्माणपछि जातीय विभेदको अवस्था के छ भनेर बुझ्न हाइवे छेउछाउका बस्ती हिँड्यौं । सोचेभन्दा अझ विकराल विभेद देख्यौँ,’ होमराज आफ्नो अनुभव सुनाउँछन् ।

रिता र अशोक त दलित समुदायकै पात्र थिए, जो विभेदबाट प्रत्यक्ष–परोक्षरुपमा आफैं पीडित हुन् । तर होमराज परे व्राह्मण समुदायका ।

‘आचार्य पनि दलित हुन्छ र ?’, पदयात्राका दौरानमा होमराजले सबैभन्दा बढी झेलेको प्रश्न हो यो ।

उनको जवाफ हुन्थ्यो, ‘जातीय विभेदको कलंक मेटाउन सबै जातको योगदान चाहिन्छ ।’

धेरैलाई लाग्यो बाहुन भएर पनि किन विभेदविरुद्ध अभियानमा हिँडेको होला ! त्यो पनि कुनै दातृ निकायको सहयोगबिना । हामीकहाँ त समाजकै मुद्दामा पनि पैसाबिना एक डेग नचल्ने प्रवृत्ति छ ।
तर होमराजलाई अकस्मात खुट्टामा फोका उठाउने रहर जागेको होइन । बच्पनदेखिको चेतले उनलाई यो निर्णयसम्म ल्याइपुर्‍याएको हो । जतिबेला समाजमा जातीय विभेदको अवस्था भयाभह थियो, त्यतिबेलै उनका बुबाले विभेद गलत हो भन्ने चेतना होमराजमा रोपिदिएका थिए । त्यतिबेलै विरोध स्वरुप होमराजका बुबाले दलितको घरमा सत्यनारायणको पूजा लगाए । स्कुल तहमै होमराजले जातीय विभेदबारे उपन्यास लेखे । क्याम्पस पढ्दा डा. निर्मल विश्वकर्मासँग बसे । तर, समय कस्तो थियो भने राष्ट्र बैंकमा काम गर्ने विश्वकर्माले नाम नै परिवर्तन गर्नुपर्ने वाध्यता भयो । त्यो देखेर होमराजको दुखेको मनले ‘द किरोसेन स्टोभ’ कविता लेख्यो । जुन त्रिभुवन विश्वविद्यालयको एमएको पाठ्यक्रममा छ । होमराज भन्छन्, ‘छुवाछुत अधिकारको मात्र कुरा होइन । यो त मानवतासँग जोडिएको विषय हो । समान व्यवहारको चेत अधिकारभन्दा माथिको कुरा हो ।’

आफू हुर्कंदै गर्दा रिताले जातकै आधारमा अपमानका अनगिन्ति नमिठा घुट्काहरु निलेकी छन् । उनलाई लागेको थियो, अहिले त केही परिवर्तन भयो होला । दलितहरु स्कुल जान थाले होलान् ।’ तर उनले यात्रामा स्कुल जानु त परको कुरा नागरिकता नै नपाएका थुप्रै बस्ती फेला पारिन् । भूमिहीनहरुको पीडा छामिन् ।

रिता भन्छिन्, ‘यो यात्रामा मैले विश्वविद्यालय वा किताबमा नपढेका कुरा सिकेँ, भोगेँ । यो पदयात्रा मेरो आफ्नैलागि विश्वविद्यालय बन्यो ।’

जातीय विभेदविरुद्ध तीन युवाले शुरु गरेको पदयात्राले समाजमा एक खालको तरंग ल्यायो, शान्त तलाउमा ढुंगा हिर्काए जसरी । सोच्दै नसोचेकालाई केही सोच्न बाध्य बनायो, कतिलाई सोध्न ।

तर, केही घटनाहरु उनीहरुले पदयात्रामा देखे जसले अशोक, होमराज र रितालाई गहिरो सोचमा डुबायो ।

०००

जोशी थरका एक जना ५० वर्षीय अधबैँसे कैलालीको अत्तरियाको राजमार्ग हिँडिरहेका थिए । होमराज त पदयात्री नै परे । होमराजले हिँड्दै गर्दा भेटिएका उनलाई प्रश्न फ्याके, ‘तपाईं जातीय विभेद मान्नु हुन्छ कि हुन्न ?’

उत्तर आयो, ‘मान्छौं ।’

होमराजले पुनः प्रश्न गरे, ‘मानेर के हुन्छ ?’

ती अधबैँसेले धाराप्रवाह बोले, ‘तल्लो जातले छोएको खाएमा हामी विरामी पर्छौं । उनीहरुले दूध दही खाइदिएमा हाम्रा चौपाया विरामी पर्छन् । मन्दिरमा पसे भने अनर्थ हुन्छ ।’

त्यसपछि होमराजले भने, ‘म पनि बाहुनको छोरा हुँ, खै केही भएको छैन ।’

यति भनेपछि उनले गीताको श्लोक सुनाइदिए । राजमार्गकै छेउ बस्नेहरुको यस्तो चेतले होमराजलाई स्तब्ध बनायो ।

तीन युवा कहिले बाटोमा पेन्टिङ गर्दै, कहिले बस्तीमा जातीय विभेदविरुद्ध बोल्दै, त कतै सहभोज गर्दै हिँडिरहेका थिए । सरकारले मुक्त हलियाको अभियान चलाएको दुई दशक भइसक्यो । तर उनीहरुले यात्राका क्रममा हलिया देखे । कमारा कमारी भेटे ।
धनगढीको पोलिकटानमा दलित र गैरदलितबीच छलफल कार्यक्रम आयोजना भएको थियो । सम्वादमा एक दलित जनप्रतिनिधिले गुनासो गरे, ‘मन्दिरमा दलित महिला आएमा बलात्कार गरिदिन्छौं, केटाहरु आए लास बनाइदिन्छौं भन्ने धम्की आउँछ । त्यसैले हामी पूजा गर्न पनि जान सक्दैनौं ।’

२०११ मा पशुपति परिसरमै लेखिएको थियो, ‘अछुतलाई प्रवेश निषेध ।’ यही विभेदको अवशेष थुप्रै ठाउँमा ज्युँदैछ । उनीहरुले यही निर्क्यौल गरे ।

उनीहरु पुग्ने प्राय जिल्लामा नगरपालिकाले नै स्वागत कार्यक्रम आयोजना गर्थ्यो । २२ जिल्लाको १०४ वटा स्थानीय तहमा पुगे । ६ स्थानमा सहभोज भयो । दलित–गैरदलित गरी एक लाख १७ हजारभन्दा बढीसँग छलफल गरे । रिता भन्छिन्, ‘सहभोजमा भने दलित मात्रै हुन्थे ।’

कपिलवस्तुमा मेयर आफैं स्वागतमा उपस्थित भए । तर सहभोजमा देखिएनन् । लहानका मेयरले विभेदका विषयमा कुरा गर्नै चाहेनन् । उनी तिनै हुन्, जसले दलितले चलाएको सिनो बहिस्कार आन्दोलनको विपक्षमा लडेका थिए ।

उता कञ्चनपुरकै कृष्णपुर नगरपालिकाका मेयरले पदयात्रालाई खिसिट्युरीको विषय बनाए । पछि भने, ‘हाम्रो १० वटै वडामा विभेद छैन । यस्ता मुद्दा लिएर नआउनुस् । पहिला तपाईंहरुभित्रै विभेद मिलाउनुस् ।’

अशोकले भनिदिए, ‘बाटोपारि गैरदलित र बाटोवारि दलितको बस्ती छ । बाटोपारिको चापाकलसम्म पनि दलितलाई छुन दिइन्न मेयर सा’ब ।’

मेयरले यत्ति भने, ‘हो र ?’

कतिपय दलित जनप्रतिनिधिहरुले सुनाए, ‘प्रमुख अतिथि बनाउनुपर्छ, नमस्कार गर्नुपर्छ भनेर कार्यक्रममै बोलाउँदैनन् । राजनीतिक भेला गर्नुपर्‍याे भने मात्र बोलाउँछन् ।’ कतिपय ठाउँमा आफूहरुले छोएको पानी गैरदलित प्रतिनिधिले नखाने अवस्थाले उनीहरु स्तब्ध बने ।

यसले के देखाउँछ भने अहिले पनि दलितको नेतृत्व गैरदलितले भित्रैदेखि स्वीकार्न सकिरहेका छैनन् ।

उता, पदयात्री दलित बस्ती पुग्दा जनताको आँखामा अचम्मको उत्साह देखिन्थ्यो । गरिबीको चपेटामा परेका उनीहरु ऋण खोजेरै भए पनि खाना खुवाउँथे । पाहुनालाई भित्र सुताएर आफूहरु बाहिर सुत्थे ।

वायाँबाट होमराज आचार्य, रीता परियार र अशोक दर्नाल

होमराज भन्छन्, ‘अब हामी जर्जर दैनिकीबाट छुट्कारा पाउँछौ भनेर उहाँहरु खुशी हुनुहुन्थ्यो । हाम्रोलागि पनि लड्ने कोही रहेछ भनेर खुशी हुनुहुन्थ्यो । तर हामीसँग त्यस्तो कुनै जादुको छडी त थिएन ।’

अधिकार के हो ? उनीहरुलाई थाहा थिएन । यतिसम्म कि उनीहरुलाई जातीय विभेदपछि प्रहरीकहाँ जानुपर्छ भन्ने चेत छैन । बरु हिँजो हिँड्नै बन्देज भएको बाटो आज सँगै हिँड्न पाउँदा खुशी छन्, मुक्ति सम्झिरहेका छन् दलितहरु । ‘छुवाछुतका गम्भीर घटनाहरु पनि प्रहरीसम्म पुग्नै पाएका छैनन्’, अभियन्ता अशोक भन्छन् ।

रिताले पैदलयात्रामा महिलाको अवस्थालाई अझ नजिकबाट नियाल्ने अवसर पाइन् । ‘तराईमा महिलाहरु घुँघटबाट बाहिर आउन सकिरहेका छैनन् । श्रीमानहरु गालीगलौज, कुटपीट गरिरहन्छन् । तर महिलाहरुले यसलाई संस्कारको रुपमा स्वीकार गरेका छन् । सहनै जन्मेका हौं भन्ने मान्यता उनीहरुको दिमागमा छ’, छोटोमा रिताले चित्रण गरिन् । तर कतिपय ठाउँमा मानिसहरु दलित र महिला भएकै कारण रितालाई टीका लगाइदिन हच्किए । त्यतिबेला रिता निःशब्द भइन्, आँखा रसाए ।

०००

दलित गैरदलित बस्ती चहार्दै काकडभित्ता पुगेपछि नगरपालिकाकै आयोजनामा समापन कार्यक्रम आयोजना भयो । काठमाडौंबाट दलित नेताहरु पुगे र भाषण गरे ।

५४ दिनको यात्रामा पदयात्रीले चाहिँ के पाठ सिके त ? होमराज भन्छन्, ‘समाज बुझ्नका लागि माटोसँग नजिकिनुपर्छ । आन्दोलनमा एउटा इँटा थप्न भए पनि हिँड्यौँ, समाजलाई नजिकबाट नियाल्यौँ । सकेसम्म चेतना फैलायौँ ।’

उनका अनुसार जातीय विभेद कुनै एउटा वर्ग समुदायको होइन । त्यसैले यसलाई राष्ट्रिय मुद्दा बनाउन जरुरी छ ।

उता अशोक दर्नालले संविधान निर्माण भएको यो तीन वर्षको अवधिमा पनि दलितका पक्षमा आएका कानुन कार्यान्वयन भएको पाएनन् । ‘अधिकांश गैरदलितको दिमागमा सयौँ वर्षदेखि छुवाछुतको मान्यता लेदो बनेर बसेको छ । यसलाई सिंगो दलित आन्दोलन र सरकार मिलेर नपखालेसम्म सुखी नेपाली र समृद्ध नेपालको नारा मिथ्या हुन्छ’, उनको निश्कर्ष छ ।

जातीय विभेद र छुवाछुत अन्त्यका लागि आन्दोलनको स्वरुप नै परिवर्तन गर्नुपर्ने मत राख्छन् हेमराज । उनको भनाइ छ, ‘कानुन कार्यान्वयनमा राज्यले यथेष्ट बजेट छुट्याउनुपर्छ र स्थानीय तहमै छलफल चलाउनुपर्छ ।’

‘थुप्रै नगरपालिकाले जातीय विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । यसको अनुगमन पनि उत्तिकै जरुरी छ’, रिता थप्छिन् । उच्च प्रोत्साहनका साथ सदिऔँदेखि पछि पारिएका दलितलाई मूल प्रवाहीकरणमा ल्याउनुपर्ने पनि उनले बताइन् ।

एउटा पैदल यात्राले समाजमा जरा गाडेको जातीय विभेद अन्त्य त पक्कै हुँदैन । तर, यसले कम्तिमा चेतनाको बीउ रोप्छ । समाजलाई झक्झकाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment