Comments Add Comment

इजरायली राजदूतद्वारा कफी अनुसन्धान कार्यक्रमको अवलोकन   

२६ मंसिर, गुल्मी । इजरायली राजदूत बेनी अमारले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रमको अवलोकन गरेका छन् ।

कफी क्षेत्रमा भइरहेको खोज तथा अनुसन्धानमा सहयोग गर्ने उदेश्यले राजदूत अमारले कफी अनुसन्धान कार्यक्रमको अवलोकन गरेको अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले जानकारी दिए ।

अवलोकनका क्रममा राजदूत अमारले गुल्मीको कफी निकै स्वादीलो रहेकाले यसको उत्पादनमा इजरायली सरकारले सहयोग गर्ने बताए । सो क्रममा राजदूत अमार लगायतका व्यक्तिहरुले कार्यलय परिसरमा कफीका बिरुवा समेत रोपेका थिए ।

अवलोकन भ्रमणका क्रममा थापाले कफी अनुसन्धान कार्यक्रममा भइरहेको कामकाबारेमा राजदूत अमार लगायतका व्यक्तिहरुलाई जानकारी गराएका थिए ।

प्रत्येक प्रदेशको एक जिल्लाममा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने उदेश्य अनुरुप राजदूत अमार गुल्मी पुगेका हुन् ।

राजदूत अमारसँगै इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्य, परराष्ट्र मन्त्रालय र कृषि कार्यक्रमका उपसचिव लगायत गुल्मी पुगेका थिए ।

गुल्मीमा कफी सम्बन्धी विभिन्न परीक्षण एवं अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम राखिएको छ । ०७१ बैखाख ३ गते कफी अनुसन्धान कार्यक्रम कार्यालय समेत स्थापन भएको छ ।

कार्यक्रम मार्फत कफी सम्बन्धी अनुसन्धान, जात परीक्षण, रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको वरिष्ठ बैज्ञानिक थापाले बताए । १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइन्छ ।

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोप्ने गरिएको पाइएको छ । जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा पनि कफी खेती गरिएका छन्  ।

नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने तथ्याङ्क छ । त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको छ । नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट ०७५/०७६ मा ५३० मेट्रिक टन उत्पालदन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट रु ९ करोड ९६ लाख मूल्य रहेको छ । कफी उत्पादन गर्ने कृषकलाई भने सेतो गवारोका कारण उत्पादन गर्न समस्या परेको कृषहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment