Comments Add Comment

शीर्ष स्थानमा पुग्दा आर्मीको चिन्ता : टिकिरहन सहज छैन

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा गत सिजन मनाङ मर्स्याङ्दी क्लबसँग हार बेहोरेपछि त्रिभुवन आर्मीले उपाधि होडबाट टाढिएको थियो । त्यसपछि पनि कमजोर मानिएको टिमसँग बराबरी खेल्यो र सधैँ उपाधिको दाबेदार मानिएको आर्मीले त्यो सिजन चौथो स्थानमा लिग टुंग्यायो ।

यसपटक गल्तीलाई सच्याउँदै राम्रो प्रदर्शन गर्ने प्रशिक्षक नवीन न्यौपानेले बताएका थिए । साविक विजेता मनाङ र चार पटकको लिग विजेता थ्रीस्टारका स्टार खेलाडीहरु अन्यत्र गएकाले पनि आर्मीलाई फाइदा हुने अनुमान थियो ।

तर दुई क्लबका खेलाडीहरु भेला गरेर मछिन्द्रले उपाधिमा बलियो दाबेदारी पेश गरेको छ । र, अब मनाङ, मछिन्द्र र थ्री स्टारसँगै आर्मी पनि उपाधि होडमा आएको छ ।

आर्मीले यस सिजन पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २-१ ले हराउँदै लिग यात्रा शुरु गरेको थियो । तर दोस्रो खेलमै साविक विजेता मनाङसँग पराजित भएपछि आर्मीलाई धक्का लाग्यो र अंक तालिकामा पनि शुरुमै मध्यतिर पुग्यो ।

तर पाँचौ राउण्डको खेल समाप्त हुँदा आर्मी शीर्ष स्थानमा आइपुगेको छ ।

आर्मीले लिग लिडर हुने मौका पाएको छ । मनाङसँग हारेपनि आर्मीले बाँकी चार खेलमा जित्दै १२ अंक जोडेको हो । आर्मीले हिमालयन शेर्पा, थ्रीस्टार र सरस्वती युथ क्लबलाई पराजित गर्‍यो, त्यो पनि एक गोल पनि नखाई ।

फ्रेण्ड्ससँग पहिलो खेलमा एक गोल खाएको आर्मीले दोस्रो खेलमा मनाङसँग पनि एक गोल खाएको थियो । त्यसयता हिमालयन र थ्रीस्टारलाई समान २-० ले पारजित गरेको आर्मीले बिहीबार सरस्वतीलाई मुस्किलले १-० ले हरायो ।

गोलअन्तर कम भएपनि आर्मील चाहेको ३ अंक पायो र पहिलो पटक लिगमा शीर्ष स्थानमा उक्लियो । यसबाट खुशी हुनुपर्ने हो । तर प्रशिक्षक न्यौपानेले अब झन् प्रेसर पर्ने बताए । ‘हामीलाई ३ अंक महत्वपूर्ण थियो किनकी यो जितले हामी शीर्ष स्थानमा पुग्ने थियौं’ न्यौपानेले खेलपछि भने, ‘आज ग्राउण्डको कन्डिसन र त्यही टपमा पुग्ने लक्ष्यले गर्दा केही प्रेसर भयो ।’

पाएको अवसर सदुपयोग गर्न नसक्दा गोलअन्तर बढाउने मौका गुमेको उनले बताए । ‘स्ट्राइकिङ जोनमा पाएको अवसरमा अझ स्कोर हुन सकेको छैन’ न्यौपानेले भने ।

अब शीर्ष स्थानमा पुगेपछि नयाँ प्रेसर थपिएको उनले सुनाए । ‘लिग लिडर भाएका छौं, अब कसरी त्यही रहिरहने भन्ने चुनौती छ’ प्रशिक्षक न्यौपानेले भनेका छन् ।

आर्मीका दुई फरवार्डसहित चार खेलाडी अहिले राष्ट्रिय टिममा पनि छन् ।

कप्तान भरत खवास नवयुग श्रेष्ठ गोलकिपर विकेश कुथु र डिफेण्डर सुमन अर्याल वर्तमान राष्ट्रिय टिमका खेलाडी हुन् । यस्तै मिडफलिडर सन्तोष तामाङले निलम्बनका कारण राष्ट्रिय टिमबाट पछिल्लो खेल गुमाएपनि राष्ट्रिय टिममा खेलिसकेका छन् । यसबाहेक डिफेण्डर जितेन्द्र कार्की, मिडफिल्डर टंक बस्नेत फरवार्ड जर्ज प्रिन्स कार्कीले पनि राष्ट्रिय टिममा खेलिसकेका छन् ।

मिडफिल्डमा खेल्ने दुई खेलाडी दिनेश हेन्जन र सेसेहाङ आङदम्बेले पनि उमेर समूहमा खेलिसकेका छन् । सेसेहाङले नेपालले १३औं सागमा स्वर्ण जित्दा पनि टिममा थिए । राष्ट्रिय टिमबाट प्रतिनिधित्तव गरिसकेका खेलाडीहरु भएकाले पनि आर्मीमा अनुभवी खेलाडी छन् ।

प्रशिक्षक नवीन न्यौपानेले उपाधि जित्ने लक्ष्यका साथ खेलेकोले लिगका लागि बेन्च पनि दह्रो बनाएर बताएका छन् । उनले भनेजस्तै टपमा रहिरहन अब उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

आर्मीसँग १-० ले मात्र पराजित भएपछि सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले भने सन्तुष्टि जनाए । ‘आज राम्रो खेलेको हो । खेलबाट सन्तुष्ट छु’ नेपालले भने ।

तर लगातार पाँचौ हारपछि सरस्वतीलाई रेलिगेशनको दाबेदार भने थपिएको छ । प्रशिक्षक नेपालले भने आगामी खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘हामीले पाँच खेल हार्‍यौं, तर हामी भन्दा माथिको टिम पनि धेरै माथि छैन । त्यसैले आगामी दिनमा अझै राम्रो खेल्ने प्रयास गर्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment