Comments Add Comment

यस्ता छन् रामेछापका स्थानीय सरकारका भ्रमण वर्षका योजना

शैलुङ क्षेत्र ।

१७ पुस, रामेछाप । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रामेछापका स्थानीय सरकारले विभिन्न कार्यक्रम र योजना अघि सारेका छन् ।

स्थानीय सरकारहरुले आ-आफ्ना स्थानका धार्मिक, ऐतिहासिक तथा रमणीय प्राकृतिकस्थलदेखि कला संस्कृति र खाद्य परिकारलाई समेत पर्यटन वर्षसँग जोडेर प्रचार सुरु गरेका छन् ।

वर्षको पहिलो दिन जिल्लाका सबै पालिकाहरुले आ-आफ्नो स्थानका कला, संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन गरेका छन् ।

यसैगरी धार्मिक ऐतिहासिक र पर्यटकीय स्थानकाको समेत बिभिन्न खालका परिचायत्मक कार्यक्रमहरु गरेका छन् ।

मन्थली नगरपालिकाले सदरमुकाम मन्थलीमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरेको थियो । यसैगरी खाँडादेवी गाउँपालिकाले पनि विभिन्न झाँकीसहित पालिकाभित्रका पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।

गोकुलगंगा र उमाकुण्ड गाउँपालिका क्षेत्र ।

मन्थली नगरपालिकाले भ्रमण वर्षको लागि विभिन्न जातजातिको झाँकीलाई प्राथमिकतामा राखेको छ । यसैगरी पालिकाभित्रका धार्मिकस्थलहरु बुढामहादेवलगायतका मन्दिर र तामाकोसी तथा सुनकोसी किनारको यात्रालाई मन्थलीले प्राथमिकतामा राखेको छ ।

खाँडादेवी गाउँपालिकाले स्थानीय संंस्कार र साँस्कृतिक प्रदर्शनका साथै ऐतिहासिक तथा धार्मिक खाँडादेवी मन्दिर, नर्वदेश्वर महादेव, अग्लेश्वरी, तामाखानी निकालिएका प्राचिन सुरुङहरुलाई प्राथमिकतामा राखेको पालिका उपाध्यक्ष मखमली श्रेष्ठले बताइन् ।

पर्यटकीय स्थल, आलुलगायतका कृषि उत्पादन र जडिबुटीको भण्डारको रुपमा रहेका गोकुलगंगा र उमाकुण्डले जटापोखरी, पाँचपोखरी, नुम्बुर हिमाल, तामेलगायतका फलामखानीका क्षेत्रहरु लगायतलाई प्राथमिकतामा राखेका छन् ।

प्राकृृतिक मनोरञ्जनका साथै चौँरी र चाैँरीका परिकार आफ्नो क्षेत्रका आकर्षण रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार बताउँछन् ।

नुम्बुर हिमालदेखि प्राकृतिक गुम्बालगायतका क्षेत्रहरु आफ्नो क्षेत्रका पर्यटकीय आकर्षकका स्थान रहेको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर तामाङले बताए । जिल्लाभित्रकै मासिहरुलाई पनि महत्वपूर्ण भ्रमणस्थल आफ्नो गाउँपालिका हुने उनले बताए ।

ऐतिहासिक शैलुङ क्षेत्रसमेत समेटिएको दोरम्बा गाउँपालिकामा शेर्पा संस्कृतिदेखि युद्धपर्यटन क्षेत्रको रुपमा रहेको दोरम्बालगायतको क्षेत्र रहेको सो गाउँपालिका अध्यक्ष कमानसिँह मोक्तान बताउँछन् । तिनै क्षेत्रको बारेमा प्रचार प्रशार गरि पर्यटक भित्र्याउने योजनामा सो पालिका छ ।

जटा पोखरी ।

विभिन्न समुदायको संस्कृति सुनापति डाँडो र सुनकोसी गरतिर क्षेत्रको संस्कार संस्कृति देखाएर पर्यटकहरु भित्रयाउने योजनामा जिल्लाको सुनापति गाउँपालिका रहेको छ ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिका भने रामेछाप बजारको ऐतिहासिकता, भालुखोप डाँडादेखि रामेछाप जिल्लाकै सबैभन्दा होचोठाउँ कोलञ्जोर घाटलाई पर्यटकीय गन्तव्यको स्थल बनाउने गरी पर्यटन वर्ष मनाउन लागेको छ ।

रामेछाप जिल्लाभित्र पर्यटकहरु ल्याउन सकिने धेरै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थान, संस्कार, संस्कृति र सभ्यता भएको भुगोलविद एवं पूण्र्वसांसद देवशंकर पौडेल बताउँछन् ।

रामेछापको सभ्यता, संस्कार र संस्कृतिको एक छेउ पनि उठान नसकिएको उनको भनाइ छ । पर्यटन वर्षको अवसरमा यी कुरालाई उठाउनु पर्ने उनी बताउँछन् ।

जलविद्युत आयोजनाहरु हवको रुपमा रहेको लिखु तामाकोसी गाउँपालिका भने आन्तरिक विवादको कारण कार्यक्रम विहीन छ ।

यो पालिकाले भ्रमण वर्षको मात्र हैन यस वर्षको नीति तथा कार्यक्रम नै ल्याउन सकेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिनसम्म पनि लिखु तामाकोसीले नीति कार्यक्रम नै ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment