Comments Add Comment

सडकले बिगारेको सडक

२ मंसिर, डोटी । गन्यापधुरा गाउँपालिका-२ मा रडुवा-कलारैमाडौं-वडाल सडक निर्माण हुँदैछ । मेसिनद्वारा कटिङ्ग भइरहेको सडकको माटो केआई सिंह राजमार्गमा थुपारिएको छ, नाली बन्द भएको छ ।

स्थानीय टेकबहादुर मल्ललाई आफ्नै जमीनबाट कटिङ्ग भइरहेको उक्त सडकको विषयमा जानकारी छैन । उनी सडक कसले काट्दैछ, कसको लगानी हो भन्ने विषयमा कुनै जानकारी नभएको बताउँछन् । ‘सडकले मेरो जमीन मास्दैछ तर मलाई कुनै जानकारी छैन,’ उनी भन्छन्, ‘मेरो जमीन मासिएर भए पनि दुरदराजमा गाडी पुग्छ भने ठीकैछ भनेर चुप लागेँ ।’

प्रदेश सरकारको बजेटबाट ठेक्कामा काम भइरहेको उनले सुनेका छन् र कतिको ठेक्का हो भन्ने थाह छैन उनलाई । उनी सडकले स्थानीयलाई भने फाइदा भएको बताउँछन् ।

गाउँमा सडक लैजाने नाममा मुख्य सडक बिग्रेकोप्रति भने उनी चिन्तित् छन् । उनी भन्छन्, ‘गाउँतिर सडक जानु त ठीकै हो तर माटो मुख्य सडकमा फालेर मुख्य सडक बिगि्ररहेको छ, माथिबाट पहिलो आएर सडक बन्द हुने अवस्थामा छ ।

गन्यापधुरा-३ को गुयलीखेल-हल्देगर्खा-डिले-वडाल सडकको अवस्था पनि उस्तै छ । बर्खामा कच्ची सडकबाट माटो बगेर मुख्य सडकमा जम्मा भएपछि सडकको कालोपत्रे उप्किएको छ, नाली बन्द छ, माटोले अहिले पनि सडक साँघुरो बनाएको छ ।

स्थानीय अमरवहादुर साउँद भन्छन्, ‘एक पटक त गाउँपालिकाको डोजरले सफा गरेको थियो फेरि माथिबाट माटो आइहाल्यो, गाउँपालिकाको आफ्नै डोजर छ, अझ सफा गर्लान नि !’ उनलाई पनि यो सडक कसले काट्दैछ, कति रकम हो भन्ने थाह छैन, भन्छन्, ‘गाउँपालिकाको पैसाले हो भन्ने सुनेको छु ।’

डोटी शिखर नगरपालिका-६ मा अड्यौलबाट सुर्खाल जोड्ने सडक काटिएको डेढ वर्ष भयो । गाडी चल्ने खालको सडक होइन यो र गाडी चल्दैनन् पनि ।

एक स्थानीयवासी भन्छन्, ‘डोजरले सडक काट्दाखेरी एक जनाले मोटरसाइकल लगेको याद छ, त्यसपछि गाडी गएको मैले देखेन ।’ तर, त्यो शाखा सडकले मुख्य सडक के आई सिंह राजमार्ग भने बिगारेको छ । सडक काट्दा फालिएको माटो बगेर मुख्य सडकमा आएपछि नाली र हमपाइप दुवैमा बुझो लाग्यो । सडक बिभागले कल्भर्ट बनाउनु पर्‍यो । सडक काटिएपछि वर्षाको समयमा माथीबाट ढुङ्गा खस्ने गरेको एक अर्का स्थानीयले बताए ।

डडेल्धुरा गन्यापधुरा वडा नं. २ को रडुवादेखि डोटी शिखर नगरपालिका वडा नं. १ समूह गाडसम्म करिब ४५ किलोमिटरको दुरीमा २० शाखा सडकहरु काटिएका छन् । सडक काट्ने नाममा मेसिनले नभत्काइएको कुनै डाँडो बाँकी छैन ।

‘०४६ सालको राजनीतिक परिवर्तनले गाउँगाउँमा विद्यालय खोल्ने होड् चल्यो, अहिलेका स्थानीय सरकारहरुले सडक काट्नेमा प्रतिस्पर्धा गरिरहेका छन्,’ गन्यापधुरा-३ का बासुदेव अवस्थी भन्छन् ‘त्यतिवेला विद्यालय खोल्ने होड पनि बिना योजनाको थियो, अहिले सडक काट्ने प्रतिस्पर्धा पनि बिना योजनाको छ ।’

उनले त्यतिवेला देखासिखीमा खोलिएका विद्यालयहरु नामका मात्रै रहेको बताए । ‘ती विद्यालयहरुमा न भौतिक पूर्वाधार राम्रो छ, न विद्यार्थी संख्या छ, न गुणस्तरीय शिक्षा छ’ लामो समय शिक्षण पेशामा रही सेवा निबृत्त भएका अवस्थी भन्छन् ‘बन्द गर्न खोज्यो राजनीतिक मुद्धा हुन्छ, चलाउन सकिँदैन ।’

त्यस्तै अवस्था यी सडकहरुको हुने उनी बताउँछन् । कमिसनको लोभमा मेसिनले सडक काट्ने गरेको बताउँदै उनले थपे, ‘भोलि न त यी सडकहरुको मर्मत सम्हार हुनेछ, न स्तरोन्नति, प्रकोप जोखिम मात्रै बढेको छ ।’

शाखा सडकले मुख्य सडक बिगारेको वताउँछन् डिभिजन सडक कार्यालय डोटीका प्रमुख बलीराज मल्ल । ‘उहाँहरुले (स्थानीय र प्रदेश सरकार) सडक काट्नु हुन्छ, माटो मुख्य सडकमा थुपारिदिनुहुन्छ, नाली बन्द हुन्छ, अनि पानी सडकमा वगेर पिच उप्किन्छ,’ मल्ल भन्छन्, ‘हामीसँग मर्मतका लागि रकम पनि थोरै हुन्छ, मर्मत गर्नै सकिँदैन ।’ उनले शाखा सडक काट्ने क्रममा डिभिजन कार्यालयसँग कुनै समन्वय नहुने गरेको बताए ।

‘हामीले यस बिषयमा डोटी र डडेल्धुराका स्थानीय तहहरुलाई पत्राचारसमेत गरिसकेका छौं, तर पनि रोकिएको छैन,’ मल्लले भने, ‘मैले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री ज्यूलाई पनि यो समस्याका बिषयमा जानकारी गराएको छु, उहाँले म बुझ्छु भन्नु भएको छ ।’ आफूले डोटी र डडेल्धुराका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको उनले वताए । जथाभावी शाखा सडक काट्नाले आफुहरुलाई निकै समस्या भएको उनी बताउँछन् ।

जंगलभित्र सडक काट्दा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नु पर्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि स्थानीय र प्रदेश सरकारले ईआईए नगरेरै सडक काट्ने गरेको बताउँछन् डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारी । ‘मैले जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रममा स्थानीय तहका प्रमुखहरुलाई जथाभावी सडक नकाट्न अनुरोध पनि गरेको थिएँ, तर उहाँहरु उल्टो थर्काउनु हुन्छ’ तिवारी भन्छन्, ‘हामी स्थानीय सरकार हो हामीले सडक काट्न पाउनु पर्छ भन्छन्, अनि हामी के गर्न सक्छौं ।’

यस वर्षदेखि कडाइ गर्ने तिवारी बताउँछन् । नयाँ काट्ने सडकहरुको ईआईए गर्नका लागि सबै स्थानीय तहहरुलाई सचेत गराइसकेको उनी बताउँछन् । उनले भने, ‘हामीले पटक-पटक सचेत गराएका छौं तर कानूनी प्रक्रियामा भने यो विषय लगेका छैनौं ।’

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले शाखा सडक निर्माण गर्दा मुख्य सडकलाई क्षति नहुने गरी गर्न सम्बन्धित स्थानीय तहहरुलाई पत्राचार गरिएको जानकारी दिए ।

‘सडक कार्यालयबाट स्थानीय तहलाई पत्राचार गरेको बोदार्थ हामीलाई आएको थियो,’ पौडेलले भने, ‘मैले कार्यालयबाट सोही अनुसारको पत्राचार गरेको छु ।’ शाखा सडक काट्दा मुख्य सडकलाई क्षति भएको पौडेल पनि बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment