Comments Add Comment

राजस्व छलीमा विभागले हाल्यो साढे ६ करोड १४ लाखको मुद्दा

२६ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध करिब ६ करोड १४ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

भ्याटका झुटा तथा नक्कली विजकको प्रयोग गर्ने एस एण्ड एस अफसेट प्रेस तथा भन्सार चोरी पैठारी गर्ने विभिन्न व्यक्तिबाट विगो, दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

काभ्रे पोखरीचौर ८ का स्थायी हाल काठमाडौं बस्ने एस एण्ड एस अपसेट प्रेसका प्रोप्राइटर रामशरण गौतमलाई राजस्व चुवाहट गरेको अभियोगमा २ करोड ७९ लाख विगो कायम गरी सोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजाय माग गरिएको छ ।

एस एण्ड एस अफसेट प्रेसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको भनाइ छ ।

उता, नुवाकोट विदूर नगरपालिका, १३ बस्ने सन्तबहादुर ओझासहित ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ७२ लाख बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुदा दर्ता भएको छ ।

बिदूर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका ४ का अभयराज घिमिरेसमेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरेको आरोपमा विभागले मुद्दा दर्ता गरेको छ ।

उनीहरुविरुद्ध १ करोड ७२ लाख राजस्व चुहावट गरेको कसुर लागेको छ । जम्मा विगो र त्यसको दोब्बरसम्म जरिमाना तथा ३ वर्ष कैद माग गर्दै विभागले मुद्दा दर्ता गरेको हो ।

विभागले सोही समूहविरुद्ध दोस्रो राजस्व छलिको आरोपमा १ करोड ६३ लाख विगो दावि गर्दै मुद्दा दर्ता गरेको छ । रन्जिप श्रेष्ठसहित सन्तोष राई, सन्तबहादुर ओझा, कृष्णानन्द भट्ट र निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा ल्याइ नक्कली नम्वर प्लेट लगाएर विक्री वितरण गरेको आरोप लागेको छ । यस मुद्दामा १ करोड ६३ लाख विगो दाबी र ३ वर्ष कैद सजाय माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment