Comments Add Comment

मीरगञ्ज पुल पुन: १२ दिन बन्द हुने, निजी क्षेत्रमा ठूलो असर पर्ने

२३ पुस, विराटनगर । मर्मतका लागि भन्दै मीरगञ्ज पुलबाट हुने आवगमन फेरि बन्द गरिने भएको छ । नेपालको दोश्रो ठूलो नाका विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारतको बथनाहास्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै भारतले पुन: १२ दिन बन्द गर्न लागेको हो ।

नौ दिन बन्द गरेर एकसाता अघि मात्र पुल सञ्चालनको अनुमति दिएको भारतले पुस २४ गतेदेखि माघ ६ गतेसम्म (९ जनवरीदेखि २० जनवरी) पुल बन्द गर्न लागेको हो ।

नेपाल पक्षलाई शनिबार पुल बन्द गर्ने जानकारी दिएको भारतीय पक्षले १२ दिन पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न दिन मानेको छैन ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पोखरेलका अनुसार भारतले तेस्रो मुलुकबाट सामान लिएर आएका सवारी साधनलाई मात्र वैकल्पिक रुट प्रयोग गर्न दिने बताएको छ । भारतले तेस्रो मुलुकबाट आयत भएका सामानलाई वीरपुर-भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडान लिएको छ ।

यो पनि पढ्नुहोस मीरगञ्ज पुल बन्द, भीमनगरको बाटो प्रयोगका लागि पहल गरिदिन माग

विराटनगर नाका हुँदै भित्रने औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री प्राय: भारतबाट आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने नेपाल उद्योग वार्णिज्य संघका केन्द्रीय सदस्य अभिनाश बोहरा बताउँछन् । भारतीप पक्षलाई अनुरोध गर्दा वैकल्पिक सडक प्रयोग गर्न दिन मानेको छैन ।

पुल मर्मतको नाममा भारतको झमेला

२०७४ साल बाढीले क्षति पूर्याएपछि भारतीय पक्षले मर्मतका लागि भन्दै करिब आठ महिना मीरगञ्ज पुलमा ठूला सवारी साधन आवत जावत गर्न दिएन । मर्मतपछि पनि ४० टनका भन्दा बढी सामान बोकेका सवारीलाई प्रवेश गर्न अवरोध गर्यो ।

गत डिसेम्बरमा नेपाल पक्षलाई पूर्व जानकारी नै नदिई ९ दिन पुल बन्द गरेको थियो । दुई देशको समस्या सामधानका लागि व्यापार सहजीकरण समिति पनि छ । तर पुलमा आउजाउ बन्द गर्ने विषयमा निजी क्षेत्रलाई कुनै जानकारी नदिएको बोहरा बताउँछन् । एक तर्फी पुलको मर्मत गर्न भन्दै भारतले १९ देखि २७ डिसेम्बर रातिदेखि सवारी आवागमन रोकेको थियो ।

पूर्व जानकारी विना अवरोध हुँदा निजी क्षेत्रले ठूलो क्षति व्योहोर्नु परेको भएपनि नेपाल सरकारले पहल गर्न नसकेको उनले बताए । वीरपुर भाण्टाबारी नाका पहिले पनि प्रयोग भएको बताउँदै उनले पछिल्लो समय भारतले अनावश्यक दुःख दिन खोजेको बताए ।

मीरगञ्जको जीर्णपुल नजिकै भारतले पक्की पुल निर्माणको तयारी पनि थालेको छ । तीन वर्ष अघि पुलका लागि पिल्लर उठाएको भारतले थप काम भने अघि बढाएको छैन ।

सामान ल्याउँदा स्कर्टिङ गर्नू : भन्सार विभाग

भारतीय पक्षले वीरपुर– भाण्टाबारी नाका प्रयोग गर्न आलटाल गरेपनि नेपाल तर्फ भन्सार विभागले भने भाण्टाबारी नाकाबाट प्रवेश गरेका सवारीलाई स्कर्टिङ गर्दै विराटनगर भन्सारसम्म ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । मीरगञ्ज पुल बन्द भएपछि भाण्टाबारी नाकाबाट निकासी पैठारी गर्दा स्कर्टिङ गर्न विभागले निर्देशन दिएको हो ।

भारत तथा तेस्रो मुलुकबाट भित्रने  ढुवानीका साधानलाई कोशी ब्यारेज–इटहरी–विराटनगर हुँदै भन्सार कार्यालयमा ल्याएर जाँचपास गर्नुपर्ने उल्लेख छ । १० पुसमा पठाएको पत्रमा मालबस्तु बोकेका सवारी साधनलाई भन्सारसम्म ल्याउँदा स्थानीय प्रशासनसँगको समन्वयमा स्टर्किङ गर्नुपर्ने उल्लेख गरिएको छ ।

घट्दै कार्गो 

उद्योग वार्णिज्य संघका केन्द्रीय सदस्य बोहराका अनुसार सडक र रेल्वे लाइनमा भएको झण्झटका कारण विराटनगर हुँदै आयात गर्ने व्यापारीहरु विरगञ्ज भन्सार सिफ्ट हुन थालेका छन् । ‘सडक र रेलको कार्गोमा झमेला भएका कारण व्यापारीहरुले वीरगञ्ज नाका प्रयोग गर्न थालेका छन्,’ बोहरा भन्छन्, ‘  पछिल्लो समय विराटनगर भन्सार प्रयोग गर्ने २० प्रतिशत व्यापारी सिफ्ट भएका छन् ।’

वीरगञ्जसम्म कार्गो गर्ने र त्यहाँबाट लोड गरेर विराटनगर सामान ल्याउन थालेको उनको भनाइ छ । समस्या सामधान गर्न समयमा नै चासो नदिए प्रदेशले ठूलो राजस्व गुमाउनु पर्ने उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment