Comments Add Comment

विवादास्पद विधेयक जनतामा लैजाऔं : सांसद अधिकारी

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मौलिक हकमा बन्देज लाग्ने खालको विधेयक छलफलका लागि जनतामा लैजानुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले सूचना प्रविधि, नेपाल विशेष सेवा, मिडिया काउन्सिलसम्बन्धी विधेयकजस्ता मौलिक हकमा बन्देज लगाउने विधेयक छलफलका लागि जनतामा लैजानुपर्ने बताएका हुन् ।

‘जति पनि मौलिक हकमा बन्देज लाग्ने विधेयक प्रस्तुत हुन्छन्, तिनलाई राष्ट्रियसभा नियमावली बमोजिम जनतामा लैजाने, प्रक्रियामा हाल्ने नीति बनाऔं ताकि नागरिकले
आफ्ना हक अधिकार कटौती गर्ने कुरामा कस्ता धारणा राख्छन् जानौं बुझौं’ उनले भने ।

स्वतन्त्रताको हक, सञ्चारको हक, सूचनाको हक र गोपनीयताको हकसँग सरोकार राख्ने यी विधेयक सुरुदेखि नै विवादमा परेका र सरोकारवाला निकायले विरोध जनाएकाले जनतामा जानुपर्ने उनको भनाइ छ ।

विवादास्पद विधेयक लिएर जनतामा जाँदा विधेयक ल्याउने सरकार र संशोधनकर्ता सांसद दुबैथरीको चित्त बुझ्ने सांसद अधिकारीले बताए । ‘यसले कानून निर्माणमा थप समय र लगानी माग त गर्ला तर समाज ध्रुवीकरण हुनबाट रोक्छ’ उनले भने ।

यी विधेयक जसरी प्रस्तुत भएका छन्, त्यसरी नै पारित गरियो भने मौलिक हकमाथि अनुचित बन्देज लाग्ने उनको भनाइ छ । विधेयकमाथि देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरबाट पनि नकारात्मक टिप्पणी आइरहेको भन्दै सांसद अधिकारीले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपाल विशेष सेवा विधेयकमा गुप्तचरले विना विघ्नबाधा टेलिफोन कल सुन्न पाउने रेकर्ड गर्न पाउने इमेल आदि हेर्न पाउने व्यवस्था रहेको भन्दै उनले यी व्यवस्थाले गोपनीयताको हकको ठाडै प्रतिकुल हुने दाबी गरे ।

सूचना प्रविधि विधेयकमा मुद्दा चलाउने र निर्णय गर्ने ट्रिबुनलबीच सीमारेखा नै नराखिएको अधिकारीले बताए । ‘गैर जमानती सजाय हुने मुद्दा सरकारले तोकेको तीन सदस्यीय व्यक्तिबाट इन्साफ पाइने भएको छ । कसूरको मात्रा अनुसार दण्ड होइन, सनकका भरमा कैद र जरिवानाको व्यवस्था भएको छ’ उनले भने ।

मौलिक हकलाई अपवाद र विशेष परिस्थिति भन्दै गरिने अनुचित बन्देजलाई नियम मान्ने गल्ती गर्न नसकिने भन्दै अधिकारीले भने ‘त्यसो गर्ने छुट न नेपाल सरकारलाई छ, न यो संसदलाई छ ।’

सरकारले मौलिक हकमा आघात पार्ने विधेयकहरु धमाधम दर्ता गरिरहेको भन्दै अधिकारीले सरकार आफ्नो क्षमता प्रदर्शन गरेर लोकप्रिय बन्नुको साटो डर त्रास र भयबाट शासन चलाउन खोजेको आरोप लगाए ।

अनपेक्षित विधेयकहरु जसले मौलिक हकमा आघात र कुण्ठित पार्छ ती विधेयक धमाधम दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment