Comments Add Comment

द्वन्द्वपीडितले भने – सत्य निरुपण आयोगमा पुरानै अनुहार दोहारिए अमान्य

२३ मंसिर, काठमाडौं । द्वन्द्वपीडितले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाएका छन् ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले गरेको कार्यक्रममा द्वन्द्वपीडितले शान्ति प्रक्रियाप्रति तत्कालिन विद्रोही र सरकारको नेतृत्वकर्ता नेताहरु नै उदासिन रहेको आरोप लगाएका हुन् ।

सञ्जालका सल्लाहकार रामकुमार भण्डारी सशस्त्र युद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालिन सरकारको नेतृत्व गर्ने शेरबहादुर देउवाले नै शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको बताए ।

शान्ति प्रक्रियाको विषयलाई सत्ताको खेलसँग जोडेर नेताहरुले दाउपेचको रुपमा प्रयोग गरेको उनले आरोप लगाए । द्वन्द्वपीडित र सरोकारवालाले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई फेरि कमजोर पार्ने कोशिस भइरहेको पनि आरोप लगाए ।

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी उपाध्यक्ष देवी सुनारले आयोगमा पुरानै अनुहार दोहोरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिइन् । आयोगले ४ बर्ष त्यसै खेर फालेको भन्दै उनले पुनः त्यस्तो नहोस् भन्नका लागि पहिले ऐन संशोधन गर्नुपर्ने धारणा राखिन् ।

राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य मोहना अन्सारीले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्नुअघि यसको ऐन संशोधन हुनुपर्ने बताइन् ।

‘पदाधिकारी नियुक्त गर्नुअघि आफूहरुको सहभागितामा ऐन संशोधन गर्नुपर्ने द्वन्द्व पीडितहरुको माग छ’ अन्सारीले भनिन् ।

अधिवक्ता दिनेश त्रिपाठीले आयोगमा फेरि पनि ‘कु पात्र’ को खोजी भइरहेको टिप्पणी गरे । उनले शान्ति प्रक्रियाका विषयमा शीर्ष नेताबाटै धोकाधडी भएको बताए ।

नेताहरु विदेश भ्रमण जानै नसक्ने स्थिति !

मानव अधिकारकर्मी कपिल श्रेष्ठले संक्रमणकालीन न्यायको विषय नटुंगिदा तत्कालीन माओवादीका नेताहरु पश्चिमा देश भ्रमणमा जान नसक्ने स्थिति रहेको बताए । ‘यही कारण कतिपय तत्कालीन माओवादीका नेताहरु पश्चिमा देशहरु घुम्न पाइरहनु भएको छैन । यो देशकै लज्जाको विषय हो’ उनले भने ।

अर्का मानवअधिकारकर्मी चरण प्रसाईंले संक्रमणकालीन न्यायको विषयमा आवाज उठाउँदा आफूहरुलाई शान्ति प्रक्रिया विरोधी भनेर अपमानित गरेको दुखेसो गरे ।

नेकपाका केन्द्रीय सदस्य खिमलाल देवकोटाले भने शीर्ष नेताहरुकै कारण समस्या नसुल्झिएको भन्न नमिल्ने बताए । ‘देउवा र प्रचण्डलाई अपराधी भन्ने । उहाँहरुले नै यो समस्या सुल्झाउन नचाहेको भनेर गाली गर्ने तर, उहाँहरुकै प्रतिनिधि नभई तपाईंहरुको कार्यक्रम नचल्ने ?’ देवकोटाले भने ।

नेता देवकोटाले आयोगमा पहिले पदाधिकारी नियुक्ति कि ऐन संशोधन भन्ने बहस निरर्थक रहेको बताए । ‘पीडितलाई चाहिने परिणाम हो । आयोगमा को र कस्तो व्यक्ति आउँदैछ वा यो आउनै हुन्न, यसलाई नै ल्याउनुपर्छ भन्ने होइन’ उनले भने ।

१३ बर्षसम्म संक्रमणकालीन न्याय नटुंगिएको भन्दै उनले अब पीडित र सरकार दुबैले कामको तरिका फेर्नुपर्ने बताए ।

कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारले संक्रमणकालीन न्यायको विषय टुंग्याउन आँँट देखाउनुपर्ने बताए । ‘हामी गर्छौं भनेर ठूला नेताहरुले प्रतिवद्धता जनाउँदै आउनुभएको छ । खै त दुई तिहाइको सरकारले यसलाई अगाडि बढाउन सकेको ? कसैले रोकेको छैन ।’

सांसद कंडेलले जनयुद्ध गर्ने र जनयुद्ध दबाउने दुबै पक्षले अनावश्यक यातना दिनु, बलात्कार गर्नु भनेर आदेश नदिएको उल्लेख गर्दै जघन्य अपराधको छानबिन हुनुपर्ने बताए ।

शान्ति प्रक्रिया नटुंगिँदा नक्कली द्वन्द्वपीडित बढेको पनि कँडेलले टिप्पणी गरे । ‘फेक द्वन्द्वपीडित धेरै आएका छन् र द्वन्द्वपीडितका बीचमा पनि दरार ल्याउने कामहरु भइरहेको छ’ उनले भने । सरकारलाई के गर्दा शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिन्छ भनेर ‘फेक द्वन्द्वपीडित’ले नै सुझाव दिन थालेको उनले बताए ।

कांग्रेस नेता रामहरि खतिवडाले पीडितलाई न्यायको अनुभूति दिलाउन शीर्ष नेतालाई आग्रह गरे ।

अधिकारकर्मी प्रदीप पोखरेलले द्वन्द्वपीडितहरुमा विभाजन देखा पर्न थालेको टिप्पणी गरे । ‘हामीमा विभाजन आएको छ । यसलाई थप जटिल हुन नदिन १०/१५ जना महरा भए पनि केही फरक पर्दैन । राज्यले त्यसको चिन्ता नलिई द्वन्द्वपीडितलाई न्यायको अनुभूति दिलाउनुपर्छ’ अधिकारकर्मी पोखरेलले भने ।

पर्यटनमन्त्री भट्टराई र गगन थापाले झुक्याए !

आयोजकले कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र विशेष अतिथिका रुपमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापा सहभागि हुने भनेर निमन्त्रणा पठाएको थियो ।

तर, कार्यक्रममा दुबै व्यक्ति सहभागी भएनन् । ‘उहाँहरुले आउँछु भनेर निश्चित गरेपछि कार्यक्रम तय गरिएको हो । तर, व्यस्तताले भ्याइएन भन्ने जवाफ आयो’ आयोजक संस्थाका अध्यक्ष गोपालबहादुर शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment