Comments Add Comment

३४ विमानस्थल कालोपत्र, २१ वटाको धुले मैदान

१८ पुस, काठमाडौँ । मुलुकमा सञ्चालित कूल ५५ विमानस्थलमध्ये ३४ विमानस्थलको कालोपत्र गरिएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले साना ठूला गरी ३४ विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न गरिएको जनाएको हो ।

प्राधिकरणको २१औँ वार्षिकोत्सवका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनअनुरुप साना आन्तरिक विमानस्थल डोटी, साँफेबगर, डोल्पा (जुफाल), लामिडाँडा, थामखर्क, विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्गको कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ भने वैतडी, बझाङ, इलाम, गुल्मी रेसुङ्गा र कालीकोटमा कालोपत्र गर्ने कार्य जारी रहेको छ ।

लुक्ला र सिमिकोटमा बढ्दो पर्यटकीय गतिविधिका कारण हेलिकोप्टर उडान चापलाई दृष्टिगत गरी ठूला हेलिप्याडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जोमसोम र जुम्ला विमानस्थलको ओभरले सम्पन्न गरिएको छ ।

ठूला आन्तरिक विमानस्थल विराटनगर विमानस्थलको धावनमार्ग तथा ट्याक्सीमार्गमा ओभरलेको कार्य, एप्रोन र टया्क्सी मार्ग विस्तारको कार्य सम्पन्न भएको छ ।

नेपालगञ्ज विमानस्थमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले कार्य सम्पन्न भएको छ भने ६ वटा आन्तरिक वायुयान क्षमताको एप्रोन विस्तार कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा धावनमार्ग तथा ट्याक्सी मार्गमा ओभरले गर्ने कार्य सम्पन्न भएको छ ।

पोखरा पुरानो विमानस्थलको धावनमार्ग, एप्रोन तथा ट्याक्सी मार्गको स्तरोन्नति गरिएको छ । यसैगरी चन्द्रगढी, जनकपुर, भरतपुर तथा धनगढी विमानस्थलमा ‘फायर पाइटिङ भेहिकल’ का साथ उद्धार तथा अग्नि निवारण सेवा उपलब्ध गराइएको छ ।

राजविराज विमानस्थलको धावनमार्ग एप्रोन तथा ट्याक्सी मार्ग ओभरले कार्य सम्पन्न भई नयाँ टर्मिनल भवन पनि निमार्ण गरिएको छ ।

ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । सोहीअनुरुप चन्द्रगढी, विराटनगर, राजविराज, नेपालगञ्ज तथा धनगढी विमानस्लको गुरुयोजना तयार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment