Comments Add Comment

टुटल र पठाओ चालकमाथि प्रहरीले थाल्यो कारबाही

प्रायोजन विपरित सवारी चलाएको आरोप

८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको  छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

तामाङकाअनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ‘एकैछिनमा ट्राफिक पनि आइपुग्यो र चिट काट्यो’, उनले अनलाइनखबरसँग भने, ‘पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्यो ।’

ट्याक्सी चालकहरुले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिन्छु भनेर धम्की दिएको उनको भनाइ छ । ‘मलाई त यो अवैधानिक हो कि वैधानिक हो भन्ने पनि थाहा थिएन’, उनले भने, ‘अफिसमा गएर बुझ्दा दर्ता भएको भन्ने कुरा आयो । माथि कुरा हुन्छ भनेर भन्नु भएको छ ।’

सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारी साधान चलाए जोसुकैलाई कारबाही हुने बताउँछन् । उनले भने, ‘नियममै उल्लेख भएको कुरा हो । ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं ।’

यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

१ माघ २०७५ मा पनि ट्राफिकले यातायात व्यवस्था विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो, जसको जनस्तरबाट व्यापक विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि टुटल र पठाओमा रोक नलगाउन निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।

यातायात व्यवसायी टुटल र पठाओप्रति असन्तुष्ट

यातायात व्यवसायीहरुले टुटल र पठाओ जस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरीले ४ मंसिरमा राखेको व्यवसायीसँगको छलफल कार्यक्रममा सहभागी अधिकांशले टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग राखेका थिए ।

यसको प्रयोगले विकृति ल्याएको व्यवसायीहरुको दाबी छ । निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले बताए । टुटल र पठाओलगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटना जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने व्यवसायीहरुको दाबी छ ।

यो पनि पढ्नुहोस ‘ड्राइभर पनि भारतबाट मगाउनु पर्ने स्थिति आयो !’

सरकार संवेदनशील नभएको गुनासो

पठाओका सञ्चालक असिममान बस्नेतले ट्राफिक प्रहरीको गलत बुझाइका कारण कारबाही भएको हुनसक्ने बताए ।

‘रातो प्लेट ट्याक्सीहरुले यात्रु ओसारे मात्र कारबाही हुने यसअघि भनिएको थियो’ , उनले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म एउटा मात्र कारबाहीको रिपोर्ट भएको छ ।’

यो विषयमा यातायात मन्त्रीसँग समेत कुरा भइसकेको जानकारी दिँदै उनले भने, ‘भोलि यातायात विभागसँग छलफल गरेपछि ठोस कुरा निस्किन सक्छ भन्नु भएको छ ।’

टुटलका सञ्चालक शिक्षित भट्टले भने ‘राइड शेयरिङ’माथि ट्राफिकले कारबाही गर्न थालेको आफूले सुनेको भए पनि आधिकारिक सूचना आइनसकेको बताए ।

‘हाम्रो एउटा प्लेटर्फम मात्र हो । यहाँबाट थुप्रै मान्छेले यातायातको सुविधा र रोजगारी पाइरहेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘हाम्रो उत्तरदायित्व प्रयोगकर्ताप्रति छ । सरकार चाहिँ संवेदनशील हुन सकेन ।’

उनले नियम बनाउने तहमा रहेकाले व्यक्तिगत वा कार्यालयको गाडीमा हिँड्ने हुँदा सर्वसाधारणप्रति उत्तरदायी बन्न नसकेको गुनासो गरे । उनका अनुसार अहिले करिब २५ हजार युवा टुटलमा कार्यरत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment