Comments Add Comment

चिनियाँ राजदूत यान्छी पोखरामा

३ मंसिर,  पोखरा । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको टोली मंगलबार तीन दिने भ्रमणका लागि पोखरा आएको छ । राजदूत यान्छीले राजदूत घोषित भइसकेपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा निस्किएको प्रतिक्रिया दिएकी छन् ।

‘राजदूत भएको ११ महिना भयो । तर, काठमाडौंबाहिर आएको यो पहिलो पटक हो,’ मंगलबार प्रदेश प्रमुख अमिक शेरचनसँगको भेटमा यान्छीले भनिन्, ‘पोखराको नाम निकै सुनेकी छु । त्यसैले पनि यहाँ आएकी हुँ ।’ उनले तीन दिन गण्डकी प्रदेशमा बिताउने र यसअवधिमा प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने योजना सुनाइन् ।

प्रदेश प्रमुखसँगको भेटमा यान्छीले नेपालमा चिनियाँ पर्यटक आउन एकदमै उत्सुक रहेको तर त्यसका लागि नेपालले सुरक्षा व्यवस्था बढाउनुपर्ने सुझाव दिइन् । ‘नेपाल भ्रमण वर्ष सघाउन चिनियाँ पर्यटक आउन एकदमै उत्कसुक छन्,’ उनले भनिन्, ‘तर यसका लागि नेपालले सुरक्षा व्यवस्था भने अझै कडा पार्न सक्नुपर्छ । आपतकालीन सुरक्षा व्यवस्था पनि कडा बनाए राम्रो हुन्छ ।’

चिनियाँ कम्पनी संलग्न पोखरामा रहेका विभिन्न आयोजनासमेत अनुगमन गर्ने योजना रहेको यान्छीले सुनाएकी छन् । मंगलबार बिहानमात्रै उनको टोलीले चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको थियो । अनुगमन पनि नेपालका लागि चिनियाँ राजदूत यान्छीले भनिन्, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरवको आयोजना हो । यसलाई समयमै सक्न चिनियाँ कामदारमात्रै होइन, स्थानीयको साथ पनि उत्तिकै जरुरी छ ।’

मंगलबार दिउँसो नै चिनियाँ राजदूत यान्छी र पोखरा महानगर प्रमुख मानबहादुर जिसीबीच भेटवार्ता भएको छ । भेटमा उनले पोखरामा चिनियाँ नागरिक लगानी गर्न इच्छुक रहेकाले लगानीको वातावरण बनाइदिन सुझाव दिइन् । ‘पोखरामा तिब्बतीयन नागरिकको पनि बसोबास छ । त्यसका लागि पनि एक चीन नीतिमा सहयोग गर्न आग्रह गर्छु,’ उनले भनिन् ।

मेयर जिसीले पोखरामा तिब्बतीयन मुलका नागरिकको बसोबास भएपनि चीन विरोधी गतिविधि नहुनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, ‘पोखरामा तिब्बतीयन शरणार्थी छन् । तर, उनीहरुलाई चीन विरोधी गतिविधि हुन नदिन सजग छौं ।’ उनले चिनियाँ राष्ट्रपति सी चिङ फिनको भ्रमणले नेपाल भ्रमण वर्षलाई फाइदा पुगेको र आगामी दिन पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको सुनाए ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले भ्रमण वर्षलाई टेवा पुगेको छ,’ मेयर जिसीले भने, ‘यहाँका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम प्रदान गरी पोखरामा चिनियाँ पर्यटक मैत्री वातावरण हामीले तयार गरेका छौं।’ उनले चिनियाँ पर्यटकका लागि सुरक्षामा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment