Comments Add Comment

पञ्चेश्वरबारे नेपाल र भारत उर्जा सचिवस्तरीय बैठक अर्को साता

६ मंसिर, काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउनेबारे दुई देशको जलस्रोत तथा ऊर्जा सचिवस्तरीय बैठक हुने भएको छ । आगामी शुक्रबार पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’ को वैठक बस्न लागेको हो ।

प्राधिकरणका अतिरिक्त प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौतका अनुसार यो बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मूल मुद्दामा भने छलफल हुने छैन । प्राधिकरणको सञ्चालक, त्यसको काम र त्यसका कार्यसम्पादनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने उनले बताए ।

नेपाल र भारतबीच पञ्चेश्वरको डीपीआरमा विवाद छ । गत फागुनमा विवादबारे छलफल बसेको विज्ञ समूहको बैठक विनानिश्कर्ष टुंगिएको थियो । सम्भवतः विज्ञ समूहको बैठक पुन डाक्नेबारे सहमति हुनेछ ।

पञ्चेश्वरमा आयोजनाको क्षमता, पानीको बाँडफाड, मुनाफा वितरण लगायतका सहमति हुन बाँकी छ । पानीको बाँडफाँड, उपयोग र मूल्य, आयोजनामा दुई देशले गर्ने लगानी, बिजुली उत्पादन क्षमता, सिँचाइ, बाढी नियन्त्रण लगायतमा हुने फाइदा लगायतका मुद्दामा नेपालले अडान छाडेको छैन । भारतले पनि आफ्नै अडान दोहो¥याउँदै आएको छ ।

२०५२ को महाकाली सन्धिअनुसार चाँदनी–दोधारा क्षेत्रको सिञ्चाइका लागि भारतले ३५० क्युसेक प्रतिसकेन्ड पानी उपलब्ध गराउनुपर्छ । नेपालले यो विषयलाई महत्वका साथ उठाउने गरे पनि भारतले सहमति जनाएको छैन ।

सन्धीअनुसार नेपाल र भारतको सीमा बन्नुपर्ने आयोजनाको भारतीय डीपीआरमा शारदा नदीको पानीको बाँडफाँडको विषय विवादास्पद छ । सो विषयमा नेपालले यसपटकको बैठकमा पनि भारतीय पक्षको प्रस्तावमा सहमति जनाएन ।

३१५ मिटरको उच्च ड्यामसहित बनाउन प्रस्ताव गरिएको पञ्चेश्वर आयोजनामा अहिले पनि नेपाल र भारतबीच पानी बाँडफाँड लगायतका मुद्दामा विवाद छ । सन् २०१७ को नोभेम्बरसम्ममा सबै विवाद सक्ने गरी विज्ञ टोलीको गठन भएको थियो । तर, डीपीआरको विवाद अहिले पनि पुरानै अवस्थामा छ ।

भारतीय कम्पनी वापकोसले तयार पारेको डीपीआर मस्यौदाअनुसार कुल ४ हजार ८ सय मेगावाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बनाउने हो भने २२ प्रतिशत पानी मात्र नेपालले पाउँछ । र, ७८ प्रतिशत पानी भने भारतले पाउँछ ।

नेपालले आधा पानीको अधिकार आफ्नो हुनुपर्ने अडान राख्दै आएको छ । भारतले भने मानेको छैन । भारतले शारदा र तल्लो शारदाको उपभोग भइरहेको पानी कटौति गरी बाँकी मात्र आधा–आधा गर्न जोड दिएको छ ।

नेपालले सीमाभन्दा निकै तल रहेको शारदा नहरको पानी उपभोगको विषय सन्धीले नछोएको भन्दै पानीको हिस्सा घटाउन नहुने बताउँदै आएको छ ।

०५२ सालमा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर टुंगो लगाउने उल्लेख थियो । तर २४ वर्ष बित्दा पनि त्यसको टुंगो लाग्न सकेको छैन ।

विभिन्न उच्च स्तरीय भ्रमणका क्रममा पनि पञ्चेश्वरको डीपीआर तत्काल फाइनल गर्ने सहमति हुन्छ । तर, विवाद जस्ताको त्यस्तै रहँदा पनि समाधानमा भारतीय अग्रसरता देखिँदैन ।

महाकाली सन्धि भएको १९ वर्षपछि साउन ०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यसको कार्यादेश पारित भएको थियो । तर, भारतीय परामर्शदाता कम्पनी वापकोसले तयार पारेको डीपीआर भने अहिलेसम्म पास हुन सकेको छैन । किनकि यसमा नेपाली पक्षको आपत्ति छ । भारतले आफ्नो अडान छाडेको छैन ।

यो पटक पनि विवाद नसुल्झिएपछि आयोजनाको भविष्य अझै अनिश्चित बनेको छ । हालसम्म समूहको तीन वटा बैठक बसेका छन् । सन् २०१७को अगस्ट र सेप्टेम्बरपछि बल्ल तेस्रो बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment