Comments Add Comment

अब शिवमायाले राजीनामा दिनुहुन्छ : नेकपा

कृष्णबहादुर महराको राजीनामाबारे संसद बेखबर !

शुक्रबार सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशको पहिलो बैठक सञ्चालन गर्दै उपसभामुख शिवमाया तुम्बाहाम्फे । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

४ पुस, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार प्रतिनिधि सभाको पाँचौं अधिवेशनको सुरुवात गरेर इतिहास रचिन् । इतिहास यस अर्थमा कि, नेपालको संसदीय इतिहासमा उपसभामुखले संसद अधिवेशनको सुरुवात गरेको यो नै पहिलो हो ।

संविधानतः सभामुखले अधिवेशनको सुरुवात गर्ने, सभामुख नभए संसदका जेष्ठ सदस्यले अध्यक्षता गर्ने अभ्यास हुँदै आएका थिए । सभामुख कृष्णबहादुर महरा जेल परेपछि उपसभामुख तुम्बाहाम्फेले अधिवेशनको सुरुवात गर्ने अवसर पाएकी हुन् ।

प्रतिनिधिसभा नियमावलीलाई देखाएर कतिपयले उपसभामुखले बैठकको अध्यक्षता गर्न नसक्ने तर्क गरेका थिए । तर, शुक्रबारसम्म आइपुग्दा विपक्षी दलसमेत सत्तापक्षसँग सहमत भयो ।

संविधानको धारा ९१ (४) मा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख छ भने प्रतिनिधिसभा नियमावली २०७५ मा भने संसद बैठकको सुरुवात र अन्त्य सभामुखले गर्ने उल्लेख छ । तथापि, शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले संविधानमै सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख भएको भन्दै उपसभामुखलाई अध्यक्षता गर्न दिने सहमति गरेपछि यो विवादको अन्त्य भयो ।

तर, संसद अधिवेशनको सुरुवात गरे पनि उपसभामुख तुम्बाहाम्फे अधिवेशन अन्त्य हुँदासम्म कुन जिम्मेवारीमा हुनेछिन् कुनै टुङ्गो छैन । हालसम्म उनले सभामुख बन्ने दाबी गर्दै आएकी छिन् ।

सभामुखको चुनावअघि उपसभामुखले राजीनामा दिने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार उपसभामुख तुम्बाहाम्फेले अबको केही दिनमा पदबाट राजीनामा दिनेछिन् ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकमा उपनेता नेम्वाङले सत्तारुढ सांसदहरुलाई यस्तो संकेत गरेका हुन् ।

बाहिरबाट नयाँ सभामुखको खोजी भए पनि प्रतिनधिसभाको बैठकमा सभामुख महराको राजीनामाबारे कुनै जानकारी गराइएन ।

‘सभामुख र उपसभामुख एउटै दलबाट हुन नमिल्ने संविधानको प्रावधान अनुसार सभामुखको निर्वाचनअगावै उपसभामुखको राजीनामा आउँछ, त्यसपछिको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ’ उपनेता नेम्वाङको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेकपा सांसदले अनलाइनखबरसँग भने ।

उपसभामुख आफ्नो हुँदाहुँदै नेकपाले सभामुखमा दाबी गर्न नसक्ने भएकाले शिवमायाले राजीनामा दिनुपर्ने नेम्वाङको भनाइ थियो । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस सभामुख चयन प्रक्रिया एक हप्तापछि

प्रतिनिधिसभाको अर्को बैठक यही पुस ११ गतेका लागि बोलाइएको छ । तर, अहिलेसम्म सभामुख चयन प्रक्रियाको मिति तोकिएको छैन ।

उपसभामुखले राजीनामा दिएपछि प्रतिनिधि सभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । जेष्ठ सदस्यले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका अघि बढाउनेछन् ।

संसद परिसरमा सभामुखको खोजी !

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठकपछि नयाँ वानेश्वरमा पत्रकार र सांसदहरु सभामुख को हुने होला भनेर अड्कलबाजीहरु गरिरहेका थिए ।

अड्कलबाजी गर्नेहरु एकमत देखिन्थे, ‘दुई नेता (ओली र प्रचण्ड) को हातमा छ । एउटा होला भन्यो, अर्कै निर्णय भएर आउन सक्छ ।’

सुवास नेम्वाङलाई पत्रकारले सोधे– सभामुखमा तपाईकै चर्चा छ, के हो माननीयज्यु ? जवाफमा नेम्वाङ मुस्कुराए मात्र ।

बाहिरबाट नयाँ सभामुखको खोजी भए पनि प्रतिनधिसभाको बैठकमा सभामुख महराको राजीनामाबारे कुनै जानकारी गराइएन ।

संसद अधिवेशनको पहिलो बैठकमा तुम्बाहाम्फेले संसद आह्वानसम्बन्धी र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाइन् । त्यसपछि चार जना पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकियो ।

शुक्रबार प्रतिनिधि सभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकले पूर्वसांसदहरु हरि वैरागी, कमलाकुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुङ्गेलको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेका छन् ।

नेकपामा अलमल : सभामुख कसलाई बनाउने ?

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र अनौपचारिक छलफल सुरु भएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ । भेटमा दुई नेताबीच सभामुख कसलाई बनाउने भन्नेबारे कुराकानी भएको बताइएको छ ।

सार्वजनिकरुपमा चर्चा भएअनुसार सभामुखमा पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले रुची देखाएका छन् । उपसभामुख तुम्बाहाम्फेले पनि दाबी गर्दै आएकी छन् ।

पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ । कृष्णबहादुर महरा पूर्वमाओवादीकै तर्फबाट यसअघि सभामुख भएकाले यसपटक पनि सभामुख नछाड्न अध्यक्ष प्रचण्डलाई पूर्वमाओवादी नेताहरुको दबाव छ ।

उपसभामुख कुन पार्टीलाई ?

सभामुख नेकपाले लिने भएपछि उपसभामुख कुन पार्टीलाई दिने भन्ने विषयमा पनि नेकपाका नेताहरु छलफलमा छन् ।

सभामुख नेकपाले लिँदा उपसभामुख आफूहरुले पाउनु स्वाभाविक रहेको प्रमुख प्रतिपक्षी कांग्रेसले बताउँदै आएको छ । तर, नेकपाले समाजवादी र राजपालाई समेत उपसभामुख दिन सक्ने कतिपयले बताएका छन् ।

नेकपाले राष्ट्रिय सभाको निर्वाचनमा राजपासँग तालमेल गरेको प्रसंगलाई जोडेर कतिपयले राजपाले उपसभामुख पाउने अड्कलबाजी गरेका छन् ।

सत्ता साझेदार दल समाजवादी पार्टीलाई पनि दिन सक्ने कतिपयको भनाइ छ । तर, हालसम्म समाजवादी पार्टीले सभामुख र उपसभामुख दुबै पदमा दाबी नगरेको पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।

‘बहुमतप्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले उहाँहरुले जे चाहनुभयो त्यही हुन्छ । त्यसकारण हाम्रो कुनै दाबी छैन’ शुक्रबार संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment