Comments Add Comment

पाउने नै नपुग्ने अवार्ड केका लागि गर्ने ?

अवार्ड केका लागि गर्ने ? अवार्ड गर्नुको औचित्य के हो ? अवार्डप्रति चलचित्रकर्मीको वितृष्णा किन ?

हरेक बर्ष आधा दर्जन भन्दा बढी अवार्ड आयोजना गर्नेहरुले अब यी प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ । किनकी, अवार्ड कसको लागि र किन गर्ने भन्ने प्रश्न टड्कारो बन्न थालेको छ ।

एकछिन उदाहरण नै हेरौ । यो साता नै आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा मुख्य विधामा अवार्ड पाउने अधिकांश कलाकार अनुपस्थित रहे । उत्कृष्ट नायक, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका, उत्कृष्ट नव–नायकदेखि अन्य थुप्रै विधामा उत्कृष्ट हुनेहरु नै अवार्ड कार्यक्रममा देखिएनन् ।

कतिपय विधामा त अवार्ड लिनेहरु नै नहुँदा, आयोजकले अवार्ड स्टेज पछाडि लानु परेको थियो । हुनत, यस्तो उदाहरण पहिलो पटक देखिएको भने होइन ।

यो बर्षको सुरुवातमै आयोजना भएको ‘डी सिने अवार्ड’मा पनि अवार्ड पाउनेहरुको उपस्थिती निकै नै फितलो भयो । नेपालमै भएर पनि नव–नायिकाको विधामा अवार्ड पाएकी सुहाना थापा कार्यक्रम हलसम्म पुगिनन् । धेरै कलाकारको अवार्ड अन्य चलचित्रकर्मीले लिइदिएका थिए ।

एकैछिन, केही बर्ष अगाडि फर्कौ । अहिले त अवार्ड पाउने नै अवार्ड कार्यक्रममा पुग्न चाहँदैनन् । केही बर्ष अगाडिसम्म नेपालमा अवार्डको गज्जबको क्रेज थियो । हरेक विधामा नोमिनेशनमा पर्नेहरु अवार्ड कार्यक्रममा पुग्थे । अवार्ड कसले पाउँछ भन्ने चर्चा परिचर्चा कार्यक्रम हलमा खुबै हुन्थ्यो ।

तर, अहिले जो कार्यक्रममा पुग्छ उसैले अवार्ड पाउँछ । यसैले सहजै, अवार्ड कसले पाउँछ भनेर अनुमान लगाउन सकिन्छ ।

केही समय अगाडि आयोजना भएको एक अवार्ड कार्यक्रममा एउटा रोचक घटना भएको थियो । नोमिनेशनमा परेका एक कलाकार आउँछन् भनेर आयोजकले अवार्ड उनका लागि तयार राखेको थियो । तर, पछि नोमिनेशनमा परेका अर्का कलाकार आएपछि उनलाई अवार्ड दिइयो ।

यसरी वुझौ कि, जो कार्यक्रममा पुग्यो उसले नै अवार्ड पायो । विदेशमा आयोजना हुने अवार्डको त झन् उदेकलाग्दो अवस्था छ । अवार्डमा सहभागी हुन जो–जो विदेश पुग्यो, उसैले अवार्ड पाउने गरेका छन् । यसैले, विदेशमा आयोजना हुने अवार्डको क्रेज पनि कमजोर बनिसकेको छ ।

नेपालमा आयोजना हुने अवार्डहरुलाई ‘चलचित्र क्षेत्रको महोत्सव’को रुपमा आयोजना गर्न आयोजकले सकिरहेका छैनन् । चलचित्रकर्मीहरु पनि अवार्ड आयोजकसँगको सम्बन्धका कारण कार्यक्रममा पुग्ने गरेका छन् । यसैले, पाउने नै नआउने अवार्ड किन र केका लागि गर्ने भन्ने प्रश्न उब्जन सक्छ ? यस बिषयमा सम्पूर्ण अवार्ड आयोजकले सोच्नुपर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment