Comments Add Comment

साथीको कपडा मागेर सागमा स्वर्ण

१८ मंसिर, पोखरा । हिमाल टमाटाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’

टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि थियो । त्यति नै बेला पनि उनले संकल्प गरेका थिए, ‘नेपालका लागि एउटा स्वर्ण पदक त पक्का जितेर ल्याइदिन्छु ।’

नेपाल आर्मीका जागिरे टमाटाले सुरुमा आर्मीकै साइकलले अभ्यास गरेका थिए । त्यो साइकलले पनि उनमा जितको आत्मविश्वास बढाइदिएकै थियो । तर जब एक महिनाअघि सागकै लागि बन्द प्रशिक्षणमा सहभागी भए, ‘हातमा लाग्यो–थोत्रो साइकल !

उनले हार मानेनन् । जितको सपना देखिरहे । थोत्रो साइकल भएर के भो त ? हिमालमा जितको भोक थियो । त्यही भोकले नै जित्ने शतप्रतिशत विश्वास कायम राख्न सघाउँदै आएको थियो । अभ्यासमा तल्लिन हुँदाबाटै एक महिनाबाट विस्तारै ३०, २९, ….. हुँदै साग सुरु हुने मिति उनको अघिल्तिर आयो । तर न उनीसँग सागका लागि पोशाक पाए, न साइकल नै ।

त्यसले पदक जित्ने विश्वास मक्किँदै मक्किँदै गयो । ‘सुरुमा पदक जित्छु भन्ने शतप्रतिशत विश्वास थियो । तर सरकारले कुनै पनि पूर्वाधार र आवश्यक सामाग्री उपलब्ध नगराइदिएपछि जित्छु भन्ने आशै मरेर गयो,’ टमाटाले अनलाइनखबरसँग भने, ‘इक्वीपमेन्टबिना जित्छु भन्नु पनि मुर्खता थियो ।’

नयाँ साइकल आएन । पोशाक आयो, अघिल्लो दिन । बोरामा कोचिएर आएको ‘कस्ट्युम’ नियाले । तर त्यो कस्ट्युम दुआथोलनका लागि थिएन । उनी भन्छन्, ‘पोशाक आएर के गर्नु ? खेल अनुसारको क्वालिटी नभएपछि नलगाउने निर्णय लिएँ ।’

मंगलबार विहानै खेल तालिका थियो । कपडा गुणस्तरहीन भएपछि आधारातसम्म के कपडा लगाउने ठेगान थिएन । खेलभन्दा बाहिर रहेका साथीसँग कपडा सापटी मागे । र मंगलबार साथीकै पोशाकमा ठाँटिएर प्रतिस्पर्धामा होमिए ।

साथीसँग मागेकै कपडाले टमाटाले स्वर्ण पदक पनि जिते । तर, उनी सन्तुष्ट भएनन् । ‘देशमा यति ठूलो इभेन्ट आयोजना गरिएको छ । पहिलो प्राथमिकतामा खेलाडीलाई पार्नुपर्थ्यो, तर त्यो देखिएन,’ भन्छन्, ‘खेलमा जति शरीरको साथ दिन्छ । त्योभन्दा बढी सहयोग र साथ इक्विप्मेन्टले दिन्छ भन्ने उनीहरुले बुझून् ।’

राज्यले खेलकुदमा गरेको लगानी सम्बन्धित व्यक्तिसम्म नपुगेको हिमालको गुनासो छ । ‘ट्रेनिङको समयमा जति आशा र हौसला ममा थियो । खेलको अन्तिम घडीमा आएर सबै सकियो,’ १३औं सागका स्वर्ण पदक विजेता हिमालले दुखेसो पोखे, ‘राज्यले गरेका छौं, गर्छौं भन्यो । तर, सधैं आशमात्रै देखाइरह्यो ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment