Comments Add Comment

गोरखामा अहिंसा शताब्दी महोत्सव गरिँदै

१८ पुस, काठमाडौं । उत्तरी गोरखाको चुम उपत्यका अहिंसा क्षेत्र घोषणा भएको एक शताब्दी पुगेको अवसरमा अहिंसा महोत्सव गरिने भएको छ ।

विसं १९७७ सालदेखि काटमार निषेध गरिएको गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका २०७७ वैशाख ५ देखि ८ गतेसम्म अहिंसा महोत्सव गर्न लागिएको हो ।

महोत्सव आयोजनाका लागि चुम उपत्यका साँस्कृतिक अहिंसा (श्याग्या) शताब्दी महोत्सव मूल समारोह समिति गठन गरिएको छ । महोत्सवको नारा ‘अहिंसाको अभियान चुमबासीको पहिचान’ तय गरिएको छ ।

चुम उपत्यकालाई महोत्सवको माध्यमबाट साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा चिनारी गराउने र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने महोत्सव मूल समारोह समितिका अध्यक्ष निमा लामाले बताए । ‘यो क्षेत्र राज्यले चिन्न नसकेको खुला संग्रहालय हो, यससम्बन्धी आजसम्म पर्याप्त माधामा अध्ययन अनुसन्धान तथा प्रचार प्रसार हुन सकेको छैन’ शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

बौद्ध धर्मावलम्बीको बसोबास रहेको यस क्षेत्रमा एक शताब्दीदेखि काटमार निषेध छ । स्थानीयले जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, काटमारका लागि पशुपंक्षी ओसार पसार निषेध गर्ने लिखित प्रतिवद्धता नै गरेका छन् ।

महोत्सवमा राष्ट्रपतिलाई नै सहभागी गराई चुम उपत्यका अहिंसा क्षेत्रको चार किल्ला घोषणा गर्ने आयोजकको चाहना छ । त्यस्तै स्थानीयबाट अहिंसा क्षेत्रको पुनः प्रतिवद्धता गराउने पनि अध्यक्ष लामाले बताए ।

अहिंसा शताब्दी महोत्सवको अवसरमा १०० वटा वृक्षारोपण गरेर र १०० वटा झण्डा उत्तोलन गर्ने कार्यक्रम राखिएको छ । त्यसैगरी परम्परागत घोडेजात्रा, स्थानीय साँस्कृतिक कार्यक्रम, बौद्ध धर्म गुरुहरुबाट प्राकृतिक पूजा, शान्ति प्रवचन र शान्ति दीप प्रज्वलनका कार्यक्रम पनि राखिएको छ । महोत्सवकै क्रममा विश्व शान्ति पदयात्रा पनि गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment