+
+

सोल्टी होटलमा जब आशा भोस्ले गुञ्जिइन्…

भन्छिन्–‘नेपालको जस्तो स्वागत अन्त पाइनँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १२:१०

शनिबार साँझ काठमाण्डौको पाँच तारे होटल सोल्टी संगीतमय बन्यो । ‘अ म्युजिक जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रमले सोल्टीलाई संगीतमय बनाएको थियो । संगीतकार रंजित गजमेरको सम्मानको लागि यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण गायिका आशा भोस्ले थिइन् । कार्यक्रमको अन्त्यतिर माइक हातमा लिएर स्टेज चढेकी आशाले भनिन्–‘मलाई एअरपोर्टबाट नै भव्य स्वागत गर्नुभयो । यस्तो स्वागत मैले अन्य देशमा पाएको छैन । यहाँको संस्कृतिले मन जित्यो ।’ भोस्लेले अगाडि भनिन्–‘म नेपाललाई निकै माया गर्छु । तर, मलाई नेपाली बोल्न भने आउँदैन ।’

उनले आफूलाई नेपाल बोलाएकोमा आयोजकलाई धन्यवाद भनिन् । हस्यौली शैलीमा उनले भनिन्–‘मलाई नेपाल बोलाउन अली छिटो गर्नुभयो । अझै ४ वर्ष कुर्नुभएको भए त म माथि गइसक्थेँ । अहिले म ८७ वर्षको भइसकेँ ।’ नेपाली दर्शक र श्रोताले देखाउनु भएको मायाका कारण आफू यहाँ आउन पाएकोमा उनले खुसी व्यक्त गरिन ।

आशाले नेपाली संगीत र वाध्यवाधकको पनि प्रशंसा गर्न भ्याइन् । उनले भनिन्–‘मलाई लाग्थ्यो हिन्दुस्थानको जस्तो वाध्यवाधक अन्त हुन्न होला । तर, त्यो कुरालाई यहाँका वाध्यवाधकले मिथ्या सावित गरिदिनु भएको छ । नेपालको बाध्यवाधक ‘ए क्लास’को छ ।’

यत्ती भनेपछि उनले ‘झरी बनइी आएछ सावन बोलको गीत गाइन् । आशाको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत थियो । कार्यक्रममा उनले ‘किन बढ्दैछ ढुकढुकी मेरो, डाँडा खोला, आगे आगे तोपैको गोला’ लगायतका गीतहरु सुनाइन् ।

आशाले गायक रामकृष्ण ढकालसँग पनि प्रस्तुति दिइन् । आशा र रामकृष्णले ‘मोहनी लाग्ला है’ बोलको गीतमा एकसाथ प्रस्तुति दिएका थिए । उमेरले ९ दशक नजिक पुगिसकेकी आशाको स्वरमा मिठास भने उस्तै छ ।

रंजित गजमेरले आफ्नो करिअरमा संगीतबद्ध गरेका गीतहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । रंजितसँगँ काम गरेका प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, मिलन सिंह खाती, इन्द्रजित मिजार, भारती गजमेर, मिलन सोताङ लगायतका गायक(गायिकाले प्रस्तुति दिएका थिए । कतिपय गीत भने नयाँ पुस्ताका गायक(गायिकाले प्रस्तुत गरे ।

 

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?