Comments Add Comment

‘काठमाडौंको हार्दिकताले म पग्लिएँ’

भ्वाइस अफ नेपाललाई मैले त्यति नोटिस गरेकी थिइन । तर सबैले ‘त्यहाँ एकपटक ट्राइ गर न’ भनेपछि मलाई पनि जोश चल्यो । मेरा विद्यार्थीहरुले ‘मिस यस्तो–यस्तो छ, जानुपर्छ है तपाईं’ भनेर हौस्याएका थिए ।

तर मेरो मनमा नकारात्मक कुरा आयो । ‘होइन हौ, सक्दिन होला म त’ भनें । सबैले ‘ट्राइ गर’ भनेर ढाडस दिएपछि भने अडिसन दिएँ । त्यसबेला भ्वाइस अफ नेपालको डिजिटल अडिसन दिने अवधी एक दिन मात्र वाँकी रहेको थियो ।

भोलि डिजिटल अडिसनको अवधी सकिँदै थियो । अघिल्लो दिनको बेलुकी वान टेकमै गीत रेकर्ड गराएँ र पठाइदिएँ ।

खासमा आफ्नो प्रयासले भन्दा पनि मेरा विद्यार्थी, साथीभाई र घर–परिवारको करले मैले अडिसन दिएकी थिएँ । अडिसन दिएपछि म आफ्नै काममा अलमलिएँ । अडिसन दिएको कुरा पनि बिर्सिसकेकी रहेछु । एक दिन गान्तोक जाँदै थिएँ, एउटा कार्यक्रमका लागि । हामी गाडीमा थियौं । त्यसैबेला फोन आयो, ‘तपाईं भ्वाइस अफ नेपालमा छनौट हुनुभयो ।’

त्यसबेला म छक्क परें । साँच्चै मैले अडिसन पो दिएकी थिएँ नि भनेर एकदमै एक्साइटेड भएँ ।

सिक्किमबाट काठमाडौंतिर

डिजिटल अडिसनमा मेरो गीत रुचाइएपछि मलाई ब्लाइन्ड अडिसनका लागि काठमाडौं आउनु भन्ने निम्तो आयो । काठमाडौंमा पाइला टेकेकी थिइन ।

हुन त सबैजना यहीँ आएर आफ्नो करियर बनाउने रहेछन् । धेरै सिक्किम, दार्जिलिङका थुप्रै कलाकार यहीँ आएर प्रशिद्धि कमाएका रहेछन् । काठमाडौं भनेपछि मेरो मनमा पनि एक किसिमको कौतुहलता जाग्यो ।

कस्तो होला काठमाडौं भनेर मनमनै कल्पिएँ ।

भ्वाइस अफ नेपालमा अडिसन नदिएको भए वा यो प्लेटफर्म नपाएको भए अहिले नै म काठमाडौं आउने थिइन । खासमा भ्वाइस अफ नेपालले डोर्‍याउँदै मलाई काठमाडौंसम्म ल्याइपुर्‍यायो । काठमाडौं मैले सोचेजस्तै थियो । सबै मिलनसार, आफ्नोपन भएका । एउटै परिवार जस्ता । सबै मिठो बोल्ने ।

एक हिसाबले हामी भनेका टाढाका मान्छे । सिक्किमबाट आएका । तर, काठमाडौंको हार्दिकताले म पग्लिएँ ।

त्यसपछि धेरैले चिने

सिक्किममा छँदा मलाई सीमित व्यक्तिले चिन्थे । गाएर पनि मैले त्यती ठूलो प्रशिद्धि पाएकी थिइन । आफ्नो एउटा घेराभित्र नै रमाइरहेकी थिएँ ।

त्यसबेला गीता शर्मा को हो ? चिन्नेहरु थिएनन् । जब भ्वाइस अफ नेपालमा आएँ, मेरो चिनारीको आयतन फैलियो । हिजोसम्म गुमनाम जस्तै म सबैमाझ परिचित भएँ । भ्वाइस अफ नेपालको उपाधि जित्नु÷नजित्नु आफ्नो ठाउँमा छ । तर आज हामीले जुन प्लेटफर्म पायौं, त्यसले पनि हाम्रो करियरलाई एउटा उचाईमा पु¥याएको छ ।

यो मञ्चबाट मैले आफ्नो गायकी सम्पूर्ण नेपालीमाझ सुनाउन सकें ।

हुन त जतिसुकै माथि पुगेपनि मान्छेले आफ्नो धरातल भुल्न हुँदैन । हिजो म कहाँ थिएँ, कस्तो अवस्थामा थिएँ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन ।

मलाई अहिले धेरैले ‘गीता शर्मा’ भनेर चिन्छन् ।

बुबाको उपहार हारमोनियम

मेरो घर–परिवार नै एकदमै सकारात्मक र सहयोगी छन् । आमा, बुवा सबैजनाले मेरो गायन करियरका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरेका छन् ।

त्यो केही बर्षअघिको कुरा हो । एकदिन बुवाले मेरो लागि उपहार ल्याइदिनुभयो । रातको बेला थियो । राती चाडै सुत्ने चलन छ हाम्रोतिर । राती बुवाले उपहार ल्याउनु भएपछि सुत्ने कुरै भएन । उठेर हेरें, हारमोनियम थियो । संगीत प्रशिक्षण लिन्छु भनेकाले गर्दा बुवाले मलाई थप सहयोग हुन्छ भनेर हारमोनियम ल्याइदिनुभएको थियो । त्यस रात म अबेरसम्म हारमोनियम समातेर बसिरहें । हारमोनियममा गीत अभ्यास गरिरहें । यस्तो देखेपछि बुवाको अनुहार खुसीले उज्यालो भयो । उहाँले भन्नुभयो, ‘स्यबास् छोरी, तिमीले सधै यसरी नै अभ्यास गरेको देख्न चाहन्छु । जीवनमा यस्तै गर्नुपर्छ ।’

आमाबाट गाउन सिकें

मेरो परिवार संगीतका लागि उर्वर थलो हो । बुवाले मलाई भावनात्मक रुपमै सर्पोट गर्नुभयो । भाइले पनि साथ दिएको छ । आमाको त कुरै नगरौं ।

खासमा आमाबाट नै मैले गीत गाउन सिकें । उहाँको कोखबाट नै मलाई संगीतको नशा चढेको होला । किनभने उहाँ पनि असाध्यै राम्रो गाउनुहुन्छ । उहाँबाट नै म प्रेरित भएर गाउन थालेकी हुँ । आमाले मलाई आफ्नो कोखबाट जन्म दिनुभयो, त्यसमा कृतज्ञ छु । आमालाई आज खुसी दिलाउन सक्दा सन्तुष्ट छु ।

अहिले गायनबाटै आफुलाई चिनाइरहँदा मेरी आमा धेरै खुसी हुनुभएको छ । उहाँको त्यो खुसी पनि मेरो शक्ति हो । प्रेरणा हो ।

चार घण्टाको यात्रा गरेर संगीत सिक्न

सानैदेखि संगीतमा रुची थियो । यसका लागि धेरै संघर्ष पनि गरियो । संघर्ष अझै सकिएको छैन । संगीतमा मैले स्नातकसम्मको अध्ययन गरेकी छु । एकातिर पढाई, अर्कोतिर संगीत । दुबैलाई एकसाथ अगाडि बढाउँदै लगें ।

कक्षा ६, ७ मा पढ्दै गर्दा पनि म गीत गुनगुनाइरहेकी हुन्थें । मैले गीत गुनगुनाएको सुनेर साथीहरु भन्थे, ‘तेरो स्वर राम्रो छ । तैले राम्ररी गाउन सक्छस् ।’ त्यही बेलादेखि मलाई म गाउन सक्छु भन्ने आत्मबोध भयो ।

संगीत सिक्नकै लागि सिक्किमबाट सिलगुढी जान्थें । घरदेखि धेरै टाढा जानुपथ्र्यो अभ्यासका लागि । तीन÷चार घण्टा हिँड्नुपर्ने । एक्लो । त्यो पनि केटी मान्छे ।

बिहान ६ बजे नै उठ्ने । अनि गाडी चढेर सिलगुढी जानुपर्ने । गाडी जाम हुन्थ्यो । त्यसमा पनि नियमित संगीत सिक्ने मौका पाइदैनथ्यो । यता घरको काम गर्नुपर्ने, पढाई छँदैछ । समय मिलाएर संगीत सिक्न जान्थें ।

पछि सिक्किमा हुने सानोतिनो कार्यक्रममा गाउथें । त्यस क्षेत्रमा त सामान्य चिनारी बनाएकी थिएँ । तर, भ्वाइस अफ नेपाल नै मेरो करियरको लागि टर्निङ प्वाइन्ट बनिदियो ।

भ्वाइस अफ नेपालको मञ्चमा

ब्वाइन्ड अडिसनका लागि तयारी गरिरहँदा मनमा डर थियो । डरसँगै खुसी मिसिएको थियो । के होला, कसो होला भन्ने भइरहेको थियो ।

जब स्टेजमा उक्लिएँ, आफैलाई सम्हालें । सकेसम्म राम्रो गर्छु भनेर मनमनै प्रण गरें । अनि गाइदिएँ, ‘पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें ।’

सुरुमा कोच राजु लामा मतर्फ मोडिनुभयो । त्यसपछि दीप श्रेष्ठ, प्रमोद खरेल, आस्था राउत सबै कोच मतर्फ फर्कनुभयो । त्यो एक सुखद सुरुवात थियो मेरो ।

प्रतियोगिता हो, जित्नैपर्छ भन्ने छैन । एक जनाले जित्नका लागि अरुले हार्नु पनि पर्छ । तर, भ्वाइस अफ नेपालको शीर्ष ८ सम्म पुग्नु र यत्तिका शुभेच्छुक पाउनु भनेको पनि एउटा जित हो जस्तो लाग्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment