Comments Add Comment

हराएको तीन वर्षपछि भारतीय महिलाको पारिवारिक पुनर्मिलन

१५ पुस, वीरगञ्ज । हराएको तीन वर्षपछि एक भारतीय महिलाको पारिवारिक पुनर्मिलन भएको छ ।

मानवसेवा आश्रम वीरगञ्ज शाखाले भारतको बिहार सिक्टा सिर्सिया नजिकै घर भएकी मीनादेवी साहको पारिवारिक पुनर्मिलन गराएको हो ।

प्रहरीले उनलाई मंसिर २२ गते राति १० बजेतिर ठाकुरराम बहुमुखी क्याम्पस क्षेत्रमा फेला पारेर मानव आश्रमको जिम्मा लगाएको थियो । झण्डै १६ वर्षअघि श्रीमान वैद्यनाथ साहको मृत्युपछि मिनादेवीको मानसिक अवस्था कमजोर बनेको थियो ।

मीनादेवी हराएपछि प्रहरीमा निवेदन दिए पनि खोजतलासमा खासै ध्यान नदिएको पाइएको मानव सेवा आश्रम वीरगञ्ज शाखाका देवेश गुप्ताले जानकारी दिए ।

सामाजिक अभियन्ता एवं आश्रमका संरक्षक प्रकाश थारुका अनुसार मीनादेवीसँग सोधपुछ गर्दा सिर्सिया घर र श्रीमान वैधनाथ साह रहेको बताएकी थिइन् । त्यसैको आधारमा परिवारको खोजी शुरु गरिएको थियो ।

‘सोधपुछ गर्दा सिर्सिया घर बताइन्, वैधनाथ साह श्रीमानको नाम भनिन्’ थारुले भने, ‘पछि बिहार सिक्टास्थित सिर्सियामा खोजतलास गर्दा संयोगवश उनको श्रीमानको दाइको छोरा भेटिए । त्यसपछि पारिवारिक पुनर्मिलनको प्रक्रिया शुरु गरेका हौं ।’

श्रीमानको मृत्युपछि मीनादेवीका दाजु प्रेमचन्दले अंशबण्डा गराएर बहिनी र भाञ्जीलाई आफ्नै संरक्षणमा राखेका थिए ।

रामगढवा थानासँग समन्वय गरेर घर पत्ता लगाउँदा घरमा कोही नभेटिएपछि थाना प्रमुखको रोहबरमा भतिज दीपेन्द्रको जिम्मा लगाएर मोतिहारी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment