Comments Add Comment

च्यासलको खराब फर्म, प्रशिक्षक भन्छन्- खेलाडी अल्छी भए

१५ पुस, काठमाडौं । राष्ट्रिय टिमका पूर्व फरवार्ड सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासलले यस सिजन शहीद स्मारक लिगमा उत्कृष्ट सुरुवात गरेको थियो । साविक उपविजेता संकटा क्लबलाई २-० ले पराजित गरेपछि च्यासल क्लब र खेलाडीको मनोबल नै उच्च बनेको थियो ।

जापानमा फुटबल खेल्दै काम गर्दै आएका सन्तोष यसै लिगका लागि भनेर नेपाल फर्किएका हुन् । उनले गत सिजन पनि च्यासलबाटै खेलेका थिए । यस सिजन कप्तानसहितको जिम्मेवारीमा उनी छन् । पहिलो खेलमा उनै सन्तोषले संकटाविरुद्ध दुवै गोल गरे ।

दोस्रो खेलमा च्यासलले यस सिजन स्टार खेलाडीहरु भित्र्याउँदै लिगको उपाधि दाबेदारी पेश गरिरहेको मछिन्द्र क्लबसँग १-१ को बराबरी खेल्यो । यो खेलमा पनि सन्तोषकै गोलमार्फत च्यासलले अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा अंक बाँड्नुपर्‍यो । त्यसयता च्यासलले दुई खेल खेलिसकेको छ । तर लिगमा चार खेल खेलिसक्कदा च्यासल तीन खेल यता जितविहीन छ भने पछिल्लो दुई खेलमा हार बेहोरेको छ ।

एनआरटी विरोधको खेल २-१ ले गुमाएको च्यासलले मंगलबार जावालखेल युथ क्लब विरुद्ध २-० को हार बेहोर्‍यो । एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा अन्तिम १० मिनेटभित्र दुई गोल खाएपछि च्यासल पराजित भएको हो । पहिलो खेल जितेपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले लिग जित्ने लक्ष्यका साथ खेल्ने बताएका थिए । संकटालाई हराएकोले त्यो बोली ठिकै पनि थियो । दोस्रो खेल बराबरी भएपछि च्यासललाई केही धक्का लाग्यो ।

तर तेस्रो खेल हारेपछि च्यासलका प्रशिक्षकले लिग जित्न अब आफ्नो खेल जित्नुपर्ने अनि अरुको खेलको नतिजामा समेत भर पर्नुपर्ने बताएका थिए । तर लगत्तै अर्को खेलपनि हारेपछि अब उनी कसरी पुनरागमन गर्ने भन्नेमा चिन्तित छन् ।

गत सिजन पनि च्यासलले यस्तै नियति भोगेको थियो । चार खेलबाट एक जित र एक बराबरी गरी च्यासलको जम्मा ४ अंक मात्र छ । चार खेलबाट १० अंकसहित साविक विजेता मनाङ मर्‍याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ ।

जावलाखेल विरुद्ध २-० ले पराजित भएपछि निराश देखिएका च्यासलका प्रशिक्षक बालगोपालले खेलाडीहरुले खेल्नै नसकेको बताए ।

‘आज खेल राम्रो हुन सकेन । खेलाडीले खेल्न सकेनन् । मिस पासहरु भयो । विपक्षीले प्रेसर दिँदा खेलाडीले खेल्न सकेनन्,’ बालगोपालले भने ।

जावलाखेलसँग नै हारेपछि अब झन् प्रेसर पर्ने उनको भनाइ थियो । ‘अब आउने गेममा झन् प्रेसरमा खेल्नुपर्छ । यस हारपछि मलाई पनि प्रेसर परेको छ । खेलाडीहरु अल्छी भएको जस्तो भा’छ,’ बालगोपालले भने ।

च्यासलमा सन्तोष साहुखलासहित राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल, हेमन्त थापा मगर छन् भने यु २३ टोलीका नितिन थापा छिरिङ गुरुङ जस्ता खेलाडी छन् । यस्तै गत सिजन थ्री स्टारबाट खेलेका एलन न्यौपाने गोलकिपरमा छन् । लिगकै लागि भनेर च्यासलले तीन जापानिज खेलाडी समेत ल्याएको थियो । मंगलबार जावलाखेलविरुद्ध २ जना मात्र जापानी खेलाडी मात्र खेले । तेस्रो खेलाडी पनि व्यक्तिगत कारणले जापान फर्किसकेको प्रशिक्षक बालगोपालले जानकारी दिए । च्यासलले विदेशी कोटा अन्तर्गत दक्षिण एसियाली क्षेत्रको खेलाडी भने अनुबन्ध गरेको छैन ।

प्रशिक्षक बालगोपालले रणनीति परिवर्तन गर्न खेलाडीको पोजिसन समेत चेन्ज गरेका थिए । तर उनी त्यसमा सफल हुन सकेनन् ।

उता यस सिजनको दोस्रो जित र अपराजित यात्रा कामय राख्न सफल भएकोमा जावलाखेलका प्रशिक्षक नरेश थापा भने दंग थिए ।

‘हामीले यत्तिको अपेक्षा गरेका थिएनौं, तर खेलाडीले राम्रो खेले,’ थापाले भने । उनले च्यासलका कप्तान तथा फरवार्ड सन्तोषलाई मार्क गर्न एक जना डिफेण्डर खटाएको र त्यसमा सफल भएको बताए ।

उनले च्यासलविरुद्ध ३ अंक जोडेपछि आगामी खलेमा अझै राम्रो गर्ने आशा रहेको सुनाए । साथै जावलाखेलको लक्ष्य सुरुदेखि नै टप सिक्स भएकोले अहिले त्यसैमा बढी ध्यान केन्द्रित भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment