Comments Add Comment

शिवरामले जिते ४५ औं करियर गल्फ उपाधि

११ पुस, काठमाडौं । शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०१९–२० सिजनअन्तर्गत भएको पहिलो प्रतियोगितामा श्रेष्ठले उपाधि जितेका हुन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार यसै प्रतियोगितामार्फत प्रो बनेका शुक्रबहादुर राईलाई १५ स्ट्रोकले पराजित गर्दै च्याम्पियन बनेका शिवरामले करियरको ४५ औं उपाधि जितेका आयोजकले जनाएका छन् ।

अन्तिम दिन ४ अन्डर ६८ स्कोर गरेका शिवरामले चारदिने प्रतियोगितामा कुल १४ अन्डर २ सय ७४ स्कोर गरे । यस्तै, दोस्रो भएका शुक्रबहादुर राईले अन्तिम दिन २ अन्डर ७० को स्कोर गर्दै कुल १ ओभर २८९ स्कोर गरे ।

४५औं करियर उपाधिसँगै शिवराम नगद १ लाख २५ हजारबाट पुरस्कृत भएका छन् । शुक्रले ८० हजार प्राप्त गरे ।

३ ओभर २९१ स्कोरसहित तेस्रो भएका रवि खड्काले ५८ हजार प्राप्त गरेका छन् ।

नेपाल नम्बर १ प्रो भुवन नगरकोटीले भने ८ ओभर २९६ स्कोरसाथ पाँचौ स्थानमा प्रतियोगिता सकाए । उनले अन्तिम दिन ५ ओभर ७७ स्कोर गरे ।

यस्तै १३ औं सागमा दुई स्वर्ण जितेका सुवास तामाङले एमाच्योरतर्फको उपाधि जिते । उनले कुल १४ ओभर ३०२ स्कफर गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजिए) ले आयोजना तथा सूर्य नेपालको प्रायोजनमा भएको सिजनको पहिलो प्रतियोगितामा ४३ प्रो र ४ एमाच्योरहसित कूल ४७ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment