Comments Add Comment

बारपाक सडक निर्माण : म्याद सकिन्छ, काम सकिदैन

काम नगर्ने ठेकदारलाई म्याद थप्दै आयोजना

३० मंसिर, गोरखा । गैरजिम्मेवार निर्माण कम्पनीहरुका कारण बाह्र किलो-बारपाक सडक कालोपत्रेको काम अलपत्र छ ।

ठेकदारकै लापरबाहीका कारण गत वर्ष कालोपत्रे भइसक्नुपर्ने उक्त सडकखण्डको प्रगति ७५ प्रतिशतभन्दा बढी छैन । हालसम्म ७ किलोमिटर मात्र कालोपत्रे भएको ११ किलो छेपेटार-भालुस्वाँरा-बारपाक सडक योजना कार्यालय गोरखाले जनाएको छ ।

कूल ४६ किलोमिटरको उक्त सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोपि्रयट फर कन्स्ट्रक्सनलाई छ । मंसिर ३० गते अर्थात आज (सोमबार) म्याद सकिदै छ । तर काम सम्पन्न भएको छैन ।

४० प्रतिशत मात्र काम सकिएको कार्यालयका इन्जिनियर राजेशकुमार यादवले बताए । ‘अहिलेलाई सिर्दिखोलासम्मको दुई किलोमिटर सडकमा नालासहित कालोपत्रे गर्ने ठेक्का हो,’ उनले भने, ‘बाँकी दुई किलोमिटर कालोपत्रेका लागि मन्त्रालयसँग रकम माग गरेका छौ ।’

समयमै काम नसकेको उक्त निर्माण कम्पनीले म्याद थपका लागि मागसमेत गरेको छैन । यो सडकको एक करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो ।

मसानेठाटीदेखि निबेलसम्मको १३ किलोमिटर सडकखण्ड मध्य पहाडी लोकमार्गअन्तरगत पर्ने भएकाले आयोजनाले ठेक्का लगाएको छैन ।

निबेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको छ । गत असार १५ गते म्याद सकिएर ६ महिनाका लागी म्याद थपिएको छ । तर हालसम्म ८५ प्रतिशत मात्र काम सकिएको कार्यालयका इन्जिनियर यादवले बताए ।

अर्कुल बजारदेखि वालुवासम्मको ८ किमी सडक कालोपत्रेको जिम्मा पाएको लोहनी एण्ड ब्रर्दश प्रालिको कामको प्रगति ६० प्रतिशत मात्र छ ।

समयमै काम नगर्ने उक्त कम्पनीलाई आयोजनाले दुईपटक म्याद थप गरिसकेको छ । २०७४ असार ३१ गते पहिलो म्याद सकिएको थियो ।

२०७५ चैत्र ३० गते दोस्रो पटक थपिएको म्याद पनि सकिएको छ । तर काम भएको छैन । तेस्रो पटक म्याद थपको प्रक्रियामा रहेको कार्यालयका इन्जिनियर यादवले बताए । १२ करोड ९ लाखमा उक्त ठेक्का लागेको हो ।

वालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको रसुवा इलाइट सुर्य जेभीको कामको हालत पनि उस्तै छ ।

समयमै काम नगरेपछि २०७५ चैत्र ३० मा म्याद सकियो । तर कामको प्रगति मात्र ५५ प्रतिशत छ ।

म्याद थपको प्रक्रियामा रहेको उक्त निर्माण कम्पनीले काममा लापरवाही गरेबापत ७० हजार जरिमानासमेत बुझाएको छ । ‘काम सक्ने अवधिको आधा समयभित्र आधा काम पूरा गरेन भने माइलस्टोनको जरिमाना लिने प्रावधान छ, त्यही जरिमाना लिएका हौ,’ इन्जिनियर यादवले भने ।

जरिवाना रकम राजश्वमा दाखिलासमेत भइसकेको उनले बताए । ३५ करोड ४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदारको लापरबाहीका कारण बारपाकीको कालोपत्रे सडक सपना यो वर्ष पनि पूरा नहुने निश्चित भएको छ ।
००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment