Comments Add Comment

यस्तो देश, जहाँका मानिसले साङ्लाको सर्वत पिउँछन्

सायद साङ्ला भन्ने बित्तिकै सबैलाई दिक्क लाग्दछ । किनकी साङ्लाले घरभित्र निकै दु:ख दिएको अनुभव हामीलाई छ । तर चिनियाहरुका लागि भने यहीँ साङ्ला कमाइको श्रोतको रुपमा रहेको छ ।

सम्भावित औषधीय गुणका कारण चीनका विभिन्न उद्योगका लागि साङ्ला निकै महत्वपूर्ण कच्चा पदार्थ बनेको छ ।

चीन लगायतका विभिन्न देशमा साङ्लालाई भुटेर, पिँधेर त्यसको धुलोको सर्वत बनाएर खाने गरिन्छ । सोही कारण अहिले त्यहाँ साङ्लाको व्यवसायिक उत्पादन समेत गर्ने गरिएको छ ।

चीनको सीचांग सहरस्थित एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन गर्दछ । साउथ चाइना मर्निङ पोष्टका अनुसार एक ठूलो भवमा साङ्ला पालन गरिएको छ । उक्त भवन झण्डै दुईवटा खेल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । दराजका तख्ताजस्तै बनाएर त्यसमा साङ्ला पालन गरिएको छ । साङ्लाका लागि खाना तथा पानीको राम्रो बन्दोबस्त गरिन्छ । भित्र अँध्यारो बनाइएको छ र उचित तापक्रम र आर्द्रता कायम गरिएको छ । घरभित्र साङ्लाका लागि घुम्ने र प्रजनन गर्नका लागि स्वतन्त्र रुपमा विचरण गर्ने स्वतन्त्रता छ । साङ्लालाई सूर्यको प्रकाशबाट टाढा राखिएको छ । साङ्लाहरुलाई घर बाहिर निस्कन दिइँदैन ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट साङ्लाको निगरानी गर्ने गरिएको छ । यसबाट भवन भित्रको तापक्रम, खानाको उपलब्धता तथा आर्द्रताको उपयुक्तता मिलाइएको छ ।

त्यहाँबाट ठूलो परिमाणमा वयस्क साङ्लाहरुलाई समय समयमा निकाल्ने गरिन्छ र बच्चा साङ्लाहरुलाई हुर्कन दिइन्छ । बाहिर निकालिएका साङ्लाहरुलाई भुटेर पिँध्ने गरिन्छ । साङ्लाको धुलोलाई परम्परागत औषधिको रुपमा सर्वतमा मिलाएर खाने गरिन्छ । खासगरी उल्टी हुने, वाकवाकी लाग्ने, पेटको अल्सर तथा स्वासको समस्या लगायतका रोगमा साङ्लाको सर्वत खाने गरिन्छ ।

विज्ञका अनुसार चीनमा बढ्दो बुढोपनासँगै विभिन्न घरेलु औषधिहरुको प्रयोग तथा अन्वेषण पनि बढिरहेको छ । औषधिका लागि साङ्लाको पालन चीनमा सरकारी योजनाकै हिस्साको रुपमा रहेको छ ।

तर हरेक खालका रोग तथा हरेकजना मानिसमा औषधिको रुपमा साङ्लाको प्रयोग उपयुक्त नहुने कतिपय चिनिया विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार साङ्लाजस्ता किराहरुको करोडौँको संख्यामा एकैठाउँमा हुर्काउनु निकै खतरनाक हुने र कथम् कदाचित भुकम्प वा मानवीय गल्तीका कारण त्यसरी पालिएका करोडौँ साङ्लाहरु एकसाथ बाहिर निस्किएमा त्यसले ठूलो समस्या सिर्जना गर्ने उनीहरुको तर्क छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment