Comments Add Comment

कालापानी विवादमा सरकार कानमा तेल हालेर बस्यो : देउवा

७ मंसिर, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमार्फत सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् । केपी ओली सरकारलाई ‘तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ’ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्नुपर्ने उनको तर्क छ ।

पोखरा-१६ मा शनिबार आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए ।

जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने उनको जोड छ । देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए ।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ । कानमा तेल हालेर बसिरहेको छ’, उनले भने ।

देउवाले तपस्वी नेता खेमराज पौडेललाई न्याय दिने दायित्ज कास्कीका जनताकोहातमा रहेको बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे । अनेक भ्रम छरेर अघिल्लो चुनाव जितेपनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेको उनले बताए । उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिडाउन पनि सघाउँछन् ।’

सभामा महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन खोजेको बताए । ‘सरकार मुलुक, जनता, लोकतन्त्र, संविधानको हितमा छैन । संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिन पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक छ ।’

केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए ।

युवा नेता गगन थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताए । हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन नहुने उनको तर्क थियो ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कुमार खड्का, नेतृ लक्ष्मी पाण्डे लगायतले सभालाई सम्बोधन गरेका छन् । शनिबार नै कांग्रेसमा प्रवेश गरेका वामपन्थी नेता माधवप्रसाद पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment