Comments Add Comment

इँटाभट्टाका बालबालिकाका लागि स्वयंसेवक शिक्षक

स्वयंसेवकलाई नियुक्तिपत्र दिँदै खैरहनी नगरपालिका उपप्रमुख ।

३ मंसिर, काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले इँटाभट्टामा काम गर्ने श्रमिकका छोराछोरी पढाउन स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ ।

नगरपालिकाको वडा नं २ र ३ का इँटाभट्टामा काम गर्ने श्रमिकका १२० जना छोराछोरीका लागि अर्को हप्तादेखि कक्षा सञ्चालन हुनेछ । जसका लाग तीन जना स्वयंसेवी शिक्षक खटाउन लागेको नगरपालिकाका स्थानिय शिक्षा अधिकारी उपसचिव महेन्द्र पौडेलले जानकारी दिए । ती विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र खाजाको व्यवस्था नगरपालिकाले गर्नेछ ।

राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन -२०२५ मा भएको प्रावधानलाई कार्यान्वयन गरी युवामा सामाजिक दायित्व बोध गराउनुका साथै चरित्र निर्माणमा टेवा पुर्‍याउन स्वयंसेवी शिक्षक खटाइएको उपसचिव पौडेलले जानकारी दिए ।

विद्यालयमा महिला शिक्षकले पाउने ९८ दिनको सुत्केरी विदा र अन्य शिक्षकले लिने लामो विदाको समय पनि पठनपाठन प्रभावित नहोस् भनी स्वयंसेवी शिक्षकको अवधारणा ल्याइएको पनि उनले बताए । यसका लागि नगरपालिकाले ‘स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि -२०७६’ ल्याएको छ ।

पहिलो चरणमा आधारभूत तहका लागि १४ जना र माध्यमिक तहका लागि ८ जना युवा स्वयंसेवी शिक्षक सूचीकृत भएका छन् । यसबाट युवाले सामाजिक परिवेश बुझ्न र समाजप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने नगरपालिकाको विश्वास छ ।

आधारभूत तहको स्वयंसेवक शिक्षक हुनका लागि १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीका हकमा कक्षा ११ मा मान्युनतम २ जीपीए ल्याएको हुनुपर्ने वा स्नातक अध्ययन गरिरहेको हुनुपर्ने छ ।

त्यस्तै, माध्यामिक तहका लागि स्नातक तहको अन्तिम वर्ष/सेमेस्टरको नियमित परीक्षा दिइ बसेका विद्यार्थीको हकमा अघिल्ला सबै सेमेस्टरको सवै परीक्षा नियमित उतीर्ण भएका वा स्नातक तह उतीर्ण भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्ने १६ वर्ष पूरा भइ ४० वर्ष ननाघेका युवा मात्र स्वयंसेवक शिक्षकको लागि योग्य हुने उपसचिव पौडेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment