Comments Add Comment

सागमा गौरिकालाई हौसला दिन तिलस्मीले गाइन् यस्तो गीत

६ मंसिर, काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग)को १३ औं आठौं संस्मरण यसै महिना नेपालमै आयोजना हुँदैछ । सागमा यसपाली नेपालले आशा गरेकी एक खेलाडी हुन् गौरिका सिंह । राष्ट्रिय खेलकुदमा आफ्नो एकछत्र प्रभूत्व कायम गरेकी यी पौडीबाजलाई हौसला दिन एउटा गीत बनाइएको छ ।

‘हिप हिप हुर्रे गौरिका…’ बोलको गीत तिलस्मी खड्काले गाएकी हुन् । गोल्डेनगेट कलेजमा कक्षा १२ को पढाई सिध्याएकी तिलस्मीको स्वर कम उमेरमै निखारिएको छ । ललितकलामा ब्याचलर पढ्ने तयारीमा रहेकी उनको संगीतलाई नै करिअर बनाउने धोको छ उनको ।

सर्लाही, हरिवनकी तिलस्मीलाई उनका पिता योगाज खड्काले संगीतमा लाग्न प्रेरणा दिइरहेका छन् । गौरिकाको गीत योगाजले नै लेखेका र संगीत दिएका हुन् ।

योगाज भन्छन्, ‘धेरै बाबुआमा आफ्ना छोराछोरीलाई कला-संगीतमा लगाउन चाहँदैनन् । तर म आफ्नी छोरीलाई गायन क्षेत्रमा नाम कमाएको हेर्न चाहन्छु । त्यसका लागि सक्दो साथ र सहयोग दिने छु ।’

योगाज आफैं पनि संघर्षशील गायक हुन् । धेरै वर्ष अगाडि उनले एउटा एल्बमसमेत निकालेका थिए । उनका गीतहरु कर्णप्रिय भए पनि प्रबर्द्धन गर्न नसक्दा चर्चामा आएनन् । फलतः संगीत क्षेत्रमा स्थापित हुने उनको लक्ष्य अधुरो रहेको छ । अहिले आफ्नो अधुरो चाहना छोरीमार्फत पूरा गर्न उनले चाहेका छन् ।

गौरिकामाथि गीत लेख्नु र छोरीको स्वरमा रेकर्ड गराउनुको कारणबारे उनले भने, ‘म आफैं पनि गौरिकाको फ्यान हुँ । उनको प्रतिभालाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हौसला बढाउने हिसाबले यो गीत लेखेको थिएँ । अहिले दक्षिण एसियाली खेलकुदमा उनले भाग लिँदैछिन् । त्यसैले यतिबेला सार्वजनिक गर्नु उपयुक्त हुने ठानेको हुँ ।’

तिलस्मी पनि यो गीतलाई लिएर निकै उत्साहित छिन् । ‘टाइमिङ’ सही भएकाले गीतले आफूलाई चिनाउन सक्ने उनको विश्वास छ ।

‘आफ्नै उमेरको खेलाडीलाई प्रोत्साहन दिएर गीत गाउन पाउँदा एकदमै खुशी छु । सागमा उहाँले राम्रो गर्नुभयो भने मेरो गीतले पनि सार्थकता पाउनेछ,’ तिलस्मीले भनिन् ।

हाइलाइट्स नेपालको च्यानलबाट अपलोड गरिएको यो गीतको म्युजिक भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी बद्री विष्टको रहेको छ ।

गीतका शब्दहरु सरल र मिठासपूर्ण छन् । गौरिकाले खेलेका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताका क्लीप्सहरु समावेश गरेर तयार गरिएको भिडियो पनि आकर्षक छ ।

यसपालीको राष्ट्रिय खेलकुदमा गौरिकाले कीर्तिमानी १२ स्वर्ण जितेकी थियन् । १३ औं सागमा भाग लिन आगामी २ डिसेम्बरमा उनी नेपाल आउँदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment