Comments Add Comment

प्रदेश २ लाई अर्थमन्त्रीको सुझाव- वित्तिय ऐनहरु ख्याल गर्नू

२६ पुस, जनकपुरधाम । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक खरिद ऐन जस्ता विषयमा सतर्कता अपनाउन प्रदेश २ सरकार र स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् ।

प्रदेश २ समन्वय परिषदको तेस्रो बैठकको शनिबार महोत्तरीको बर्दिवासमा उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तिय ऐनहरुमा ध्यान पुर्‍याउन आग्रह गरेका हुन् । तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले भनेका छन्, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु आवश्यक छ । अन्यथा समृद्विको कल्पना गर्न सकिन्न ।’

तीनै तहबीच समन्वय गर्न परिषदको बैठक फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले स्थानीय तहहरु योजना बिना नै विकास निर्माणको कामहरु अघि बढाइरहेको पाइएको बताए । ‘यसो गर्दा बालुवामा पानी खन्याए सरह हुन्छ । यसतर्फ ध्यान दिनु जरुरी छ’ उनले भने ।

स्थानीय तहहरुलाई आवद्यकि र दीर्घकालिन योजना बनाउन सुझाव दिँदै उजले यसका लागि प्राविधिक सहयोग गर्न योजना आयोग तयार रहेको उल्लेख गरे ।

बैठकलाई सम्बोधन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले प्रदेश २ मा भ्रष्टाचारका थुप्रै मुद्दाहरु दर्ता भइरहेको जानकारी गराए ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारको मामिलामा प्रदेश २ बदनाम हुँदै गएकोप्रति सचेत गराए । उनले भने, ‘प्रदेशको सुन्दर भविश्यका लागि प्रदेशमा सुशासन कायम गर्नु आवश्यक छ ।’

बैठकको पहिलो दिन स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा, बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमा सप्ताह संचालन, विकास निर्माणमा सहकार्य, सहजीकरण, प्रदेश सुशासन विधेयक, पालिकाहरुको कर प्रणालीमा एकरुपता, विगतका अस्थायी शिक्षकहरुको व्यवस्थापन, स्थानीय तहका कर्मचारी पदपूर्ति लगायतको विषयमा छलफल भएको छ ।

बैठक आइतबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment