Comments Add Comment

मंसिरदेखि माघसम्म गोरखा संग्रहालय साताभरी नै खुल्ने

३ मंसिर, गोरखा । बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै गोरखा संग्रहालय तीन महिनाका लागि साताभरी नै खुल्ने भएको छ । यस अघि मंगलबार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुँदै आएको थियो ।

बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै मंसिरदेखि माघसम्म हरेक दिन संग्रहालय खोल्ने निर्णय गरिएको कार्यालयकी सूचना अधिकारी सुनिता भडेलले बताइन् । ‘असोजदेखि माघ महिना पर्यटक अत्याधिक आउने सिजन हो,’ उनले भनिन्, ‘चाडवाड भएर असोज र कात्तिकमा सँधै संग्रहालय खोल्न सकेनौं, अबको तीन महिना सँधै खुल्छ ।’

मंगलबारका दिन आवश्यक कर्मचारीलाई मात्र बोलाउने उनले बताइन् । ‘भएका कर्मचारी मध्ये पालैपालो गरी ग्यालरीमा आवश्यक पर्ने मात्र बोलाउँछौ, त्यो दिन आएबापत उनीहरुले तलवको अलावा दैनिक ६ सय रुपैयाँ पाउनेछन्,’ उनले भनिन् । शनिबार पर्यटकको चाप हुने भएकाले पुरातत्व बिभाग अन्तर्गतका संग्रहालयहरु मंगलबार बन्द गर्ने प्रावधान रहेको उनले जानकारी दिइन् । हरेक दिन संग्रहालय खुल्दा पर्यटकको संख्या बढ्ने र राजश्वमा बृद्धि हुने उनको भनाइ छ ।

असोज महिनाको तुलनामा कात्तिकमा संग्रहालय घुम्न आउने पर्यटकको संख्या चार गुणाले बढेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कात्तिक महिनामा मात्रै १६ हजार ४० जनाले संग्रहालय अवलोकन गरेका छन् । असोजमा ४ हजार ६५२ जनाले संग्रहालयको अवलोकन गरे । कात्तिक महिनाको ३० गते मात्रै २ हजार ९८६ जनाले संग्रहालय अवलोकन गरेको भडेलले जानकारी दिइन् । ‘यो शैक्षिक भ्रमणको सिजन हो त्यसैले यहा आउने मध्य सबैभन्दा बढी बिद्यार्थी नै हुन्छन्,’ उनले भने ।

नेपाल एकीकरणको उद्गम थलो भएकाले इतिहास बुझ्न पर्यटकहरु आउने गरेको उनी बताउँछिन् । संग्रहालयमा १३ वटा ग्यालरी रहेका छन् । बिभिन्न जातजातिको भेषभूषा कक्ष, शाह राजाको वंशावली कक्ष, तेलिय चित्र कक्ष, हातहतियार कक्ष, जन्मकुण्डली कक्ष, बाजागाजा कक्ष लगायतका ग्यालरी रहेको उनले बताइन् । संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाई १०, नेपाली पर्यटकलाइ २५, सार्क राष्ट्रका नागरिकलाई ५० र बिदेशी पर्यटकलाई १०० रुपैया प्रवेश शुल्क रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment