Comments Add Comment

भ्रमण वर्षमा एक लाख बेलायती नेपाल पठाउने दूतावासको योजना

२० पुस, लण्डन । नेपाल भ्रमण वर्ष सफल पार्न बेलायतबाट मात्रै एक लाख पर्यटक नेपाल पठाउने तयारी लण्डनस्थित नेपाली दूतावासले गरेको छ ।

भ्रमण वर्षको शुरुवात गर्दै बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सन् २०२० मा एक लाख बेलायती पर्यटकले नेपाल भ्रमण गराउने योजना सुनाए ।

धेरै बेलायती नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को शुरुवात भएको छ । लण्डनस्थित नेपाली दूतावासले एक कार्यक्रममार्फत भ्रमण वर्षको औपचारिक शुरुवात गरेको हो ।

कार्यक्रममा राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीहरुलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना बेलायती साथीलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्न आग्रह गरे ।

राजदूत सुवेदीले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न आग्रहसमेत गरेका छन् । त्यस्तै दूतावासका प्रवक्ता उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनका ५० वटा बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको बताए ।

उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्षसम्बन्धी कार्यक्रमहरु आयोजना गरिएको जानकारी दिए । उनका अनुसार रेल स्टेशनहरुमा पनि भ्रमण वर्षको प्रचार गरिएको छ ।

कार्यक्रममा एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले बेलायतस्थित सबै संघ संस्थाले भ्रमण वर्ष सफल पार्न सघाउनुपर्ने बताइन् । दूतावासले भ्रमण वर्ष सफल पार्न बिभिन्न समितिहरु समेत गठन गरेको छ । उनीहरुले आ आफ्ना योजना पेश गरेका छन् ।

समारोहमा एनआरएन महासचिव डा.हेमराज शर्मा लगायत बेलायतको मिडल्याण्ड र अन्य सहरबाट आएका नेपाली समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति थियो ।

सन् २०१९ मा ६५ हजार बेलायतीले नेपाल भ्रमण गरेको तथ्यांक दूतावासले दिएको छ । यो वर्ष १ लाखको लक्ष्य महत्वकांक्षी नरहेको राजदूतले बताए । भ्रमण वर्षकै मौकामा नेपाल र बेलातबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २०४ वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा आगामी मे महिनामा दुई देशका राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment