Comments Add Comment

सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

१७ पुस, बुटवल । प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।

कपिलवस्तु –३ बाट निर्वाचित सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन् ।

शाहविरुद्ध मुद्दा दर्ता भएको तर अदालतबाट पक्राउको अनुमति लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले बताए । ‘आज कार्यालय बन्द भइसकेकाले भोलि (शुक्रबार) अदालतको अनुमति लिन जान्छौं, अदालतले अनुमति दिए पक्राउ गरेर अनुसन्धान गर्छौं’ डीएसपी मल्लले भने, ‘अदालतले अनुमति नदिई पक्राउ गर्न मिल्दैन ।’

सांसद शाहले गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएको मिश्राले यसअघि सञ्चारमाध्यमसंग दावी गरेका थिए । घरमा बोलाएर सांसद शाहले गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुंघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ । बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।

बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् । गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका मिश्रा दोस्रो स्थानमा आएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment