Comments Add Comment

च्याम्पियन्स लिगमा रोवर्टको ४ गोल, पीएसजी र रियल बराबरी

११ मंसिर, काठमाडौं । रियल मड्रिड म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

गएराति भएको समूह चरणको खेलहरुमा रियलले पेरिस सेन्ट जर्मेन पीएजसीसँग बराबरी खेले पनि प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।

उता, रोवर्ट लेवान्डोस्कीले चार गोल गर्दा वायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

समूह ‘ए’अन्तर्गत भएको खेलमा पीएसजीले अन्तिम ९ मिनेटमा २ गोल गर्दै रियलसँग २–२ को बराबरी खेलेको हो। करिम बेन्जामाले दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। तर किलिएन एम्बाप्पे र पाब्लोसरावियाले गोल गर्दै खेल बराबरी गरे।

योसँगै पीएसजी ५ खेलबाट १३ अंकसहित समूह विजेता बनेको छ । समान खेलबाट रियलको ८ अंक छ र उपविजेताको हैसियतामा अन्तिम १६ मा पुगेको छ । समूह चरणमा अब एक खेल हुन बाँकी छ।

लेवान्डोस्कीले चार गोल गरेपछि वायर्नले समूह ‘बी’मा जेज्दालाई ६–० ले हरायो। यसै समूहमा टोटनहमले ओलम्पियाकोसलाई ४–२ ले पराजित गर्‍यो । यसअघि नै अन्तिम १६ मा पुगिसकेको वायर्नको ५ खेलबाट १५ अंक भएको छ। समान खेलबाट टोटनहमको १० अंक छ।

यस्तै समूह ‘सी’मा साख्तर डोनेस्कसंग १–१ को बराबरी खेलेको अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटी समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। सिटीको ५ खेलबाट ११ अंक भएको छ। साख्तरको समान खेलबाट ६ अंक छ। अब साख्तर डाइनामो जाग्रेब र एटलान्टामध्ये एक टोली अन्तिम १६ मा पुग्नेछ।

यस्तै समूह डी मा युभेन्ट्सले एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ। यो हारपछि एट्लेटिकोले नकआउट चरणमा पुग्न अझै कुर्नुपर्ने भएको छ। युभेन्ट्स ५ खेलबाट १३ अंक जोड्दै समूह ‘डी’ को विजेता बनिसकेको छ। समान खेलबाट एट्लेटिकोको ७ अंक छ। लोकोमोतिभ मस्कोलाई २–० ले पारजित गरेको वायर लेभरकुजनको ६ अंक छ। अब समूहको अन्तिम खेलपछि नकआउट पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment