Comments Add Comment

‘भिजिट मधेसबिना भिजिट नेपाल अपुरो’

२४ पुस, वीरगञ्ज । सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटकलाई मधेसमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले भिजिट मधेसबिना भिजिट नेपाल अपुरो हुनेमा जोड दिए ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थल, कला भाषा भेषभुष, रहनसहन, संस्कृति, जातिय विविधतालाई पनि पर्यटकले आकर्षित गर्ने दाबी उनीहरुको छ । सबैभन्दा महत्वपूर्ण यहाँ अतिथिलाई देवता मान्ने परम्परा रहेकोले त्यसबाट लाभ लिन सक्नुपर्ने धारणा सरोकारवालाले राखे ।

वीरगञ्जमा बिहीबार आयोजित तराई मधेसमा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया एवं भिजिट मधेस २०२० एण्ड वियोन्ड उदघोष कार्यक्रममा बोल्ने वक्ताहरुले तराई मधेसको पर्यटकीय सम्भावनामा राज्यको आँखा नपुगेको बताए । उनीहरुले पर्यटनको प्रचुर सम्भावना भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको तर्क गरे ।

भिजिट मधेस नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर २, वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, ठोरी गाउँपालिकासँगको सहकार्यमा भिजिट मधेस नेपालले वीरगञ्ज स्थित ग्लोबल विजनेस कलेजमा अन्तर्क्रियाको आयोजना गरेको थियो ।

अन्तर्क्रियामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रदेश सरकारले पर्यटनलाई प्रदेश समृद्धिको तीन आधार मध्येको एक आधारको रुपमा राखेको जानकारी दिए ।

‘भिजिट नेपाल काठमाडौं, पोखरा लगायतका क्षेत्रमा मात्रै सिमिति छ, तराई मधेसलाई संघ सरकारले उपेक्षा गरेको छ । यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको व्यापक प्रचार प्रसार पनि आवश्यक छ,’ उनले भने, ‘प्रदेश सरकारले समृद्धिको तीन खम्बामा कृषि, उद्योग र पर्यटनलाई राखेको छ । समृद्धि हासिल गर्न पर्यटनलाई व्यवसायिक बनाउनुपर्छ ।’

पर्यटन मन्त्रालयले प्रदेश स्तरमा १ दिनदेखि एक सातासम्मको विभिन्न प्याकेज तयार गरिरहेको जानकारी उनले दिए ।

राज्यमन्त्री मण्डलले भारतीय सवारी साधनमा कडाइ गर्दा तराई मधेसको पर्यटन प्रभावित हुने भएकोले त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । ‘तराई मधेसमा ४० प्रतिशत भन्दा बढी भारतीय पर्यटक नै आउँछन्, भारतीय गाडीलाई नियन्त्रण गर्ने सोच राज्यको देखिन्छ,’ उनले भने, ‘विभिन्न बहानामा भारतीय पाहुनालाई एक वर्षमा ३० दिन भन्दा बढी नआऊ भनेर कसरी हुन्छ ? यो सरासर गलत छ । यसमा संघ सरकारले उचित नीति लिनुपर्छ ।’

प्रदेश सरकारसँग समन्वय नगरी प्रदेश नम्बर २ मा भ्रमण वर्ष २०२० का लागि संयोजक चयन गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले प्रदेश सरकार र पालिका मिलेर पर्यटन प्रवद्धनका लागि काम गर्नुपर्नेमा जोड दिए । सँगसँगै उनले प्रदेशमा मनोरञ्जनको लागि स्थानको अभाव रहेको बताए ।

‘वीरगञ्जमा बौद्ध धर्माबलम्बीका लागि आर्कषित गर्ने खालको भिस्वाडाँडा भन्ने स्थान छ । त्यसको गुरुयोजना हामी तयार पार्दैछौं । पर्सा राष्ट्रिय निकुञ्ज भित्र रामभौरी भाठामा दुग्धेश्वर महादेव मन्दिर छ । निकुञ्ज बाहिर सौराहा जस्तै होटलको विकास गर्न सकिन्छ । तर त्यहाँ सरल पहुँच बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment