Comments Add Comment

मलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : वामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने बताएको उनले सुनाए ।

राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसदमा लैजान्छु’ भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो ।’

‘मैले उहाँलाई भने राष्ट्रियसभामा त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्’, उनले अघि भने, ‘म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन । तर म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।’

उसो भए तपाईलाई प्रधानमन्त्री बन्ने हतारो छ भन्ने प्रश्नमा गौतमले सहजै स्वीकार गरे । ‘वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई’ उनले भने, ‘विसं २०७४ को निर्वाचनमा अध्यक्ष केपी ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौं । अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईं नै हो, तपाईं नै लाग्नुस् ।’

तपाइँ राष्ट्रियसभामा जाने भन्ने पनि पछिल्लो समय सुनिएको छ, खास कुरा के हो ?

एकदिन प्रधानमन्त्रीले ‘तपाईंलाई मैले तुरुन्तै संसद्मा लैजान्छु’ भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो । त्यसपछि मैले उहाँलाई भने राष्ट्रियसभामा म त्यसबेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन् ।  म प्रधानमन्त्री हुनुपर्छ, तपाईं होइन वा प्रचण्ड हुनुहुन्न भनेको होइन । तर म त्यस्तो संस्थामा सदस्य हुँदैन, जहाँ संसद्मा एउटा संसद् भाग्यशाली र अर्को संसद् चाहिँ दुर्भाग्यशाली भएको होस् । म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यबीचको हैसियतमा असमानता छ भन्ने बुझाइ हो तपार्इंको ?

हो, यो असमानता हटाउनुपर्छ । म शक्तिशाली संस्थामा रहन चाहन्छु । मेरो स्वभाव पनि त्यस्तै खालको छ ।

वामदेव गौतमले प्रधानमन्त्री बन्न हतार गरेको भनेर बुझ्दा के हुन्छ ?

के फरक पर्यो त । वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो । म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई । विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईंका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौँ । अब पहिलो पटक प्रधानमन्त्री हुने तपाइँ नै हो, तपाईं नै लाग्नुस् । उहाँहरुले नै भनेको हो । चुनावमा गइयो, हारियो ।

तपाइँलाई धोका भयो उसो भए…?

के धोका हुनु । चुनावमा गइयो, हारियो ।

 जितेको भए बनाउँथे होला त ?

त्यो त सांसद्ले बनाउने हो ।

पार्टीले निर्णय गर्नुपर्दैन र ?

पार्टीमा म कुनै कमजोर छैन । पार्टीमा कमजोर भएको भएदेखि मलाई यहाँबाट धोतीटोपी समाप्त गरेर देश निकाला गरिसक्ने थिए । त्यस भएर म अहिले पनि नेकपाको अपरिहार्य व्यक्ति हुँ । म हुनै पर्छ, यो पार्टीमा । उहाँहरुले मलाई बनाउनुहुन्थ्यो वा हुनथ्यो । त्यो उहाँको कुरा हो ।

संविधान संशोधन गर्ने हुँदा मात्र राष्ट्रियसभामा जान्छुभन्दा प्रधानमन्त्रीले के भन्नुभयो त ?

उहाँहरु (प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड)ले के सोच्नुभएको छ । उहाँहरुलाई नै थाहा होला । मिडियामा अनेक अनेक कुरा आएका छन् । तर त्यस्तो होइन ।

त्यो सम्भावना छ ?

मेरो लाग्यो, पुग्यो भने वा केही गरी म फेरि निर्वाचनमा गएर जितेर म प्रधानमन्त्री भएर आए भने सबभन्दा पहिले मैले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुने व्यवस्था गराउँछु । राष्ट्रियसभा र प्रतिनिधिसभाको त्यो भिन्नता किन ? एउटा माथिल्लो र अर्को तल्लो गरी जुन व्यवस्था छ । त्यसलाई संशोधनबाट समाप्त गर्नेछु । राष्ट्रियसभाबाट उपप्रधानमन्त्री र मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुन नपाउने व्यवस्थाको अन्त्य गरिनुपर्छ । राष्ट्रियसभाले निर्णय ग¥यो तर तलकोले उल्टाइदिन्छ । तलको निर्णय गर्यो माथिल्लोले उल्टाइदिन्छ । यस्तो हुनु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment