Comments Add Comment

गाउँपालिकामा हारेका खिमविक्रमको यात्रा प्रदेशसभासम्म

१६ मङ्सिर, बलेवा । साढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका अध्यक्ष पदमा ७०० मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिमविक्रम शाही प्रदेशसभा निर्वाचनमा भने विजयी भएका छन् ।

शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार थिए । बागलुङ क्षेत्र नं. २ (ख) मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो ।

शनिबार भएको निर्वाचनमा शाहीले कांग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् । शाहीले ११ हजार २३५ र शेरचनले ९ हजार १३८ मत पाए ।

राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहेका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लागे । त्यसपछि उनले विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गरे ।

विसं २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त भएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहे । गत अधिवेशनमा सचिवालय सदस्यमा पुगेका शाही प्रदेशसभा निर्वाचनमा विजयी भए ।

स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उनको प्रतिक्रिया छ । उसो त उनी प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउँछन् ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाएका थिए । पश्चिम बागलुङमा उनको यही योजना बिकेको छ । पश्चिम बागलुङको पुरानो खेती तथा कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, त्यस क्षेत्रमा शिक्षा र सञ्चारको पहुँच पु¥याउनेलगायतका काम गर्ने उनका चुनावी नारा थिए ।

सङ्घीयताविरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहिँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ । लामो समय सर्वसाधारणको तहमा भिजेका शाहीबाट पश्चिम बागलुङले धेरै आशा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment