Comments Add Comment

ख्याल–ख्यालैमा गायनमा होमिएका आरिफ

लोकप्रिय सांगीतिक रियलिटी शो ‘भ्वाइस अफ नेपाल–२’का प्रतिस्पर्धी हुन्, आरिफ राउफ । यो प्रतियोगितामा आरिफको दोस्रो इनिङ हो ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भ्वाइस अफ नेपाल’को पहिलो संस्करणमा उनको यात्रा प्रारम्भमै टुंगियो । ब्लाइन्ड राउन्डबाट बाहिरिएका आरिफ यसपालि भने अन्तिम चारसम्म पुगेका छन् । अहिले यो मञ्चबाट पछाडि फर्केर हेर्दा उनले आफ्नो संगीत–यात्रालाई कस्तो देख्छन् ? कुन मोडबाट उनी आजको विन्दुसम्म आइपुगे ?

अनलाइनखबरसँग उनले आफ्नो संगीत–यात्रा यसरी सुनाए ।

हजुरबा भन्नुहुन्थ्यो, ‘के कुरामा सन्तोष लाग्छ, त्यही काम गर्नू । काम गर्दा त्यसमा लगाव राख्नू । ठग्नु हुँदैन । इमान्दार र अनुशासित हुनुपर्छ ।’

हामी सानै थियौं । उहाँको कुरा बुझ्दैनथ्यौं । हजुरबा हामीलाई काखमा राख्नुहुन्थ्यो र मायालु हातहरुले सुमसुम्याउँदै भन्नुहुन्थ्यो, ‘भगवानले माथिबाट हेरिरहेको हुन्छ । राम्रो गर्नुपर्छ । मेहनत गर्ने मान्छेले कुनै न कुनै दिन सफलता पाउँछ ।’

हजुरबाको यही भनाइ मेरो लागि गुरुमन्त्र भइदियो ।

हामी मुस्लिम समुदायका । हाम्रो मुलघर सर्लाही । ममीको घर सप्तरी । तर कामको सिलसिलामा हाम्रो ममी–बुवा काठमाडौं आउनुभयो । काठमाडौंमा ममी, बुवा, म र बहिनी बस्छौं । हामी काठमाडौंमा हुर्कियौं । बुवा जागिरे, एउटा फार्ममा काम गर्नुहुन्थ्यो । निरन्तर ३० बर्षसम्म उहाँ काम गरिरहनुभएको छ । त्यही काम गरेर नै बुवाले हामीलाई पढाउनुभयो, हुर्काउनुभयो । बहिनी र मैले स्नातकोत्तरको अध्ययन सक्यौं ।

अहिले म बिजनेस गर्छु । यसले घर खर्च चलाउन केही सहयोग पुगेको छ । पढाइ सकेर म करियर बनाउनतर्फ लाग्न सक्थें ।

तर मेरो ध्यान अर्कैतिर थियो । खासमा म गायक बन्न चाहन्थें । मभित्र स्वतःस्र्फूत गीत संगीत प्रकट भयो । यसै पनि म गुनगुनाइरहेको हुन्थें । खाएको बेला, हिँडेको बेला, बसेको बेला, खेलेको बेला । जतिबेला पनि म भित्र भित्रै गुनगुनाइरहेको हुन्छु । गीत मेरो स्वाभाव हो । गीत गुनगुनाउँदा मलाई आनन्द लाग्छ, सन्तोष लाग्छ । हजुरबाले भनेझै म गीत संगीतमै आफ्नो जीवनको लय खोज्न चाहन्छु । अहिले हजुरबा हुनुहुन्न, हामी सानै छँदा उहाँ बित्नुभयो । तर, उहाँको भनाइलाई म आत्मसात गरेर अगाडि बढ्न चाहन्छु ।

मर्निङ सोज द डे

म हुर्किएको वातावरण, समाज, परिवार सबै सकारात्मक थियो । सबैले मेरो गुण र क्षमता पहिचान गरे र त्यहीअनुसार हौसला दिए ।

आफ्नो स्वर कस्तो हो भनेर छुट्याउन पनि समय लाग्ने रहेछ । हुन त रक गीत पनि गाइरहेको हुन्छु । तर मैले प्ले ब्याक सिंगरको रुपमा आफूलाई अगाडि बढाउन सक्छु भन्ने लाग्छ ।

त्यसबेला म सानै थिएँ । बुद्धनगरको स्वप्नबाटिका स्कुलमा पढ्थें । स्कुलमा राइम्स गाउन खुब मज्जा आउने । भाका हालेर गाउँथे । यसरी मैले राइम्स गाएको सुनेपछि सर/म्यामले अगाडि उभ्याएर गाउन लगाउनुहुन्थ्यो । यसरी शिक्षकहरुको सकारात्मक साथले मलाई हौसला मिल्यो । घरमा आएपछि पनि म भाका हालेर राइम्स गाइरहेको हुन्थें ।

अंग्रेजीमा भनाइ छ नि, ‘मर्निङ सोज द डे ।’ वाल्यकाल नै मैले संकेत गरिसकेको थिएँ कि, म गीत संगीतमा रमाउँछु ।

जब म हुर्कदै गएँ, गीत संगीतमा रुचि जाग्न थाल्यो । सहपाठीहरुले पनि ‘तिमी राम्रो गाउन सक्छौ’ भनेपछि मभित्र थप आत्मविश्वास पलायो । विद्यालयको इभेन्टमा अक्सर म गाइरहेको हुन्थें । यसरी सबैको साथ र हौसलाले मलाई गायन क्षेत्रमा लाग्न प्रेरित ग¥यो ।

तर मैले औपचारिक कोर्स गरिन । कुनै संगीत पाठशालामा गएर संगीत सिक्ने भन्दा पनि घरमै बसेर नयाँनयाँ अभ्यास जारी राखें । हरेक दिनजसो म केही न केही गीत गाउने अभ्यासमा हुन्थें । यसरी म आफ्नै बलबुतामा संगीतमा तानिएँ ।

मेरो जीवनको भाका

कुनै दिन गायक बन्नेछु । चर्चा कमाउनेछु । देश–विदेशको स्टेजले मलाई स्वागत गर्नेछ । हजारौं–लाखौंको भीडमा गाउनेछु । रातारात सेलिब्रेटी हुनेछु । यस किसिमको सोच आउनु स्वाभाविक हो । तर, म गायनमा लाग्नुको पछाडि चर्चित हुने भोक होइन । सेलिब्रेटी बन्ने मोह होइन । नाम र दाम कमाउने तिर्सना होइन ।

संगीत मेरो जीवनको भाका हो जस्तो लाग्छ । म यसै पनि संगीतमा रमाइरहेको हुन्छु । गायनमा लागेर यस्तो बन्नेछु, यसो गर्नेछु भनेर नभई यसमा आफू रमाउने भएकाले लागेको हुँ ।

भ्वाइसको त्यो यात्रा

संगीतमा पूर्णकालीन रुपमा लागेको भने थिइनँ । बेलामौकामा गाउने, बजाउने गरिरहेको थिएँ । एकाध चलचित्रमा गाउनका लागि अफर आइरहेको थियो । ‘लभ लभ लभ’ लगायतमा गीत गाएँ पनि ।

यस्तैमा भ्वाइस अफ नेपाल आयोजना हुने कुरा सुनें । अमेरिकी आइडल हेरिरहेकै थिएँ । त्यसकै फेन्चाइज । उस्तै सेट, उस्तै डिजाइन, उस्तै भव्यता । मेरो मन लोभियो । एकपटक प्रयास गरौं भन्ने लाग्यो ।

भ्वाइस अफ नेपालको पहिलो सिजनमा मेरो यात्रा सुरुवातमै टुंगियो । ब्लाइन्ड अडिसनबाट म बाहिरिएँ ।

सानैदेखि गीत संगीतमा लगाव राख्ने, नियमित अभ्यास गर्ने, बेलामौकामा गाउने मैले आफैंमाथि परीक्षण गर्ने अवसर थियो यो । ब्लाइन्ड अडिसनबाट अगाडि बढ्न नसकेपछि मलाई लाग्यो, मेरो अभ्यास पुगेको छैन । मेरो स्वर माझिएको छैन ।

हतोत्साही हुने भन्दा पनि त्यसबाट पाठ सिकेर आफूलाई निखार्ने बाटोमा लागें ।

भ्वाइस अफ नेपालको दोस्रो सिजन सुरु भयो । अडिसन दिएँ । ब्लाइन्ड अडिसनमा मेरो गीत सुनेर चार जना कोचको कुर्सी मोडियो । म उत्साहित भएँ । त्यसपछि भ्वाइसमा मेरो यात्रा निरन्तर अगाडि बढ्दै गयो ।

भ्वाइस अफ नेपालको प्लेटफर्मबाट मैले आफैलाई प्रमाणित गर्ने अवसर पाएको छु । यहाँसम्म आइपुग्दा धेरै शुभचिन्तक कमाइसकेको छु । मेरा समुदायका आफन्त, घर परिवार एकदमै खुसी छन् । यो खुसी नै मेरो लागि एक किसिमको जित हो ।

भ्वाइस अफ नेपालको यात्रालाई पनि म आफ्नो उपलब्धी मान्छु । कतिपयले मेरो गायकीको तारिफ गरिरहेका छन्, कतिले नकारात्मक टिप्पणी पनि गरिरहेका छन् । यस्ता टिकाटिप्पणी आउनु अस्वाभाविक होइन । सबैको आ–आफ्नै दृष्टिकोण हो । उनीहरुले औल्याएका गल्ती कमजोरीलाई सच्याउनुपर्छ भन्ने लाग्छ ।

आफ्नो स्वर कस्तो हो भनेर छुट्याउन पनि समय लाग्ने रहेछ । मेरो चाँहि स्टुडियो भ्वाइस रहेछ । यस्तो भ्वाइस खासगरी प्ले ब्याक सिंगरका लागि आवश्यक हुन्छ । हुन त रक गीत पनि गाइरहेको हुन्छु । तर मैले प्ले ब्याक सिंगरको रुपमा आफूलाई अगाडि बढाउन सक्छु भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment