Comments Add Comment

लुम्बिनी क्षेत्रको विकासको जिम्मा संघीय सरकारले लिन्छ : उपप्रधानमन्त्री पोखरेल

२६ मंसिर, बुटवल । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिंगो लुम्बिनी क्षेत्रको विकासको लागि संघीय सरकारले जिम्मा लिने बताएका छन् ।

तर केन्द्रमा एउटा सरकार छ भन्ने मानसिकताबाट प्रभावित भएर माथि मात्र हेर्न थालिए विकास नहुने उनको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्मित प्रज्ञास्तुपको उद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन समारोहलाई बिहीवार लुम्बिनीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले संविधानमा किटान गरिएका कामहरुमा आधारित भएर प्रदेश सरकार र स्थानीय सरकार काम गर्नुपर्ने बताए ।

उनले कुनै चुनौतीपूर्ण काम भए वा काम गर्दा बाधा आए त्यसमा संघीय सरकार सहयोग गर्न तयार रहेको बताए ।

पर्यटन क्षेत्रको विकासको कुरा गर्दा केवल प्राकृतिक ढंगले निर्मित चिजलाई मात्र देखाउँदैछौं, अहिलेको प्रसंगसित सुहाउने हिसाबले त्यसको निर्माण गर्न सकेका छैनौ, उनले भने ।

हिजो बुद्ध जन्म लुम्बिनीमा भएको प्रसंगबाट मात्र विश्वचर्चित हुन नसकिने भएकोले यसलाई अहिलेको आवश्यकता अनुसार परिमार्जन गरी समृद्धि र विकासतर्फ लैजानुपर्ने उनले बताए ।

विकास गर्ने हो भने गतिका साथ अगाडि बढ्ने कुरामा जोड दिनुपर्छ, आजको आवश्यकतालाई सम्बोधन गर्ने र जनताको जीवनसँग सम्बन्धित भएर अगाडि बढ्नुपर्छ, मन्त्री पोखरेलले भने ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् लुम्बिनी बौद्ध विश्ववद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको भिडमा लुम्बिनी बौद्ध विश्वविद्यालयले छुट्टै पहिचान बनाउन कसरी सक्छ भन्नेबारे सोच्न आवश्यक रहेको बताए ।

उनले झैभगडालाई वैज्ञानिक रुपमा समाधान गर्नुपर्ने बताए । मन्त्री पोखरेलले विश्वविद्यालयलाई सामाजिक विकाससँग जोड्नुपर्ने बताए । अबको अपेक्षा भनेको प्राज्ञिक गरिमाको विकास रहेको उनको भनाइ थियो ।

प्रदेश ५ सरकार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयले छोटो समयमा प्रगति गरेको बताए । उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषलाई प्रदेश र स्थानीय सरकारसँग जोड्नुपर्ने बताए ।

राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रको वस्तीको विकास बिना समग्र लुम्बिनीको विकास हुन नसक्ने दाबी गरे ।

उनले लुम्बिनी क्षेत्रको जनताको माग अनुसार अगाडि बढ्नुपर्ने बताए । भट्टराईले बौद्ध विश्वविद्यालयको उन्नति र प्रगतिको लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी बौद्ध विश्वविद्यालयले विस्तारै बौद्ध संस्कृति अंगाल्दै गएको बताए । उनले लुम्बिनी विकास कोषले बौद्ध विश्वविद्यालयसँग हातेमालो गर्दै आएको बताए ।

प्रदेशसभा सदस्य फकरुद्धिन खाँले कसैको एकल प्रयासबाट मात्रै मुलुकमा परिवर्तन नआएको बताए । उनले अहिलेसम्म सबै भन्दा बढी चुनौती प्रदेश सरकारलाई नै रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले म्यानमारबाट ल्याइएको अस्थिधातु प्रतिस्थापन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment