Comments Add Comment

मौसमविद भन्छन्- पश्चिमबाट नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ

२६ मंसिर, काठमाडौं । बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ ।

बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित छ भने हवाई सेवा अवरुद्ध भएको छ ।

अहिले काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा धुम्म बादल लागेको छ । आज बादल हट्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविद बताउँछन् ।

मौसममा आएको बदलीले तराईको जनजीवन पनि प्रभावित भएको छ । तराई क्षेत्रमा पनि कतिपय स्थानको हवाई सेवा प्रभावित भएको छ । यद्यपि, काठमाडौंको भिजिबिलिटी ४ हजार मिटर रहेकाले हवाई सेवा सञ्चालन भइरहेको छ । भिजिबिलिटी ३ हजार मिटरभन्दा कम भएमा उडान गर्न नहुने अन्तर्राष्ट्रिय उड्डयन नियम छ ।

मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदको प्रक्षेपण छ । मौसम पूर्वानुमान विभागका मौसमविदका अनुसार, योबीचमा देशका अधिकांश भूभागको तापक्रममा गिरावट आई चिसोसमेत बढ्नेछ ।

काठमाडौं उपत्यकाको तापक्रम बिहीबार बिहान ९ः४५ बजे ७.७ डिग्री मापन भएको छ । यो वर्षकै सबैभन्दा चिसो दिन भने होइन । यस वर्ष काठमाडौंको तापक्रम ५ डिग्रीमा झरिसकेको छ ।

देशका पश्चिम भेगका धेरै र पूर्वी भागका केही स्थानमा शनिबारसम्मै हल्का वर्षाको सम्भावना पनि विभागले औंल्याएको छ । मौसम विभागका अनुसार, शनिबारपछि भने मौसममा सुधार आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment