Comments Add Comment

फिरौती नदिएपछि सुतली बम बिष्फोट गराउने गिरोहमा संलग्न ४ जना पक्राउ

२६ मंसिर, वीरगञ्ज । झण्डै तीन महिना अघि बारा कलैया उपमहानगरपालिका-२५ बस्ने मनोज प्रसाद साह तेलीलाई फोन आयो । उनी बारा परवानीपपुर गाँउपालिका-४ स्थित एमएस ईंट्टा उद्योगका सञ्चालक हुन् । नयाँ नम्बर भएपनि व्यापारिक कारोबारकै लागि होला भनी उनले फोन उठाए ।

तर फोन उठाएपछि उताबाट धम्की आउन थाल्यो । फोनमा बोल्ने व्यक्तिले १५ लाख फिरौति नदिए ज्यान मार्ने धम्की दिइरहेका थिए । तर उनले फिरौति रकम दिन अस्वीकार गरे । पटक पटक फोन आइनै रह्यो । उनले फिरौति रकम दिन अस्वीकार गरिरहे ।

अचानक कात्तिक ४ गते उनको ईंट्टा उद्योगमा बम विष्फोट भयो । ‘फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ ।’ भन्ने एसएमएस र फोन धम्की आयो । धम्की सहित फिरौती मागेर हैरान पारेपछि तेलीले प्रहरीलाई खबर गरे ।

मंसिर २५ गते पूनः मनोजलाई फोन आयो । यहाँ आइपुग्दा फिरौती रकम झरेर ३ लाख भइसकेको थियो । ३ लाख लिएर परवानीपुर गाउँपालिका ४ चैनपुर भन्ने ठाउँमा आउन भनी फिरौती माग्नेले बोलायो । इलाका प्रहरी कार्यालय सिमरासँगको समन्वयमा प्रमोद फिरौती रकम बुझाउन जाने भए ।

मुख्य योजनाकार प्रमोद पटके अभियुक्त

फिरौती लिन आएका परवानीपुर गाउँपालिका-४ बस्ने ३१ बर्षीय प्रमोद साह गोढसहित ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो । प्रमोदले नै मनोजलाई फोन धम्की दिएको दाबी प्रहरीको छ । प्रहरीले प्रमोदको साथबाट ३ वटा मोबाइल बरामद गरेको छ ।

मुख्य योजनाकार प्रमोद भन्नेले फिरौती लिन सुरुमा लिन साथीलाई पठाएकोले पछि मात्रै उसलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

‘उनीहरुले मार्दिन्छु भनेर फोन र एसएमएस मार्फत धम्की दिने, फिरौती नदिए सुतली बम पडकाएर तर्साउने गर्दा रहेछन् । ’ प्रहरी उपरीक्षक खनालले भने ‘ प्रमोदको साथबाट ३ वटा मोबाइल बरामद भएको छ, फिरौती रकम माग गर्न फरक–फरक सिम प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।’

विदेशतिरबाट फोन आएको जस्तो अगाडी प्लस सहित लामो नम्बर आउनेगरि उनीहरुले इन्टरनेटबाट फोन गर्ने गरेको उनी बताउँछन् ।

प्रमोद साह गोढ पटके अपराधी रहेको दाबी प्रहरीको छ । उनी हातहतियार तथा खरखजना मुद्धाका अभियुक्त हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २०७३ चैत २८ गते घरेलु नलकटुवा बन्दुक १ थान र त्यसमा लाग्ने ३ राउण्ड सहित उनलाई पक्राउ गरी मुद्धा चलाएको थियो । प्रहरीका अनुसार त्यसपछि अदातलबाट दोषी ठहर भई उनी डेढ वर्ष कैद सजाय भुक्तानी गरेर निस्केका थिए ।

चारै जना विरुद्ध अपराधिक लाभ कसुर मुद्दा दर्ता

प्रमोदसँगै प्रहरीले परवानीपुर–४ कै २० बर्षिय देव शंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० बर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका-३ बस्ने ३९ बर्षीय दिपेन्द्र कुमार धानुकलाई पक्राउ गरेको छ । उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले घटनामा अरुपनि संलग्न भएको आशंकामा अनुसन्धान जारी राखेको छ ।

‘अहिलेसम्मको अनुसन्धानका क्रममा गिरोहमा अरुपनि संलग्न छन् भन्ने हामीलाई लागेको छ । उनीहरुको खोजी भइरहेको छ ।’ प्रहरी उपरीक्षक खनालले भने ।

उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दा चलाइएको छ । बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नारायणी आयल रिफाइनरीबाट २५ हजार फिरौती

यही समूहले बारा प्रसौनी गाउँपालिका ४ बस्ने नेरामाबि प्रसौनीका लेखापाल नन्दकिशोर प्रसाद कुम्हाललाई फोन धम्की दिएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । मोवाइलबाट धम्की दिई उनीहरुले कुम्हालसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती रकम नदिए पछि उनीहरुले ०७६ असोज १० गते कुम्हालको घरमा सुतली बम बिष्फोट गराएका थिए ।

यही समूहले बारा परवानीपुर–४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । फिरौती रकम नदिए पछि २०७६ असोज ०२ गते उद्योगमा सुतली बम बिष्फोट गराएका थिए । उनीहरुले रिफाइनरी उद्योगबाट २५ हजार फिरौती रकम लिन सफल भएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment