Comments Add Comment

आच्छु…जाडो !

१८ पुस, काठमाडौं । वर्षा र हिमपातका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेपछि काठमाडौंका बिभिन्न स्थानमा मानिसहरु आगो तापेर बसेका छन् ।

हिमाली र उच्च पहाडी भागमा बिहीबारदेखि नै हिउँ परिरहेको छ । काठमाडौं उपत्यका नजिकका अग्ला डाँडाहरुमा पनि हिउँ परेपछि चिसो झन् बढेको महसुस भएको छ । यद्यपि बिहान ८ः४५ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौंमा घाम लाग्ने सम्भावना नरहेको मौसमविद प्रतिभा मानन्धरले बताइन् ।

धेरैजसो जिल्लाहरुमा गएरातिदेखि नै पानी परिरहेको छ । पहाडी र हिमाली जिल्लाहरुमा वर्षा र हिमपातका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान हुन सकेको छैन । कतिपय तराईकै जिल्लाहरुमा पनि हवाई उडान प्रभावित भएको छ । हिमपातले बालीनालीलाई फाइदा हुने भए पनि दैनिक कामकाज नै प्रभावित हुँदा मानिसहरु समस्यामा परेका छन् ।

चिसोबाट बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु प्रभावित भएका छन् । धेरैजसो घरबाहिर निस्किन सकेका छैनन् । घरमै रहेकाहरु एसी, हिटर वा कोइलाको सहयोगमा कोठा न्यानो बनाएर बसेका छन् । जरुरी काम परेर घरबाहिर निस्किएकाहरु चिया पसलमा भेटिन्छन् ।

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद बताउँछन् । यस्तो अवस्था शनिबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद मानन्धरले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment