Comments Add Comment

यो हो दुनियाँकै महँगो गँगटो, मूल्य आधा करोड रुपैयाँ

दुर्लभ तथा ऐतिहासिक वस्तुहरूको लिलामीमा करोडौँ मूल्य पर्ने गरेको त हामीले सुन्दै, पढ्दै आएका छौँ । दुनियाँमा केही यस्ता धनाढ्य मनकारीहरू हुन्छन् जसले दुर्लभ तथा प्राचीन वस्तुहरू संकलनका लागि करोडौँ रकम पानीमा बगाउन तयार हुन्छन् । तर यो दुनियाँमा केही मान्छे यस्तो पनि हुँदा रहेछन् जसले एउटा मामुली गँगटाका लागि समेत लाखौं रुपैयाँ खर्च गर्दछन् ।

हो, हालै एउटा गँगटो ५० लाख रुपैयाँभन्दा धेरै मूल्यमा लिलाम भएको छ । जापानको पश्चिमीक्षेत्र टोट्टरीमा भएको लिलामीका क्रममा आधा करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिकेको उक्त गँगटो दुनियाँकै सबैभन्दा महंगो गँगटोसमेत बनेको छ ।

क्रस्टेशियन जातको उक्त गँगटो हिउँमा पाइन्छ । चिसो मौसम सुरु भएसँगै सामुद्रिक खानेकुराहरूको लिलामीका विभिन्न कार्यक्रमहरू हुने गर्दछन् जापानमा । त्यसमा टुना माछा प्रमुख आकर्षणको केन्द्र बन्दछ । तर टुनामात्र नभई अन्य धेरै जीवजन्तुहरू पनि बेचिन्छन् । यस पटकचाहिँ आधा करोडको गँगटो विशेष बनेको छ ।

यो गँगटोको तौल १२ सय ग्राम रहेको छ । यसको लम्बाइ साढे १४ सेन्टिमिटर छ ।

स्मरणरहोस् यसअघि जापानमै गत वर्ष एउटा गँगटो झण्डै २१ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको थियो । यो पटकचाहिँ गत वर्षको रेकर्ड तोडियो ।

रिपोर्ट अनुसार यो गँगटोलाई एक स्थानीय पसलेले खरिद गरेका छन् । यसलाई जापानको ग्लिटजी गिन्जा जिल्लामा रहेको एक महँगो रेष्टुरेन्टलाई दिइनेछ ।

स्मरणरहोस् गत जनवरीमा जापानमा एउटा टुना माछा ३५ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको थियो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment