Comments Add Comment

दुनियाकै सानो अधिराज्य, जहाँ राजाले चलाउँछन् डुङ्गा र रेष्टुरेन्ट

काठमाडौं । तपाईंले दुनियाका ठूला-ठूला साम्राज्यका इतिहास तथा कहानीहरु पढ्नु तथा सुन्नुभएकै होला । इतिहासमा बेलायती साम्राज्य यति विशाल थियो कि त्यहाँ कहिल्यै सूर्य अस्ताउँदैनथ्यो ।

चंगज खाँको साम्राज्यले पनि विश्व भूगोलको ठूलो हिस्सामा आधिपत्य कायम गर्न सफल भएको थियो ।

इतिहासका यी विशाल साम्राज्यहरु आज अस्तित्वमा छैनन् । दुनिया आफ्नो काबुमा पार्ने बादशाहहरु सायदै अब दुनियामा जन्मिएलान् । दुनियामा आफ्नो साम्राज्य फैलाउने तागत अब सायदै कुनै मुलुक तथा शासकको होला । तर मान्छे न हो, दुनियाको बादशाह बन्न नसकेपनि आफ्नै घर तथा टोलको स्वघोषित बादशाह बन्न समेत पछि पर्दैन ।

त्यसैले होला विश्वमा एकजना यस्ता बादशाह छन् जसको राज्यको जम्मा ११ जना मानिस बस्दछन् । नाम मात्रैका ती राजाले नोकर चाकर कजाउने होइन, आफैं डुङ्गा र होटेल चलाएर गुजारा गर्दछन् । अनि कट्टु र चप्पलमा जिन्दगी बिताउँछन् ।

यस्ता राजाले शासन गर्ने उक्त राज्यको नाम किंगडम अफ टाभोलारा हो ।

इटालीको सार्डिनिया प्रान्त नजिक भूमध्य सागरमा एउटा सानो टापु छ । सोही टापुमा ती राजाको राजतन्त्र कायम छ ।

यो टापु राज्य इटाली भन्ने देश अस्तित्वमा आउनु अगाडिबाटै अस्तित्वमा छ ।

टाभोलारा टापुमा फैलिएको उक्त राज्यको क्षेत्रफल पाँच वर्ग किलोमिटर रहेको छ । उक्त टापुका राजाको नाम टोनियो बर्तलिओनी हो ।

उनी राजा हुन्, तर उनको हुलिया तथा रहनसहन पटक्कै राजर्षी छैन । एक राजाको रुपमा उनले पाउने सुविधा भनेको निःशुल्क भोजन मात्रै हो । त्यो पनि उनको आफ्नै रेष्टुरेन्टमा ।

राजा बर्तलिओनीका अनुसार उनका जिजुबाजेका बुवा गुसेप बर्तलिओनी सन् १८०७ मा एकै घरका दुई दिदी बहिनीसँग भागी बिहे गरेर इटालीबाट भाग्दै उक्त टापुमा आएका रहेछन् । त्यस समयमा इटाली छुट्टै देशको रुपमा थिएन, तर सार्डिनिया सुबाचाहिँ एउटा अलग्गै साम्राज्यको रुपमा थियो । त्यहाँ दुई महिलासँग बिहे गर्नु कानून विपरीत थियो । त्यसैले उनी सजायबाट बच्नको लागि उक्त टापुमा गएका रहेछन् ।

उनी सो टापुमा गएर बसोबास गर्न थाले । सो टापुमा सुनौला दाँत भएको प्रजातिको बाख्रा पाइने रहेछ । त्यसका बारेमा सार्डिनियाका राजाले थाहा पाए र बाख्राको सिकार गर्न टाभोलारा टापुमा पुगे ।

सार्डिनियाका राजा बाख्राको सिकार गर्न गएको बेला गुसेपका छोरा पाओलेले राजालाई सहयोग गरे । गुसेपले चाहिँ आफू त्यो टापुको राजा भएको भन्दै सार्डिनियाका राजासँग मित्रता गरे । सार्डिनियाका राजा तीन दिनसम्म सो टापुमा बसेर घर फर्किए ।

सार्डिनिया फर्किएपछि ती राजाले टाभोलारा टापु छुट्टै राज्य भएको घोषणा गरिदिए । त्यसपछि गुसेपका छोरा पाओलेले आफूलाई राजा घोषणा गरे । त्यस बेला त्यो टापुमा ३३ जना बस्दथे ।

रोचक त के भने इटालीका संस्थापक मानिने गुसेप ग्यारीबाल्डीले समेत टाभोलाराका राजासँग शान्ति सम्झौता गरेका थिए । १९ शताब्दीमा बेलायती महारानी भिक्टोरियाले विश्वभरका बादशाहहरुको नाम तथा तस्वीर संकलन गर्ने अभियान चलाउँदा टाभोलाराका राजाको तस्वीर पनि खिचेर बकिंघम दरबारमा राखिएको थियो । त्यो तस्वीर अहिले टोनियो बर्तलिओनीको रेष्टुरेन्टमा झुण्डिरहेको छ ।

विडम्बना, सन् १९६२ मा उक्त टापुमा नेटोको सैनिक अड्डा स्थापना भयो र त्यो सानो साम्राज्यको सम्प्रभुता नामेट भयो । टापुको अधिकांस क्षेत्रमा मानिसहरु प्रवेशमा रोक लगाइयो । तर इटालीले कहिल्यै पनि टाभोलारालाई आफ्नो हिस्सा बनाएको छैन । तथापि टाभोलाराले अहिलेसम्म पनि दुनियाको स्वतन्त्र देशको मान्यता पाएको छैन ।

टाभोलाराका राजा टोनियो र उनका परिवारले इटालीबाट उक्त टापुसम्म चल्ने डुंगा र फेरि चलाउँछन् । त्यहाँ घुम्नका लागि ठूलो संख्यामा पर्यटक आउँछन् । उक्त टापुमा लोपोन्मुख बाख्रा र बाज चरासमेत पाइन्छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment