Comments Add Comment

सडक अनुगमनको दृष्य : स्थानीय गर्जिएपछि माधव नेपाल फुत्त गाडीभित्र !

२६ मंसिर, काठमाडौं । अगाडि-पछाडि प्रहरीको स्कर्टिङसहित करिब १५ वटा सरकारी गाडीको लावालस्कर विहान हायात होटलबाट एकैपटक निस्कियो । यो भिआइपी टोलीको मिसन थियो, साँखुसम्म सडक अनुगमन गर्ने ।

लस्करको बीचमा थियो कालो सिसा लगाइएको झण्डावाला गाडी । गाडीभित्र सवार थिए पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ अनि  प्रदेशसभा सदस्य तथा नेकपाका नेता रामेश्वर फुँयाल । यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, गोकर्णेश्वर र कागेश्वरी मनहराका मेयर, सडक विभागका इन्जिनियर, ठेकेदारहहरु उनीहरुको अघिपछि थिए ।

हायातबाट निस्कर बौद्ध कट्नासाथै भीआईपी टोली जोरपाटी क्षेत्रमा उत्रिन परिहाल्यो । बाटोको बीचमा ठेकेदारले माटो मिसिएको दश टि्रप जति ग्राभेल झारेका रहेछन् । स्थानीयले ठेकेदारको पोल खोलिदिए, ‘मन्त्रीहरु अनुगमनमा आउने थाहा पाएरे रातारात ग्राभल झारेर काम गरिटोपलेका हुन् ।’

बाग्मती पुलसम्म जिम्मा लिएको ठेकेदारले अनेकन बहाना बनाएर काम नगरेको स्थानीय र जनप्रतिनिधिले टोलीसमक्ष गुनासो पोखे । ढलको समस्या मात्रै नभएर मुआब्जाको कुरा उठ्यो ।

एक स्थानीयले यो सडकले आफूहरुलाई क्यान्सर हुन लागेको बताए ।

‘यो देशमा सरकार छ कि छैन हामीलाई थाहा छैन, हामी ६ वर्षदेखि टुहुरा जनता भएका छौं,’ स्थानीय बासिन्दा दीपक लामा भने, ‘भीआईपीहरु कालो सिसा लगाएर कुद्छन्, हामीलाई भने फोक्सोको क्यान्सरले मार्ने भयो ।’ स्थानीयहरुले मुआब्जाको समस्या भए त्यसलाई छिटो हल गरेर सडक पिच गर्न माग गरे ।

यो सडक खण्डका विभिन्न भागमा पिच नभएको होइन, करिब ५ सय मिटर कालाेपत्रे भए पनि एक किलोमिटर खण्डमा पिच त के बाटो बनाउनै सुरु गरिएको छैन । कारण हो, मुआब्जा विवाद । कतै २२ मिटरको खण्डमा कालाेपत्रे भइसकेको छ भने कतै एक मिटर पनि छोइएकै छैन ।

समस्या नभएका ठाउँमा पनि सबै ठाउँमा पिच गरिएको छैन । माटो मिसएकाे ग्राभल ल्याएर हाल्ने र कालाेपत्रे नगरी त्यतिकै अलपत्र गर्ने क्रम वर्षौंदेखि चलिरहेको छ ।

स्थानीयले मन्त्रीको टोलीसँग विवाद नभएका क्षेत्रमा पिच गरेर राहत दिन माग गरे । ठेकेदारले छोटो दूरीमा कालाेपत्रे गर्दा रकम भुक्तानी प्राप्त नहुने भन्दै टार्दै आएको गुनासो उनीहरुको थियो ।

नेपाल फुत्त गाडीभित्र

यो टोली जहाँ-जहाँ उत्रिएर कुरा गथ्र्यो, त्यहाँ सानोतिनो रस्साकस्सी भइहाल्थ्यो । हरेक ठाउँमा स्थानीयवासीसँग पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै अघि सरे । रामेश्वर फुँयालले पनि आक्रोशित जनतालाई फकाउन प्रयास गरे । मन्त्री नेम्वाङले भने स्थानीयको समस्या सुने मात्रै, केही बोलेनन् ।

भिडियो हर्नुस्

गर्न सकिने ठाउँमा पनि काम नगरेको भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठेकदार बिरुवा कन्स्ट्रक्सनका सञ्चालक बालकृष्ण थापालाई चेतावनी दिन खोजे । तर, ठेकेदार थापा नै उल्टै नेता नेपालमाथि खनिए ।

‘म हिजो काम गर्नुपर्‍यो, वातावरण बनाइदिनुस् भनेर नगरपालिका र वडा कार्यालयमा धर्ना बसेँ, कसैले केही सुनेन’ थापाले नेता नेपाललाई जवाफ फर्काए, ‘अब ठेक्काको म्याद सकिने बेलामा चाहीँ उल्टै हामीलाई चेप्ने ?’

उनले आफूलाई मानहानीको मुद्दाको डरसमेत देखाउने गरिएको बताए । ‘काम सुरु गर्‍यो, एउटा आएर खबरदार काम गर्लास् भन्छ, अर्को आउँछ किन काम गरिनस् भन्छ,’ उनले भने, ‘काम गर्न साइट नै नपाएपछि कहाँ बनाउने सडक ?’

सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले समस्या नभएका स्थानमा पनि ठेकेदारले काम नगरेको पाइएकाले छिटो काम अघि बढाउन निर्देशन दिए ।

अनुगमनका क्रममा डाँछीका स्थानीयहरु सरकारी टोलीमाथि नै खनिए । पछिल्लो ६ महिनामा सडक निर्माणमा निकै प्रगति भएको भनेपछि स्थानीय रिपुमर्दन थापा आक्रोशित बन्न पुगे । उनले नेता, कर्मचारी र ठेकेदार मिलेर सडक निर्माणका भ्रष्टाचार गरिएको आरोपसम्म लगाए ।

यतिका वर्षसम्म जनतालाई हिलो र धुलोमा लपेटेको भन्दै उनले पूर्वप्रधानमन्त्री नेपालसँग तात्तिएरै बहस गरे । थापा निकै रिसाएको देखेपछि उनी भीडबाट फुत्त निस्किएर गाडीमा चढे । तर, थापाले नेपाललाई गाडीको ढोकैसम्म पछ्याए र भने, ‘लाज शरम छैन, जनतालाई यति धेरै दुःख दिन ?’ आक्रोशित थापालाई नेकपाका स्थानीय कार्याकर्ताले सम्हाले ।

दुर्घटनाको जोखिम

अनुगमनका क्रममा सडकमा सवारीहरुको पुरानै बिजोग देखियो । सडकका कति खण्डमा २ फिटसम्म गहिरा खाल्डाहरु नपुरी छाडिएको छ ।
विहान धुलो नउडोस् भनेर हालिएको पानीले सडक हिलो र चिप्लो भएको देखिन्थ्यो भने कति स्थानमा पानीले धुलो छोप्न पनि सकेको थिएन ।

मोटरसाइकल, स्कुटर र साइकलमा हिँडेका यात्रु धुलाम्य देखिन्छन् भने गाडीभित्र यात्रा गर्नेलाई खाल्डायुक्त सडकमा उबडखाबडले कम्ता समस्या भएको देखिन्न ।

थलीका एक स्थानीय ब्यापारी दिनमा आधा दर्जन मोटरसाइकल आँखै अगाडि लडेर दुर्घटनामा परेको बताउँछन् । ‘यहाँ स्पिडमा बाइक नचलाइने भएर पो मान्छे मर्दैनन्, नत्र यहाँ दुर्घटनामा त टन्नै हुन्छ,’ उनी भन्छन्, ‘बाटोमा खाल्डो र हिलो र ठूला-ठूला ढुंगा मात्रै छ । अनि किन नहोस् दुर्घटना ?’

विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये केही खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

के हो समस्या ?

सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । वि.सं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो ।

तर, स्थानीयहरुले मुआब्जामा चित्त नबुझेपछि अदालतको ढोका घच्घचाएका थिए । मुआब्जा विवादका कारण देखाउँदै सडक विस्तारको काम लामो समय रोकियो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पटक-पटक सडकमा उत्रिएर विरोध जनाएपनि यो खण्डको समस्या ज्युँको-त्युँ छ ।

मुआब्जाको विवाद नटुंगिँदै सडक भत्काएपछि अधिकांश क्षेत्रमा सडक मर्मतको काम अलपत्र छ । सरकारले खनेर अलपत्र पारेका सडकका कारण नागरिकले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । विवाद भएको बहानामा ठेकेदारहरुले गर्न सकिने काममा ढिलाइ गरिरहेका छन् । विवादित अवस्थामा सडक विभागले पनि ठेकेदारहरुलाई दबाव दिन सकेको छैन ।

यसअघि यातायात मन्त्री नियुक्त भएपछि रघुवीर महासेठ पनि माधवकुमार नेपालकै साथमा सडकमा अनुगमन गर्न पुगेका थिए । उनले ६ महिनमाभित्रै सकड कालोपत्रै गर्ने प्रतिवद्धता गरेका थिए । तर २० महिनापछि मन्त्रीबाट बर्खास्त हुँदा पनि सडकको हालत उस्तै छ ।


फोटो/भिडियोः चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment