Comments Add Comment

भारतमा बलात्कारीलाई कडा सजायको माग   

काठमाडौं । भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ ।

भारतको संसदमा बोल्दै मंगलबार सांसदहरुले ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने बताएका हुन् । भारतीय सासंद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राखेकी हुन् ।

सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले निन्दा गरेका छन् । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर गतसाता फेला परेपछि भारतभरी विरोध प्रदर्शन भएका छन् ।

गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् ।

केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन् ।

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएको छैन ।

सांसदहरुले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका जनाइएको छ ।

बलिउडका पूर्व नायिका तथा हाल भारतीय संसदका सांसद जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता मानिन्छन् ।

उनले सांसदहरूको तर्फबाट महिला सुरक्षाको प्रश्न र बलात्कारी तथा हत्यारालाई कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन् ।

दक्षिणी राज्य तमिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको बताइन् । अपराधी पुरुषहरुलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने ढिलो न्याय दिनु भनेको न्याय नदिनु भएको उनले बताइन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताए । साथै यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उनले बताए ।

सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापश्चात् ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।
एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment