Comments Add Comment

उत्पादन लागत बढ्यो, उखुको मूल्य बढेन

१६ पुस, सर्लाही । ‘डिजेलको मूल्य एक बर्ष अघिकै छ ? मलखाद्यको भाउ उही हो ? ज्यालाको दर गत बर्षकै छ ? पक्कै छैन । तर हामीले दुःख गरेर उब्जाएको उखुको मूल्य किन पोहोर सालकै ?’

सर्लाहीको हरिवन नगरपालिका– ७ घुर्कौलीका ५८ बर्षीय किसान हरिदेव महतोको प्रश्न हो यो । सरकारले उखुको लागि गत वर्षकै मूल्य निर्धारण गरेपछि हरिदेव जस्ता किसानहरु रन्थनिएका छन् ।

हरेक वस्तुको मुल्य उत्पादन लागतको आधारमा निर्धारण हुन्छ । उत्पादन लागतमा नाफा समेत जोडेर वस्तु बेचिन्छ । उद्योगीले चिनी उत्पादन गरेपछि त्यसरी नै मूल्य निर्धारण गर्ने हुन् ।

नेपाल राष्ट्र बैंकले मंसिरमा सार्वजनिक गरेको तथ्याङ्कले गत वर्षको तुलनामा यस वर्ष वस्तु तथा सेवाको मुल्य ६ दशमलव ४४ प्रतिशतले बढेको देखाएको छ । तर सरकारले भने उखु उत्पादनको लागतलाई वेवास्ता गरेर पुरानै मुल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ ।

‘उखुमा लाग्ने मलखाद्य, मजदुरको ज्याला, डिजल, ढुवानी खर्च सबै बढेको छ’, हरिवन नगरपालिका–७ घुर्कौलीकै किसान जोगेन्द्र महतो भन्छन्, ‘तर उखुको मात्र मूल्य अघिल्लो वर्षकै किन ?’

उनकाअनुसार उखु बाली लगाउनुअघि खेत जोत्नेदेखि उखु काट्नेसम्मका काममा हरेक बर्ष लगानी बढ्छ ।

ट्याक्टरधनीहरुले खेत जोत्दा डिजेलको भाउ र ड्राईभरको तलव बढेको भन्दै बर्षैपिच्छे रकम बढाएर लिन्छन् । उखु गोडमेल गर्ने र काट्ने मजदूरहरुको ज्याला पनि बढेकै छ । उखु गोड्दा गत बर्ष मजदूरलाई रु. ३५० का दरले दिएकोमा यसपाली ४५० सम्म तिर्नु पर्‍यो ।

कटानमा पनि गत वर्ष प्रति क्वीन्टल ७० का दरले तिरेकोमा यसपाली मजदुरले ८० देखि १०० रुपैयाँसम्म मागिरहेको महतोले बताए । ‘हर साल हर चिजको मूल्य बढिरहेको सरकारलाई थाहै छ’, उनले भने ‘तर उखुको मूल्य भने पोहोरकै किन तोकियो बुझ्न सकिएन ।’

डिजेलको भाउ बढाएको सरकारले उखुको मूल्यचाहिँ पुरानै कायम गरेर किसानमाथि ज्यादती गरिरहेको अर्का उखु कृषक रामचरित्र सिंहले बताए । उनले भने, ‘सरकारले हामीलाई यसरी नै बाँच्न बाध्य बनाइरहेको छ ।’

सरकारले निर्धारण गरेको प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसामध्ये चिनी उद्योगले ४७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान स्वरुप ६५ रुपैयाँ २८ पैसा दिने तय भएको छ । तर दुबैतिर भुक्तानी लिन सहज छैन । किसानले अनुदान रकमका लागि सरकार र उद्योगी दुवैसँग लड्नुपरेको छ । किसानले गत बर्षको अनुदान पनि पाएका छैनन् ।

मलमा चार गुणासम्म बढी मूल्य

उखु उत्पादन गर्ने क्रममा किसानलाई प्रत्येक बर्ष महँगो लगानी गर्नु परेको छ । मलमा त चार गुणासम्म बढी तिर्नुपरेको अवस्था छ । यो वर्ष पाँच हजार बोरा मलको माग भएको ठाउँमा दुईहजार बोरा मात्रै आएपछि बढी तिरेर किन्न बाध्य भएको कृषकहरु बताउँछन् ।

‘चाहिएको बेला मल नपाएर खेती गर्न गाह्रो हुन्छ’, अर्का किसान जगन्नाथ भगत कुशवाहा भन्छन्, ‘यो वर्ष पाँच हजार बोरा मलको माग हुँदा सरकारी अनुदानको दुई हजार बोरा मात्र आएपछि भारतको सोनवर्षाबाट एक–एक बोरा गरेर ल्याउनु पर्यो ।”

७०० पर्ने एक बोरा मललाई चार गुणासम्म बढी तिर्नु परेको र एक–एक बोरा गरेर भारतबाट ल्याउँदा भारतीय मात्र नभई आफ्नै देशका सुरक्षाकर्मीले समेत दुःख दिने गरेको उनले बताए ।

‘तीन बर्ष पुरानै मूल्य तोकेर किसानलाई हेपियोे’

कपिलमुनी मैनाली, अध्यक्ष, उखु उत्पादक किसान महासंघ

सरकारले २०७४ सालका लागि तोकिएको उखुको मूल्य नै यस पटक पनि कायम गरेको छ । त्यती बेला चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ थियो । पहिला चिनी आयतमा १५ प्रतिशत भन्सार थियो, अहिले ४० प्रतिशत पुगेको छ । कटानी, ढुवानीमा १० प्रतिशत मुल्य वृद्धि भएको छ ।

उखुको मुल्य भने तीन वर्ष अघिकै कायम गरिरहेको छ । यसरी सरकार किसानको ढाड सेक्न उद्धत देखिएको छ ।

सरकारले उखु किसानसँग छलफल गरेर मूल्य तोकेको भनेको छ, तर म उखु उत्पादक महासंघको अध्यक्षलाई नै त्यसबारे कुनै जानकारी छैन । अरुसँग छलफल भयो कि भनेर विभिन्न ठाउँका किसानसँग सम्पर्क गर्दा कहीँकतैका किसानसँग छलफल गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment