Comments Add Comment

मेट्रो प्रमुख पोखरेलको निर्देशन – संगठनको छवि उकास्ने गरी काम गर्नुस्

८ पुस, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले मातहतका कर्मचारीलाई इमान्दार र प्रतिबद्ध भएर संगठनका लागि काम गर्न निर्देशन दिएका छन् ।

उपत्यकको तीन जिल्ला हेर्ने जिम्मेवारी लिएको मेट्रोमा कार्यभार सम्हालेपछि मंगलबार मातहतका कर्मचारीसँग व्रिफिङ लिँदै उनले संगठनको छवि उकास्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

विफ्रिङमा सहभागी एक प्रहरी निरीक्षकका अनुसार पोखरेलले संगठनलाई सफल बनाउने गरी काम गर्ने व्यक्तिलाई सल्युट गर्ने पनि बताएका थिए ।

‘हाम्रो सबैभन्दा ठूलो साथी कानून हुनुपर्छ’, पोखरेलको भनाइ उदृत गर्दै उनले भने, ‘अहिले प्रहरीमा अनुशासन खस्किएको छ । कमाण्डर आफू इमान्दार भएर मात्रै पनि हुँदैन मातहतका सबैलाई इमान्दार बनाउनुपर्छ ।’

पोखरेलले उपत्यकाको पुलिसिङले सिंगो प्रहरी संगठनको प्रतिनिधित्व गर्ने बताउँदै भने, ‘हामीले कानूनी निर्दयीता अपनाउन जरुरी छ । तपाईंहरु जोकोहीबाट कुनै कमिकमजोरी भए निर्दयीतापूर्वक कारबाही हुन्छ ।’

उनले पछिल्लो समय प्रहरीको छवि सुधारिँदै गएको पनि बताए । साथै, बढिरहेको सवारी दुर्घटना, आर्थिक अपराध, चोरी, लागूऔषध लगायतका अपराध घटाउन ध्यान दिन पनि उनले निर्देशन दिए ।

पोखरेलले उपत्यकाको चौकी तहसम्मको समस्या पहिचान गरेर समाधानको योजना तयार पारेर काम गर्ने योजना रहेको पनि बताएका छन् ।

पोखरेलले एसएसपी हुँदा काठमाडौं प्रहरी परिसर, टेकुको नेतृत्व सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment