Comments Add Comment

मुख्यमन्त्रीले उदघाटन गरेको ई-ट्वाइलेटको कथा !

८ मंसिर, भैरहवा । लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो !

मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ?

जवाफ आयो- ई-ट्वाइलेट हो नि त यो ।

पाहुनाहरुलाई मुख्यमन्त्रीले उदघाटन गरेको शौचालयमा शौच गर्ने ईच्छा जाग्नु स्वाभाविकै हो । तर, भित्र छिर्नै लाग्दा छेउमा उभिएका रुँगालुले रोक्दै अर्को थोत्रे ट्वाइलेटतर्फ जान भने ।

किन ?

जवाफ आयो- ई-ट्वाइलेट बिग्रिएको छ, बत्ति पनि छैन ।

ई-ट्वाइलेटको छेवैमा पञ्चर भएको ट्याक्टरको अस्थिपञ्जरमाथि ‘मोबाइल शौचालय’ को डब्बा रहेछ । वर्षौंदेखि यथास्थानमै रहेको ‘मोबाइल ट्वाइलेट’मा युनेस्कोलाई देखाउनका लागि मात्रै पांग्रा लगाइएको हो कि जस्तो भान हुन्थ्यो ।

ई-ट्वाइलेटमा छिर्न नपाएपछि पाहुनाहरुले युबी-सी ट्वाइलेटमा उक्लेर पिसाब फर्के काम सम्पन्न गरे । कमोटमा टट्टी आधा भरिएको थियो । जताततै दिसा छरपस्ट थियो । पखाल्ने पानी थिएन । मगमा बोकेर ल्याएको पानीले दिसा धुनै नपुग्ने, कमोटमा त के पुगोस् ।

‘युबी-सी ट्वाइलेट’मा पिसाव फेरेर ओर्लनासाथ रुँगालुले प्रतिव्यक्ति ५/५ रुपैयाँ ठटाए ।

प्रश्न- धार्मिकस्थलमा पनि पिसाब फेरेको कर तिर्नुपर्ने ?

जवाफ- तिर्नु परिहाल्यो नि हजुर !

अनि यत्रो पैसा लिइसकेपछि शौचालय सफा राख्नुपर्दैन त ?

यो प्रश्नको चाहिँ जवाफ आएन ।

अब फर्कौं, मुख्यमन्त्रीले उदघाटन गरेको ई-ट्वाइलेटतिर ।

पुरानो शौचालयमा पिसाब फेरिसकेपछि पाहुनाले ई-ट्वाइलेट हेरेरै छाड्ने विचार गरे । ढोका खोलेर हेर्दा दिसा थुपि्रएको थियो, हरकले उभिन सक्ने अवस्थै थिएन ।

रुँगालुले हतार-हतार ढोका बन्द गरेर पछाडिको भागतर्फ लगे । यहाँबाट अटोमेटिक दिसा यसरी सफा हुन्छ, यताबाट यता जान्छ भन्दै ‘प्रशिक्षण’ दिन थाले । गन्हाएर छेउमा उभिसक्नु थिएन । उनी भन्दै थिए- यो अति आधुनिक ट्वाइलेट हो हजुर !

मुख्यमन्त्रीले उदघाटन गरेको ई-ट्वाइलेटको प्रयोगसम्बन्धी विवरणसमेत नेपाली भाषामा लेख्ने आवश्यकता कसैले महसुस गरेको देखिएन । हिन्दीमा लेखिएको थियो ।

सेन्सरबाट फ्लस हुने शौचालयहरु संसारमा सामान्य भइसकेका छन् । मुख्यमन्त्रीले नै उदघाटन गर्नुपर्ने गरी बनाइएको पवित्र लुम्बिनीको ई-ट्वाइलेटचाहिँ गाउँको खाल्डे चर्पीभन्दा फोहोर थियो । यसले सीधै मुख्यमन्त्रीलाई गिज्याइरहेको थियो ।

यो शौचालयको उदघाटन गत साल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर गरेका रहेछन् ।

मुख्यमन्त्रीले उदघाटन गरेको शौचालय त कन्त विजोग रहेछ नि ? दिनमै एक हजारभन्दा बढी पर्यटकहरु आउने मायादेवी मन्दिर परिसरमा शौचालयको हालत किन यति खराब ? यो प्रश्नको जवाफमा लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘त्यहाँ अर्को व्यवस्थित शौचालय पनि छ, जुन तपाईहरुले देख्नुभएन ।’

युनेस्कोको मापदण्डअनुसार लुम्बिनीमा जस्तोसुकै शौचालय बनाउन नमिल्ने भन्दै बस्नेतले शौचालय हटाउन युनेस्कोबाट दबाव आइरहेको जानकारी दिए ।

दिसापिसाब गर्नेहरुबाट शुल्क लिनुपर्ने कारण चाहिँ शौचालयको सरसफाइका लागि भएको उनले बताए ।

यो प्रश्नको जवाफ कतैबाट आएन, एउटा सानो चर्पीको उदघाटन मुख्यमन्त्रीबाटै किन गराइएको होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment