Comments Add Comment

ठाकरे सरकारले जित्यो बहुमत परीक्षण, भाजपाद्वारा संसद बहिस्कार

१४ मंसिर, काठमाडौं । सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बाहेकको गठबन्धन सरकारले महाराष्ट्र विधानसभामा बहुमत पुर्‍याएको छ । शिवसेनाका उद्धव ठाकुरे नेतृत्वको सरकारले २८८ सदस्यीय विधानसभामा १६९ जनाको समर्थन पाएको हो ।

भाजपाका सांसदहरूले भने बहुमत परिक्षणका लागि भएको मतदान बहिस्कार गरे । चार सांसद तटस्थ रहे ।

भाजपा नेता देवेन्द्र फडणवीसले विधानसभामा बहुमत पुर्‍याउन नसक्ने भएपछि मुख्य मन्त्रीबाट राजिनामा दिएका थिए ।

सबैभन्दा ठूलो दल सत्ता बाहिर

महाराष्ट्रमा सरकार बनाउन आवश्यक १४५ सिट कुनै पनि दलले ल्याउन सकेन । सबैभन्दा ठूलो दल भाजपाले १०५ सिट जित्यो ।

शिव सेनाले ५६, राष्ट्रवादी काँग्रेस पार्टीले ५४ र भारतीय राष्ट्रिय काँग्रेसले ४४ स्थानमा जित हासिल गर्‍यो । शिव सेनाले राष्ट्रवादी काँग्रेस र भारतीय कांग्रेसको समर्थनमा सरकार गठन गरेको हो । यो गठबन्धन सरकारको पक्षमा केही साना दल र स्वतन्त्र सांसदले पनि मतदान गरे ।

४३ सदस्यीय मन्त्री मण्डलमा १५ शिवसेना, १६ राष्ट्रवादी कांग्रेस र १२ भारतीय कांग्रेसको भागमा परेको छ । यस्तै, उपमुख्य मन्त्री राष्ट्रवादी काँग्रेस र विधानसभा अध्यक्ष राष्ट्रिय कांग्रेसले लिने सहमति भएको बताइएको छ ।

मुख्य मन्त्री बन्न सम्पादकबाट राजीनामा

गत बिहीबार मुख्य मन्त्री पदको सपथ ग्रहण गरेका ठाकरे दक्षिणपन्थी दल शिव सेनाका संस्थापक अध्यक्ष बाल ठाकरेका छोरा हुन । उनले २००२ मा बृहन मुम्बई म्यूनीसीपल कर्पोरेसनको इन्चार्जबाट राजनीति जीवनको शुरुवात गरेका हुन ।

सन् २००३ मा उनी शिव सेनाको कार्यकारी अध्यक्ष नियुक्त भए । त्यसयता उनले पार्टीको नेतृत्व गर्दै आएका छन् ।

५९ वर्षीय ठाकरे मुख्य मन्त्री बन्नु अघिसम्म पार्टीको मुखपत्र ‘सामना’ को सम्पादक थिए । सम्पादकबाट राजिनामा दिएर उनी मुख्यमन्त्रीको सपथका लागि गएका थिए ।

मुख्य मन्त्री बन्नु अघि ठाकरे कुनै पनि संवैधानिक पदमा बसेका थिएनन् ।

गठबन्धनका सुत्रधार

२०१४ को विधानसभा चुनावमा १२२ स्थानमा जितेको भाजपाले त्यतिबेला शिव सेनासँग मिलेर सरकार चलायो । लोकसभामा चुनावमा समेत एउटै गठबन्धनमा रहेको भाजपालाई शिव सेनाले महाराष्ट्रमा सरकार बनाउन साथ दिएन ।

शिव सेनाको समर्थन नपाएपछि भाजपाले राष्ट्रवादी कांग्रेसका नेता अजित पवारलाई उपमुख्यमन्त्री बनाएर सरकार गठन ग¥यो । राष्ट्रवादीसँगको राजनीतिक समिकरण केन्द्रीय गृह मन्त्री अमित शाहको पहलमा भएको थियो ।

आफ्नो सहमती विना भएको यो समिकरण राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारलाई मन पर्ने कुरै थिएन । अनुभवी राजनीतिकर्मी तथा नाताले आफ्नै काका शरदले शक्ति देखाउन थालेपछि अजित गले । सपथ लिएको केही दिनमै उपमुख्यमन्त्री पदबाट राजिनामा दिए ।

अजितको राजिनामा पछि भाजपाका देवेन्द्र फडणवीस मुख्य मन्त्रीबाट राजिनामा गर्न बाध्य भए । त्यसपछि उद्धव ठाकरेको भाग्य खुल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment